नेपाली कांग्रेसका पाका नेता हुन्– मानबहादुर विश्वकर्मा, ७८। उनी कांग्रेस केन्द्रीय सदस्य हुन्। उनले लामो समयदेखि दलित समुदायको हकहितका लागि काम गर्दैआएका छन्।
२०४६ सालको जनआन्दोलनका बेला प्राध्यापन पेशा छाडेर पूर्णकालीन राजनीतिमा लागेका हुन्। अर्घाखाँची स्थायी घर भएका उनले आफ्नै जीवनकालमा दलित हुनुका धेरै पीडा भोगेका छन्। राजनीतिमा लागेपछि दलित, महिला, जनजाति, मुश्लिम तथा पिछाडिएको समुदायको लागि महत्वपूर्ण काम गर्दैआएका छन्।
वि.सं.२०४८ सालमा नेपाल परिवार नियोजन संघको महासचिव बनेका उनी पटक–पटक सांसद् भए। अहिले पनि उनी संघीय संसद्का सदस्य छन्। कांग्रेसले २०५४ सालमा भातृ संगठनका रुपमा नेपाल दलित संघ स्थापना गर्दा उनलाई नै अध्यक्ष बनाएको थियो।
०५४ सालमा राष्ट्रिय विकास परिसद्काे सदस्य रहेका बेला आफूले दलित समुदायका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था, मेडिकल पढ्नेहरुका लागि कोटाको व्यवस्था गर्ने जस्ता काम गरेको उनले बताए।
०६४ सालमा उनी बातावरण, विज्ञान प्रविधि मन्त्री बनेका थिए। त्यसबेला निजामति सेवामा दलितलाई ९ प्रतिशत आरक्षण दिने योजना ल्याएको उनले जानकारी दिए कांग्रेसभित्र दलित समुदायका सबैभन्दा वरिष्ठ नेताका रुपमा स्थापित उनी सो पार्टीबाट उप–राष्ट्रपतिको उम्मेद्वार पनि बनेका थिए। प्रस्तुत छ– विश्वकर्मासँग बिएल नेपाली सेवाका लागि कमल प्रभात बिकले कुराकानी।
नेपाली कांग्रेस दलितका लागि कति सहज छ ?
जसले दलितका मुद्दा उठाउँछ उसमा क्लियर कन्सेप्ट हुनुपर्छ। क्लियर विचार हुनुपर्छ, किनभने हाम्रा दुईवटा जिम्मेवारी छन्। पहिलो जिम्मेवारी पार्टी र जनताप्रतिको हो। आफ्नाे अधिकार लिँदा अरुको अधिकार हनन् गर्नुहुँदैन भन्ने कुरामा सचेत हुनपर्छ। दोस्रो मैले दलित समुदायका लागि मात्रै गर्नुपर्छ भन्ने हुँदैन।
मलाई पार्टीभित्र समावेशीका नेता भनेर भन्छन्, किनभने मैले दलितका लागि जति वकालत् गर्छु महिला र मुुश्लिम लगायतका सबै ‘कलस्टर’का लागि उत्तिकै वकालत गर्छु। त्यो भनेको मलाई मात्रै चाहियो वा दलितका लागि मात्रै चाहियो भनेको होइन्। हामी जस्तै पछाडि परेको समुदायहरु छन्। ती सबैलाई माथि ल्याएर आएपछि मात्रै बल्ल समुदाय राम्रो बन्छ। यसरी ‘क्लियर कन्सेप्ट’ लिएर पार्टीभित्र वकालत् गर्दा आजसम्म मैले पार्टीबाट कुनै बाधा पाएको छैन्।
तपाईंले दलित समुदायमा गरेका परिवर्तनबाट कति सन्तुष्ट हुनुहुन्छ ? या अझै काम गर्न बाँकी छ ?
