
न्यायका निरीह सात वर्ष
बसन्त कुमार उपाध्याय
सिंहदरबारको ‘मेहफिल’मा र सत्ताको ‘मुजरा’ले रुमलिइरहेको छ मधेस। सत्ताको निकृष्टता कसैले देखेको र भोगेको छ भने त्यो मधेसले हो। जहाँ सरकारको निर्मम रुप बिहान, दिउँसो, साँझ र रातका भिन्न भिन्न रुपमा देख्न सकिन्छ।
‘एक आँसु भी सियासत के लिए खतरा है तुमने देखा हि नहीं पिछवाड़े का चबूतरा होना…।’
भारतका एकजना सुप्रसिद्ध गजलका मुनव्वर राणाको यही शेरबाट आजको मधेस चियाउँदैछु।
समय पनि बडो एक्लो यात्री हुँदो रहेछ। समयलाई कोही चाहिँदैन। आफ्नै गति र वेगमा निरन्तर अघि बढिरहन्छ। तर समयको यही चक्रमा मानिस व्यक्ति, समाज हुँदै देश अझ भनौँ राष्ट्र आफ्नै पाइला मेटेर कुदिरहँदो रहेछ।
देशको बागडोर राजनीतिको पानी घट्टझैँ चल्छ। पानी घट्टको मसिनो उर्जाले गहुँबाट पीठो बन्न धेरै लाग्दैन। नेपाल अहिले पनि विश्व समुदायको मानचित्रमा पानी घट्ट जस्तै छ।
नेपालको राजनीति बर्षौंदेखि तरलतामै सीमित छ। राजनीतिको तलाउ सत्ताको फोहोरले मैलो छ।
एकातिर प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रको उन्मादमा विराजमान छ सिंहदरबार प्रवृत्ति। तर नागरिकको जीवनस्तर उही पितापूर्खाको पानी घट्टजस्तै घुमिरहेको छ।
प्राकृतिक स्वरुपमा हिमालको जनजीवन लगभग उस्तै मृत शान्तझैँ देखिन्छ। पहाडको जनजीवन क्रान्ति र परिवर्तनपछिको उकालो-ओरालोकै आरोह अवरोहबाट गुज्रिरहेको छ। जहाँ हरेक पाइलामा थकान र ठेस लाग्छ। अनि मधेस सत्ताभित्र आँतको अग्नीज्वालामा हुर्रिँदै जलिरहेको छ।
मधेस भनेको कोशी र नारायणीबीचको भूगोलमात्रै होइन, राजनीतिक वृत्तमा सौदावाजीका नटवरलालहरू मधेस खुम्च्याएर सत्ताको भागवण्डा गरिरहँदा पूर्वदेखि पश्चिमको मधेस आफ्नै रापमा जलिरहेको छ। यो सत्ताका गलियारमा मधेस 'हाजमोला' झैँ जे आउँछ, मज्जाले पचाउँछजस्तै भइरहेको छ।
नेपालको शासनमा मधेस विभेदबाट श्रृङ्गारिक थियो र अझै छ। पछिल्ला २ दशक सत्ताको राजनीतिमा मधेस गजलको शेरझैँ प्रयोग भइरहेकै छ।
प्रेमका सन्दर्भमा फारसी शैलीका काव्यात्मक हरफहरूमा बनेका गजलझैँ नेपालको राजनीतिमा 'मधेस' सत्ता निर्माणमा कहिले ‘रदिफ’ त कहिले ‘काफिया’ झैँ प्रयोग भइदियो।
गजल घटीमा ३ शेरसम्म बन्छ। अनि तन्काउनेहरूले ५ शेरसम्म पनि खिचेर लैजान्छन्। मधेस पनि नेपालको सत्ता केन्द्रित राजनीतिमा दल विभाजनमा ३ शेर र ५ शेर भइरहेको छ। अझ शेरका सिमा पार गरिरहेको पनि छ।
नयाँ दिल्लीको बसाइमा भारतीय गजलकार शकील जमालीले वर्षौंअघि सुनाएको अधुरा शेरहरू स्मति उस्तै ताजा छन्-
किन ज़मिनों पे उतारोगे अब इमदादका क़हर
कौन सा सहर उजाड़ोगे बसाने के लिए
नफ़रतें बेचने वालों की भी मजबूरी है
माल तो चाहिए दुकान चलाने के लिए।
सत्ता केन्द्रित राजनीतिमा मधेस एउटा पसलजस्तै भएको छ। नेपालको राजनीतिमा मधेस मुसलसल र गैरमुसलसल गजल जस्तो छ। जनसरोकारका विषयवस्तु विना नै सरकार निर्माणमा सहभागी हुन्छ। अनि जनसरोकारका विषयवस्तु हुँदा सरकारबाट बाहिरिन्छ।
राजनीतिक वृत्तमा मधेस कहिले गजलभित्रको रदिप जस्तो त कहिले गजलभित्रको काफीया बनेर बसिरहन्छ। जस्तो कि कुनै मुरद्दफ गजल हो मधेस। अनि सिंहदरबार-काठमाडौँले मुसायरा चलाउँछ। मधेसका मसिहाहरू आफ्ना मुरद्दफ गजल वाचन गरेर केही तोहफा लिएर फेरि मधेस झर्छन्।
