आइसोलेसनबाटै भागे कोरोना संक्रमित

बाँकेको  आइसोलेसनबाट कोरोना संक्रमित भागेका छन्। जानकी गाउँपालिका २ मा रहेको श्री माध्यमिक विद्यालयको आइसोलेशन सेन्टरबाट कोरोना संक्रमित एक व्यक्ति भागेका हुन्।

जानकी गाँउपालिकाका वडाध्यक्ष मोहम्मद रजा राईका अनुसार उनी नेपालगञ्ज उप महानगरपालिका १२ कोरियनपुरका हुन्। बाहिर जाने बाहनामा सोमबार रातिदेखि फरार भएको उनले जानकारी दिए। उनी अझै भेटिएका छैनन्। 

गत जेष्ठ ९ गते क्वारेन्टाईनमा राखिएका ती युवाको कोरोना परीक्षण गर्ने क्रममा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण देखिएपछि उनलाई आईसोलेसन सेन्टरमा राखिएको थियो। त्यहाँको सुरक्षाको लागि दुई जना मात्र प्रहरी तैनाथ छन्।

संक्रमित व्यक्ति फरार भएको जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरि उनको तिब्र रुपमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।  

प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले उनको घर तथा आफन्तको घर प्रहरीको निगरानीमा राखि खोजी तिब्र पारिएको बताए। उक्त आइसोलेसन सेन्टरमा ४१ जना संक्रमित उपचारत रहेका छन्। आइसोलेसनमा रहेका सबै संक्रमितहरुमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ।

प्रकाशित मिति: : 2020-06-09 19:49:03

प्रतिकृया दिनुहोस्