केही दलित समुदायका साथीहरुलाई मैले शुुन्यबाट सुरु गरेर यहाँ ल्याएको हुँ। ‘कन्भिन्स्’ गर्न सक्नु पर्याे नेपाली कांग्रेस सधै दलितकाे पक्षमा छ।
कांग्रेस अहिले मात्र होइन विश्वेश्वप्रसाद कोइरालाको पालदेखि नै दलितको पक्षमा छ। वि.सं. २००९ सालमा दलितलाई महामन्त्री बनाउने, २०१६ सालमा पहिलो पटक महिलालाई मन्त्री बनाउने पार्टी यही हो। मेरो विचारमा कांग्रेस सबैलाई समेटर जाने पार्टी हो। तर, अरु पार्टीलाई तपाईले हेर्नुभयो भने माओवादीले समावेशीका कुराहरु ल्याएर आयो। आरक्षणको कुरा हामीले ल्यायाैँ। समावेशीताका कुरा प्रचण्डले ल्याएका हुन्। संसदमा दलितहरु आउनुमा माओवादीको लगानी छ। तर, एमाले यस्तो पार्टी हाे जाे आरक्षणको पक्षमा पनि छैन, समावेशी पनि छैन। उसका साथीहरुलाई सोध्दा ‘हामी त के हौँ हामीलाई थाहा छैन’ भन्छन्। मैले तपाईं पत्रकारहरुलाई भन्न चाहान्छु।
कम्तिमा एमालेका विचार परिवर्तन गर्नका लागि यी तथ्यांक लिगेर गएर सोध्नुहाेस् एमालले गिरिजाप्रसाद कोइरालाले दिएको छात्रावृत्ति किन काट्यो ? अथवा निजामती सेवाका कोटा किन काट्यो ? यी कुराहरु पत्रकारहरुबाट उजागर भईदियो भने दलितलाई अप्रत्येक्ष रुपबाट पनि सहयोग हुने थियो।
तपाईंहरु आफै बेलाबेलामा पार्टीभित्र असन्तुष्टि पोख्दै आउनु भएको हुन्छ। यस्तो किन नि ?
होइन, काम गर्दै जाँदा त्यसलाई धेरै कुराले ‘कन्ट्रोल’ गरेको हुुन्छ। जस्तै उदाहरणका लागि समानुपातिक सांसद छन् नी त्यसको म बिरोधी हुँ। मैले के भन्छु भने तपाईं आरक्षणबाट मात्रै सिधै जान खोज्नु भयो भने व्यत्तित्व विकास हुँदैन्। सबैलाई हामीले सक्रिय पार्नुपर्छ। त्यसैले मेरो ‘कन्सेप्ट’ के हो भने समानुपातिकको सट्टा दलित वा महिलाको लागि निर्वाचित क्षेत्र आरक्षित गरिनुपर्छ। त्यो पनि मोवाइल कन्सिटेन्सी (एउटा क्षेत्रबाट एक पटक मात्रै आरक्षण दिइने व्यवस्था)मा हुनुपर्छ। यो कुरा मैले संविधनमा लागू गर्नुपर्याे भनेर उठाएको थिएँ। संविधान बनाउँदा यो प्रस्ताव प्रचण्डकाे लिएर गएका थियाैँ तर उहाँले बेवास्ता गर्दा यो कुरा पछि पर्याे।
यस्ता समस्याहरु आउँछन् तर हामी राजनीति गर्ने मान्छेहरुले एक पटकमा भएन भनेर त्यो मुद्दा छोड्नु हुँदैन। काम गर्न ढिला हुँदा मैले दबाब दिने गर्छु। त्यसमाथि पनि पार्टीमा मेरा कुराहरु गहन रुपमा लिइन्छ। त्यसैले हाम्रो पार्टीमा समस्या छैन।
पार्टीको जिम्मेवारी र दलितका मुद्धालाई लिएर अगाडि बढ्न कति सहज छ ?