बेलाबखत मधेसका मसिहाहरू सिंहदरबारमा ‘मकता’ बनेर छाउँछन्। अनि कुनै कुनैबेला मधेस आफै मतला बनेर धोती र कुर्ताको मुजरामा सिंहदरबार र संसद भवनमा गुन्जिन्छ। अनि त मलाई एकजना पाकिस्तानी गजलकार क़तिल शिफ़ाईका शेर सम्झना आउँछन्:
‘खुला है झुटका बाज़ार आओ सच बोलें
न हो बला से ख़रिदार आओ सच बोलें
सुकून छाया है इंसानियत की क़द्रों पर
यही है मौक़ा-ए-इज़हार आओ सच बोलें
हमें गवाह बनाया है वक़्त ने अपना
ब-नाम-ए-अज़्मत-ए-किरदार आओ सच बोलें…’
मधेस सत्ता स्वार्थमा तैरिने सिंहदरबार र तिनका पूजारीका लागि गजलको ‘अर्कान’ जस्तो बन्छ। जो टुक्रा-टुक्रामा रमाउँछ। न कि नियममा बाँधिएको गजलको ‘बहर’ जस्तो बस्छ मधेस।
सत्ताको उलटफेरमा मधेस खासमा वाह! वाह!! भन्न लायक गजल जस्तो नै कहाँ रह्यो र!
रसायनिक मल र किटनाशक विषादीले मधेसको माटो खोक्रो भयो। बाली उब्जिने जमिन बाँझै रहन्छ। त्यस्तै सत्ता केन्द्रित राजनीतिले मधेस खोक्राइसक्यो। नश्लवाद र सिंहदरबारको प्रवृत्तिले मधेसको राजनीति बाँझोझैँ छ। मधेसमा लाग्छ त बेला बेला राजनीतिक आन्दोलनको डढेलो केवल। अनि जल्छन् र मर्छन् मधेसीहरू नै।
संसद भवनमा केही दिनअघि राष्ट्रपतिले सत्ताको लिखित उपन्यासको फेहरिस्त पढ्दै गर्दा म यहिँनेर टक्क रोकिएर मधेसमा घोत्लिएँ। अनि अष्ट्रियामा बसेर गजल लेख्ने आफ़ताब हुसैनका हरफहरू सापटी लिएँ-
दे रहे हैं जिस को तोपों की सलामी आदमी
क्या कहूँ तुम से कि है कितना हरामी आदमी
भीड़ छट जाएगी तब उस की समझ में आएगा
एक अकेला आदमी है अज़दहामी आदमी
क्या दिखाते हो मियाँ, परचा हमें अख़बार का
हम ने देखे हैं बहुत नामी गिरामी आदमी
पाँव में जूता नहीं है, पेट में रोटी नहीं
ले के क्या चाटेगा ख़ाली नेक-नामी आदमी
उठ के जा बैठा वही अशरफ़िया की गोद में
हम ग़रीबों ने जिसे समझा अवामी आदमी।
बेलाबखत नेपालगञ्जबाट सिंहदरबार चियाउँदा मधेस अब सिंहदरबारका लागि केवल हाउगुजीमै सीमित रहला कि भन्ने डरले सताउँछ। मेरै आसपासमा मो.इस्तियाक राई पनि छन्। हुन त काँग्रेसका कार्यवहाक सभापति छँदाखाँदाका सुशील कोइरालालाई सर्वदेवप्रसाद ओझाले २०६४ सालको पहिलो निर्वाचनमा मधेस स्वाद चाखाएकै थिए। तर ओझा मौरी आफ्नै चास्नीमा डुवेर मरेझैँ पनि भए।
म मधेसलाई राजनीतिकरुपमा जनपक्षीय र गहकिलो भएको देख्न चाहन्छु। न कि सत्ताको फटके किनाराको साक्षीमात्रै।
मधेसका सडकमा यहाँका नागरिकले अधिकार र विभेद हटोस् भनेर गरेको संघर्षको यात्राको गाथा बुनेको पनि वर्षौँ बित्यो।
मधेस लोभी छ भन्ने भाष्य राजनीतिमा हावी छ। जबकि आफ्नो जमिनको उब्जनीले पूरै देशकै पेट भर्ने सामर्थ्य राख्ने मधेस कसरी लोभी अनि लालची हुनसक्छ? म सिंहदरबारलाई प्रश्न सोध्न चाहन्छु। कठैबरा कसले सुन्ने है!
सिंहदरबार प्रवृत्ति हो। न कि पर्खालभित्रको निष्प्राण ‘दरवार’मात्रै।
अजानका आवाज र मन्दिरका घण्टीले समृद्ध मधेस दान र परोपकारका लागि संस्कार सिकाउँछ। मधेसका गुरुद्वाराले कैयौँका भोका पेट ‘लङ्गर’ बनेर भर्छ। अनि मधेस कसरी लोभी भयो?
