अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले राज्यलाई पूरै लकडाउन गर्न सकिने संकेत दिएका छन्। लगातार १५ औँ दिनसम्म दोहोरो अङ्कमा कोरोना संक्रमित बढेपछि प्रिमियर एन्ड्रूजले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
मंगलबार भिक्टोरिया राज्यमा २० हजारभन्दा बढी कोराना परीक्षण गरिएको गरिएकाे थियाे। जसमध्ये ७३ कोरोना संक्रमित थपिएका थिए। तर ७३ मध्ये ४२ जना व्यक्तिको संक्रमणको श्रोत पत्ता लगाउन बाँकी रहेको जनाइएकाे छ।
यसअघि भिक्टोरिया राज्यका ३६ वटा ‘भाइरस हटस्पट’ अर्थात् कोरोना संक्रमण हुने सम्भावित क्षेत्रमा बस्ने वासिन्दलाई घरबाट बाहिर ननिस्कनका लागि आह्वान गरिएकाे थियाे। सो क्षेत्रमा बुधबार मध्यरातदेखि आगामी एक महिनाका लागि लकडाउन सुरू हुनेछ।
काममा वा स्कुल पढाइमा जान, दैनिक व्यायाम गर्न, ‘केयरगिभिङ’ लिन वा दिन तथा खाना वा अन्य अत्यावश्यकीय सामग्री किनमेल गर्नबाहेक अरू कुनै पनि प्रयोजनका लागि घरबाट बाहिर ननिकस्नका प्रिमियर एन्ड्रूजले चेतावनी दिइसकेका छन्।
यता न्यूसाउथवेल्स राज्यले भिक्टोरिया राज्यका भाइरस हटस्पट घोषित क्षेत्रका मानिसलाई आउन वा त्यहाँका वासिन्दालाई बाहिर जान प्रतिबन्ध लगाएको छ।
त्यसैगरी न्यूसाउथवेल्स राज्यका बासिन्दाहरू यदि भिक्टोरियाको हटस्पट क्षेत्रबाट आएको खण्डमा अनिवार्य रूपमा १४ दिने क्वारेन्टाइनमा बस्नुपर्नेछ।
यदि सो आदेशको पालाना नगरिएको खण्डमा ११ हजार अस्ट्रेलियन डलर जरिवानाका साथै ६ महिनासम्म कैद हुन सक्ने न्यू साउथवेल्स राज्यका स्वास्थ्यमन्त्री ब्राड हाजार्डले बताए।
यसअघि क्वीन्सल्याण्ड राज्यले आफ्नो सीमाभित्र छिर्ने जोकोहीले पनि अनिवार्य रूपमा फाराम भरेर भिक्टोरिया राज्यको कोरोना प्रभावित क्षेत्रमा गए/नगएको कुरा पुष्टि गरेर मात्र छिर्न पाउने व्यवस्था लागू गरिसकेको छ। सो फाराम झुठो विवरण पेश गरेको खण्डमा ४ हजार अस्ट्रेलियन डलरसम्म जरिवारना तोकिएको छ।
हालसम्म अस्ट्रेलियामा ७ हजार ८ सय ३४ जना कोरोना संक्रमित रहेको सरकारी तथ्याङ्क छ। तीमध्ये ७ हजार ३७ जना निको भइसकेका छन् भन् १ सय ४ जनाको मृत्यु भइसकेको छ।