मैले अघि पनि भने नि दलितको लागि मात्रै गर्छु भन्ने हुँदैन। नेपाली कांग्रेस भनेको सबै वर्ग समुदाय र क्षेत्रको पार्टी हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो। एउटा किसाले पनि गर्वका साथ कांग्रेस हुँ भन्न सकोस्। नेपाली कांग्रेस सबै वर्गको पार्टी बन्न चाहान्छ। त्यही भएर आरक्षणको मुद्दा लिएर जाँदा पनि दलितको मात्रै नभएर सबैका विषयमा कुरा उठाएको हुन्छु। त्यसैले मलाई पार्टी भित्रबाट कुनै अपहेलना भएकाे छैन। हाम्रो पार्टीभित्र कुनै असहज छैन।
कांग्रेसले पछिल्लो समय नयाँ मुद्दा उठाएको छैन। किन होला ?
गिरिजाप्रसाद कोइरालाकाे समय धेरै काम भए। शेरबहादुर देउवाका पालामा पनि भएका छन्। कांग्रेसमा दलितका लागि काम गर्ने नेतामध्ये गिरिजाप्रसाद कोइरालापछि शेरबहादुर देउवा हुन्। दलित आयोग, महिला आयोग र जनजाती आयोग गठन गर्ने उहाँ नै हो।
म ०५५ सालमा पार्टी कार्यालयमा अनशन बसेका छु। त्यतिबेला अधिवेशनकाे लागि उम्मेदवारको नामावली निकालियो। त्यसमा एक जना पनि दलितको नाम देखिन। त्यसपछि म अनशन बसेँ। त्यतिबेला मेरा माग तीनवटा थिए। पहिलो पार्टीको प्रत्येक निकायमा दलितकाे प्रतिनिधित्व हुनुपर्ने, दोस्रो संसदीय समितिभित्र दलितकोे प्रतिनिधित्व हुनुपर्ने, तेस्रो प्रत्येक पटक दलितलाई टिकट दिनुपर्छ भन्ने थियोे।
त्याे ०५५ सालको मेरो माग ७६ सालमा पूरा भएको छ। त्यसैले पार्टीमा त्यस्तो समस्या छ जस्तो लाग्दैन। धेरै पटक मलाई मन्त्रीको प्रस्ताव पनि आएकै हो तर मैले अन्य दलित नेतालाई मन्त्री बनाएको छु। मलाई दलित आयोगको पहिलो अध्यक्ष पनि बन्न प्रस्ताव गरिएको थियो। प्रमुख सचेतक पनि बन्न भनिएको हो। तर, बनिन। त्यसैले पार्टीले अवसर नदिएको होइन् म जे–पायो त्यो खाने मान्छे होइन किनभने त्यसले मेरा माग र मुद्दामा असर पर्छ। मैले त सबै समुदायका लागि गर्ने हो, आफ्नो लागि गर्ने होइन। मेरो योजना र बोली विक्यो भने त भयो। त्यसैले बाहिर त्यस्तो देखिएको होला।
दलित नेताहरूले पदमा पुगेपछि पनि काम नगरेकाे जस्ताे देखिन्छ नि ?
अब हेर्नुुहोस्, राजनीतिमा विभिन्न प्रकारका मानिसहरु पाइन्छन्। त्यसमा पनि दुई थरीका धेरै हुने गर्छन्। एउटा पार्टीमा उद्देश्य लिइएर हिँड्ने। अर्काे पार्टीमा लागेर पदमा पुग्न चाहने। पार्टीमा लागेर मैले यो कुरा उपभोग गर्न पाउनुपर्छ भन्ने खालका त्यस्ता मान्छे एमालेमा छन्। त्यसैले समस्या देखिएको होला।
भनेपछि दलित नेताले अवसर पाएर पनि सदुपयोग गर्न सकेनन्, हाे ?
