थप ४६ कोरोना संक्रमित भेटिएपछि श्रीलंकामा कर्फ्यू लम्ब्याइयो

बिएल संवाददाता

काठमाडाै‌ं

श्रीलंकाले कर्फ्यू लम्ब्याएको छ । थप ४६ जना कोरोना भाइरसको संक्रमित भेटिएपछि श्रीलंकाले केही नयाँ ठाउँमा शुक्रबार साँझदेखि कर्फ्यू लगाएको छ भने पहिलेदेखि कर्फ्यू लगाइएका ठाउँमा लम्ब्याएको छ ।

कोलम्बो, गाम्पाहा, कालुतार र पुत्तालम जिल्लामा लगाइएको कर्फ्यू पनि सोमबार बिहान ५ बजेसम्मका लागि लम्ब्याइएको छ। त्यस्तै अन्य क्षेत्रमा पनि शुक्रबार बेलुका ८ बजेदेखि सोमबार बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ।

शनिबार बिहानसम्म श्रीलंकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२० पुगेको छ भने ७ जनाको मृत्यु भएको छ।

शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ३० जना नाविक रहेका छन्। श्रीलंकामा अहिलेसम्म ६० जना नाविकमा कोरोना संक्रमण देखिएको छ।

 श्रीलंकामा गत सोमबारदेदि मुलुकको करिब दुई तिहाई भागमा कर्फ्यू लगाइएको थियो। प्रहरीका अनुसार अहिलेसम्म कर्फ्यू उल्लंघन गर्ने करिब ३० हजार जनालाई नियन्त्रणमा लिइएको छ।
 

प्रकाशित मिति: : 2020-04-25 15:21:00

प्रतिकृया दिनुहोस्