रहिनन् महिला अधिकारकर्मी कुँवर

बाँकेमा महिला विकास निरीक्षकका रुपमा कार्यरत महिला अधिकारकर्मी बिन्दु कुँवरको निधन भएको छ।

लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेकी अधिकारकर्मी कुँवरको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत सहकर्मी घटना शाहका अनुसार उनको आइतबार राती साढे १ बजे काठमाडौंमा निधन भएको हो। 

शाहले सामाजिक सञ्जाल फेसबुकमा उनको मृत्यु भएको भन्दै सम्बेदना प्रकट गरेकी छन्। स्वर्गिय कुँवर राष्ट्र सेवक कर्मचारीका रुपमा लामो समयदेखि बाँकेमा सेवारत रहेको उनको भनाइ छ। बाँकेमा रहदा कुँवर  महिला तथा बालबालिका क्षेत्रमा उल्लेखनीय कामका कारण चर्चामा रहिन्।

बिगत लामो समयदेखि महिला तथा बालबालिकाको अधिकारको लागि  उनी निकै नै सक्रिय थिइन्। 

कुँवर बिरामी भएपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत रहेकी थिइन्। उनको उपचारमा बाँकेमा समिति नै गठन गरेर रकम संकलन गरिएको थियो।  

उनको मृत्युको खबरले अहिले सिंगो बाँके स्तब्ध भएको छ। अधिकारकर्मी नमस्कार शाहले उनको आफ्नो क्रियाशिलताका कारण सबैको मन जितेपनि क्यान्सरसँग हारेको भन्दै दुःख व्यक्त गरेका छन्। 

बास नेपालका निर्देशकसमेत रहेका शाह भनिन्,‘मृतक बिन्दु महिला तथा बालबालिका कार्यलय बाँकेमा कार्यरत हुँदा होस् वा जुम्ला र काठमाडौंमा कार्यरत हुँदा होस् उनले महिला तथा बालबालिकाको संरक्षण र सिंगो सामाजिक रुपान्तरणका लागी पुर्‍याएको योगदानको म प्रशंसा गर्छु।’ 

उनको मृत्युको खबरले यहाँका बाल अधिकारकर्मीहरुले साह्रै दुःख लागेको प्रतिक्रिया दिएका छन्। नेपालगञ्जका बालअधिकारकर्मी साहिल अन्सारीले बाँकेले बालबालिका क्षेत्रको अभिभावक गुमाएको भन्दै दुःख प्रकट गरेका छन्।   

स्वर्गीय कुँवर नेपालका निजामति कर्मचारीलाई प्रदान गरिने ‘इन्ट्रिग्रेटी आइडल २०१६’ की ‘फाइनलिस्ट’ हुन सफल भएकी थिइन्।

प्रकाशित मिति: : 2020-06-08 18:36:00

प्रतिकृया दिनुहोस्