कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या २८ पुग्यो

नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको कोरोनासम्बन्धी नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

उनका अनुसार मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष रहेका छन्। उनी फोक्सोको क्यान्सरको बिरामी रहेका थिए।

चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसन सेन्टरमा सारिएको थियो। भरतपुर अस्पतालमा उपचारका क्रममै शनिबार बिहान उनको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-27 17:05:08

प्रतिकृया दिनुहोस्