कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का २७ वर्यीय युवक डिस्चार्ज भएका छन्। कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनी शनिबार डिस्चार्ज भएका हुन्।
भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गरेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
‘अहिलेसम्म कोरोनाको लक्षण पनि छैन, युवक स्वस्थ छन्,’ सूचना अधिकारी पौडेलले भने। ती युवकको बिहीबार गरिएको पहिलो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो।
उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ।
गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमाछोराको र्यापिड टेस्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो। भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरूलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो।
नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। स्वास्थ्य लाभ भएर घर फर्किने ११ बिरामी बागलुङकी १९ वर्षीय अंशु सापकोटा हुन्।