कोहलपुरमा अलपत्र भारतीय नागरिक भन्छन्-भोक ठूलो कि, नागरिकता? (भिडियो)

भारतका तेलंगाना प्रदेशको हैदरावादका सैंयत खासिमको परिवार तीनसातादेखि कोहलपुरमा त्रिपालमा बसिरहेको छ। विगत १० वर्षदेखि नेपालमा भाडा बनाउने काम गर्दै आएका उनको परिवार अहिले लकडाउनको मारमा परेको छ।

खासिमको तीन जनाको परिवार छ। उनी सँगै आएका अब्दुल रहमानको परिवार पनि बास त्रिपालमै छ। उनीहरू  २५ दिनअघि दाङबाट भारत जान कोहलपुर आएका थिए। तर, राति नै भारत सरकारले लकडाउन गरेकाले उनीहरु घर जान पाएनन्।

सैंयत र अब्दुलको  परिवारसँगै सात जनाको परिवार तीन सातादेखि बेवारिसे रूपमा त्रिपाल मुनी बसिरहेका छन्। उनीहरू नेपालको विभिन्न स्थानबाट आफ्नो देश जानको लागि चैत पहिलो साता कोहलपुर आएका हुन्।

कोरोना भाइरसको प्रकोप थप फैलन नदिन जारी गरेको लकडाउनले उनीहरू आफ्नो देश जान नपाएका हुन्।

२५ जनाको संख्यामा रहेका उनीहरुले १६ जनाको रेलको टिकटसमेत काटिसकेका थिए। तर, क्यान्सिल भयो।

नेपालको रूपैडिया नाकाबाट हैदराबाद पुग्न रेलमा पाँच दिन लाग्छ। ‘हाम आफ्ने देश जानकी लिए आयथे, लकडाउनकी बजासे हमे यहाँपर ठेरना पडा। थोडा थोडा पैसा थाँ ओ बि खत्तब होगयाँ,’ अब्दुल रहमान भन्छन्। 

रहमानका अनुसार अलिकति भएको रूपैयाँ टिकटमै खेर गयो। बाँकी रकम यो बिचमा खाएर सकियो। भारत र नेपाल दुवै देशले लकडाउन लम्ब्याउने निर्णय गरेसँगै उनीहरूलाई झन चिन्ताले पिरोलेको छ। आफू जस्तै ७ जनाको परिवार भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाई छ।

‘कोरोनाले न आफ्नो घर जान पाइयो, न यहाँको सरकारले हामीलाई सहयोग गरेको छ, हामीलाई त समस्या भइसक्यो,’ अर्का भारतीय नागरिक मोहम्मद अलिले भने।

श्रीमान र श्रीमतीले जेनतेन भोक टार्ने गरेको भए पनि सानो बच्चा भोकले मर्ने अवस्था सिर्जना भएको उनले बताए। राहतको लागि वडामा नाम लेखाए पनि एक सातासम्म आफूहरूले कुनै राहत नपाएको अलिले जानकारी दिए।

‘हामी नजिकै बसेको दाइले वडाले राहत दिन्छ भनेर नाम लेखाएका थिए, खै राहत अझै आएको छैन,’ हुसेन बि भन्छिन्, ‘यहाँको सरकारले राहत दिन्छ भन्थे अझै दिएका छैनन्। दिएको भए कम्तिमा खान त पुग्थ्यो, हाम्रो अलि अलि कमाएको पैसा पनि सकियो। निकै समस्या परिसक्यो।’

आफूहरू एक दुई दिन वडा कार्यालय गएको भए पनि नागरिकता माग्ने गरेको उनले गुनासो गरिन्। ‘हामी त भाडाकुडा बनाएर  खाने मान्छे, सबै कागजजात उतै छ, के गर्ने हामी त भोकभोकै त्रिपालको बाँस भएको छ। लकडाउन छ कसरी ल्याउने नागरिकता । हामीलाई राहत उपलब्ध गराई दिए पुग्थ्यो,’ उनले भने।

केही दिन भएको नेपाल र भारतका प्रधानमन्त्रीको टेलिफोन संवादमा दुवै देशमा रहेका नागरिकलाई सुरक्षा सम्बन्धित देशले नै गर्ने सहमति भएको थियो। तर, भारत जान आएको बेला उनी जस्तै २५ जनाको टोली यहीँ  लकडाउनको मारमा परेको हो।

अहिलेसम्म आफ्नो कमाईको पैसाले गुजारा चलाएको तर दिनप्रतिदिन लकडाउन लम्बिएका कारण पैसा सकिएको उनले जानकारी दिइन्। उनीहरुले आफूलाई यहाँको जति राहत दिए पनि  खुसी भएर लिने बताएका छन्। उनीहरूको बिचल्ली देखेपछि यहाँका केही व्यक्तिले पनि केही खानेकुरा सहयोग गर्न थालेका छन्। यहीँ कै केही व्यक्तिहरुले वडापालिकामा नाम लेखाएको भए पनि राहत पाइएको छैन। उनीहरु सबै मुस्लिम समुदायका हुन्।

यति बेला उनीहरूको मुख्य पर्वको समय भए पनि त्रिपालमा बस्नुपरेको उनीहरूले बताए। यता वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले उनीहरुको पनि राहतको लागि नामावली संकलन गरिएको र नगरपालिकाले दोस्रो चरण वितरण गर्ने राहतको बेला वितरण गर्ने बताए।

उनले दोस्रो चरणमा १५ सय जना भन्दा बढी नागरिकको नामावली सकंलन गरिएको जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-15 18:35:00

प्रतिकृया दिनुहोस्