मलाई लक्ष्मण गुप्ताका यी गजल सम्झना छन्-
आदमी ही आदमी के बीच में आने लगा
फिर वही गुज़रा ज़माना ख़ुद को दुहराने लगा
एक अदना-सा इशारा उसने क्या है कर दिया
बस्तियों पर बस्तियों का ख़ौफ़ मंडराने लगा
फिर लिखेगा दास्ताँ, जो है हक़ीक़त ही नहीं
फिर सियासी भाव में उसका क़लम जाने लगा
है बग़ावत ये तो लो, हमने बग़ावत कर ही दी
देखिए, सिसे में छिपकर कोई चिल्लाने लगा।
मधेस अझै पनि समानता, समावेशी, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र खानेपानीको ‘रोजमर्रा’ जिन्दगीको संघर्ष गरिरहेको छ। देख्नेले गजेन्द्रनारायण सिंह, उपेन्द्र यादव, अशोक राई, महन्त ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, अनिल झा, डा.सिके राउतहरू वा यस्तै उस्तै अमुक पात्रलाई मात्रै मधेस ठान्छन्। तर त्यसो कदापि होइन।
मधेसमा लाखौँ भन्दामाथि करोडौँ तन र मन छन्। मधेसमा गीत छन् संगीत छन्। उखारमाउलो गर्मी छ अनि छहारी पनि छ। खेत छन् र अन्न पनि छ। मन्दिर र मस्जिद छन्। मधेसमा ‘मत’ मात्रै छैन। मधेसमा जङ्गल छ। जनावर पनि छन्। खोला नदी र बगरहरू पनि छन्। मधेस आफ्नो राजनीतिकको जीवन्त अधिकार र हक खोज्दैछ। मधेसमा ‘लू’ छ। मधेसमा अझ बाक्लो तुषारो पनि छ।
र त, मधेसमात्रै भूगोल होइन, राजनीतिले कोरेका सिमानामात्रैहरूमा पनि होइन। ‘राजनीति’को क्रिडास्थलमात्रै होइन। मधेस आफैमा एउटा सिङ्गो राष्ट्रको सग्लो राष्ट्रिय भाव हो।
राजनीतिक चेतनाले मात्रै नपुग्दो रहेछ। भूगोलसँगै भूगोलभित्रको महत्व बुझ्ने नेतृत्वको खडेरी छ मधेसमा। मधेस राजनीतिको डुवान र डढेलोमा छ। प्राकृतिक डुवानमा मधेस तैरिन पनि सिक्छ। तर सत्ता केन्द्रित डुवानमा नाक र मुखबाट पसेको सत्ताको रसले मधेस कैयौँ पटक डुब्छ र मर्छ। अनि मधेस ‘अष्ट चिरिञ्जिवी’ झैँ ब्यूँझन्छ पनि।
सत्ताले बुझ्न जरुरी छ सिंहदरबारमा झुल्किने सूर्य र मधेसमा उदाउने सूर्य एउटै हो। अस्ताउनु पर्दा सिंहदरबारमा पनि अस्ताउँछ। शासकले मनन गर्न आवश्यक छ सिंहदरबार र संसद भवनबाट देखिने चन्द्रमा र मधेसमा टल्किने जून एउटै हो।
जनताको आन्दोलनले स्थापित गरेको एउटा भावना हो- मधेस। न कि कुनै प्राज्ञिक वा बाैद्धिक जगतले दिएको उपमा हो मधेस। भूगोल र संस्कृतिले सम्पन्न विराट, सलहेस, विदेह, कपिलवस्तु र अवध मधेसका उर्वरता रहँदै आएका छन्। जो हाम्रा मौलिक पहिचान र आदिम सभ्यता पनि हुन्।
निरन्तर मधेसका विषयमा र यहाँको आन्दोलन र परिवर्तनका लागि नेपालगञ्जलाई बेस क्याम्प बनाएर लेखिरहेको छु। प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गबाट मधेस र सिंहदरबार चियाइरहन्छु।
मधेसलाई ‘नयाँ’ अनि ‘वैकल्पिक’ वा कुनै ‘मसिहा’ चाहिएको छैन। बरु मौन भएर सत्ताको अचनोमा आफूलाई तेर्स्याइरहेको ‘मधेस’लाई उसको आफ्नै अधिकार चाहिएको छ।
त्यही अधिकार जहाँ रापिलो बनेको ‘मधेस आन्दोलन’ले देशमा गणतन्त्र आयो। हामीले त्यही गणतन्त्रका १६ वर्ष बाँचिसकेका छौँ। त्यही मधेस जसको जागरणले देशमा संघीयताका रेखा कोरिए। त्यसपछि फेरि ‘मौन’ छ मधेस। अनि यही गणतन्त्र अनि संघीयताका साँधसिमानाहरूले पनि फेर्न र फेरिन नसकेको मधेस गिडगिडाइरहेछ त्यही मौनताभित्रै।
सत्ता सञ्चालकहरूलाई ज्ञातै होला, त्यो मौनताको विष्फोट निकै भयानक हुन्छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया