प्रदेश एक र दुईमा मात्र बुधबार एकै दिन ६२ जना कोरोना संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, हेटौंडा प्रयोगशाला, मकवानपुर र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ६२ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको हो।
जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने १७ जनाको विराटनगर र बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको थियो।
संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना छन्। यस्तै झापाका १७ जना, बाराका ८ जना र सिराहाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिका र कटहरीया नगरपालिकाका २/२ जनामा संक्रमण पुष्टि भएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट आएका हुन्। त्यस्तै बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना ४१ वर्षीय व्यक्ति रौतहटका बासिन्दा हुन्।
सिराहाको सिद्धिचरण १० का ३९ वर्षीय पुरुष र रूपाली २ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राका अनुसार संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरादह नगरपालिकाका २ जना छन्।
यो सँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। तीमध्ये २ जना डिस्चार्ज भइसकेका छन्। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।
यसअघि बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो।
पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको हो। बागलुङ जिल्लाको बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेक १९ र २० वर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। त्यस्तै, तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार जना पुरुषमा समेत कोरोना भाइरसको संक्रमण देखिएको हो।
४ जना डिस्चार्ज
बुधबार कोशी अस्पताल विराटनगरबाट थप चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार निको हुनेमा ३ जना महिला र १ पुरूष छन्। उनीहरू उदयपुर भुल्केका हुन्। यसअघि मंगलबार राति पर्साको गण्डक कोभिड अस्पतालबाट २१ जना निको भएर घर फर्किएका थिए। यो सँगै निको हुनेको संख्या १८० पुगेको छ।