भारतमा लकडाउन खुकुलो गर्ने तयारी, मास्कको अनिवार्य प्रयोग र दूरी कायम गर्नुपर्ने

बिएल संवाददाता

मुम्बई,हिन्दी ब्यूराे

भारतले काेरोना भाइरस महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ। भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ।

तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन। मदिरा पसलहरू सञ्चालनको अनुमती भने दिइएको छैन। अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्र भने पसल खोल्न पाइने छैन।

कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ। डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने समेत भनिएको छ।

केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको बीबीसीले जनाएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या २४  हजार ५०० नाघेको शनिबार जनाइएको छ।  गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २४ हजार ५०६ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो। 

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ५७ जना रहेको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७७५ पुगेको छ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ५ हजार ६३ जना भने उपचारपछि निको भएर फर्किएका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १८ हजार ६६८ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन्।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेकाे २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए। 
 

प्रकाशित मिति: : 2020-04-25 14:13:48

प्रतिकृया दिनुहोस्