सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले नेपाल कोरोना संक्रमणमा तेस्रो स्टेजमा प्रवेश गरेको बताएका छन् ।
‘दोस्रो चरणलाई क्लस्टर ट्रान्समिसन भन्न मिल्छ भने तेस्रो चरण भनेको कम्युनिटी ट्रान्समिसन हो’, उनले भने, ‘पछिल्ला दिनहरूमा जसरी ठूलो संख्यामा एकैपटक संक्रमित बिरामी फेला परेका छन्, यसलाई तेस्रो चरणको सुरूवाती अवस्था भन्न मिल्छ ।’
कसलाई परीक्षण गर्ने, कसलाई नगर्ने भन्ने द्विविधा उत्पन्न हुँदा परीक्षण प्रभावकारी हुन नसकेको उनले बताए । ‘सरकारले अहिलेसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) कै प्रोटोकल अपनाइरहेको छ । यसमा मेरो आपत्ति छ', उनले भने, 'कन्ट्याक्ट हिस्ट्री या ट्राभल हिस्ट्री भएको मान्छेमा मात्र यो परीक्षण गरिएको जस्तो देखिन्छ । त्यो नभएर सबैको टेस्ट गर्नुपर्यो । क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर्नुपर्यो ।’
‘जति बढी केसलाई कभरिङ गरिन्छ, त्यति धेरै डिटेन गर्ने हो । रेड, एल्लो र ग्रीन जोनहरू छुट्याएर कुन जोनमा कुन प्रोटोकल फलो गर्नुपर्छ भन्ने तय गर्नुपर्छ', डाक्टर जोशीले सुझाए ।
हिमाली र पहाडी जिल्लाहरूमा संक्रमित खासै नदेखिएके बताउँदै उनले भने, 'दक्षिणी सीमावर्ती क्षेत्र बढी संवेदनशील देखिएको छ । सरकारको ध्यान त्यतातिर केन्द्रित हुनुपर्छ ।’
सरकार सीमा क्षेत्रमा कडाइ गर्नबाट चुकेकै कारणले आजको त्राशदीपूर्ण अवस्था आएको बताउँदै उनले भने, ‘लुकीछिपी आउने क्रम रोकिएको छैन । कसलाई संक्रमण छ, कसलाई छैन भन्ने पत्ता लगाउन सकिएको छैन । अब ढुक्क हुन सकिन्छ भन्ने स्थिति छैन ।’