आफ्नो समाजलाई वा वर्गलाई यो गर्ने हो भन्ने उद्देश्य भए पो गर्न सक्छन्। नभएपछि कहाँबाट गर्छन्। यही भएरै यिनीहरुलाई पार्टीले पनि थिचेको हो। त्यो दासत्व प्रवृति हो।
एउटा उदाहरण दिन्छु– संविधान बनाउने बेलामा दलितका ४० जना सांसद थियौँ। सबैलाई मैले १५/१५ दिनमा बैठक बसालेर संगठित गरेको थिएँ। त्यतिबेला मैले एउटा जिम्मेवारी लिएको थिएँ। सदन भित्रका दलितहरुलाई परिचानल गर्ने। सडकका दलित परिचालन गर्न संघर्ष समिति गठन गरेर हाम्रा भातृ संगठनलाई जिम्मेवारी दिइएको थियाे।
संविधान बन्ने अन्तिम अवस्थामा के भयो भने हाम्रा धेरै कुराहरु काटिन थाले। विशेष गरेर प्रदेशमा एउटा पनि सिट नदिने भन्ने कुरा भयो। त्यसपछि मैले ४० जना दलित सांसदको ‘डेलिकेशन’ लिएर प्रचण्ड कहाँ गए। उहाँले ‘मानबहादुरजी एकदम राम्राेसँग लाग्नुहोस्, मेरो समर्थन छ’ भन्नु भयो। विजय गच्छेदारकोमा लिएर गयाैँ उनी पनि सहमत भए। हामी सुशिल कोइराला कहाँ गयौँ। उहाँले हात जोडेर भन्नुभयो,‘मानबहादुरजी तपाईंले भनेको कुरा हामीले कहिले मानेका छैनौँ र?’ यही जवाफ दिनु भयो। त्यसपछि हामी केपी शर्मा ओली कहाँ गयौँ। उहाँकोमा बेलुका ६ बजे प्रस्ताव लिएर जाँदा केपी ओलीले के भने थाहा छ ? ‘तँ मेरो बालीघरे होइनस्’ भनेर जीतु गौतमलाई भनेका छन्।
ओलीले त्यति भन्दा जीतु चुप्प लागेर बस्ने अनि त्यसले काम गर्न सक्छ ?
‘पहिला ३२ सदस्य बाहुनहरु थिए, अहिले १२ सदस्य भए किन थाहा छ ? बाहुनहरुले गल्ती गरेर। बाहुन तल झरेर। धन्न मेरा बाउले गल्ती गरेन्छन् र म दलितमा परिनँ’ त्यो भने केपी ओलीले र, उनले ‘दलितका लागि कुनै पनि आरक्षण दिन सक्दिनँ’ भने। त्यति भन्दा मलाई बीचैमा उठेर हिँडौँकी भन्ने भएको थियो। नेतृत्व गरेर गएका कारण हिँड्न सकिनँ।
टाढाका कुरा छोड्नुुहोस्, केपी ओलीसँग मैले गरेका प्रत्येक्ष कुरा मैले भनि राखेको छु। भनेपछि त्यो पार्टी मातहतका नेताहरूले के बोल्ने ? आफ्ना लागि मात्रै बोल्ने प्रवृति गलत हो। राजनीति गरेपछि त समाज र राष्ट्रका लागि गर्नुपर्छ। त्यो उहाँहरुले हेर्नुभएको छैन।
दलित नेतामाथि आरोप छ, ‘पदमा पुगेपछि आफ्नो समुदायका मुद्दा बिर्सन्छन्। यही कारणले तपाईंहरुले गर्न नसकेको हो ?
मेरो विषयमा त्यस्तो छैन। अहिलेसम्म कसैले आरोप लगाएको छैन। मैले सुनेको पनि छैन। तपाईंहरुले सुन्नुभयो भने भन्नुहोला म ‘करेक्सन’ गरौँला।
अहिले तपाईंको पार्टीकाे नेतृत्वमा सरकार छ। यसपटक तपाईंले दलित समुदायका लागि के गर्दै हुनुहुन्छ ?
अस्ति हाम्रो विधेयक पनि आइसक्यो। बजेटको अध्यादेश आइसकेको छ। त्यहाँ बुँदा नम्बर ४६ मा दलितको आर्थिक, सामाजिक र राजनीतिक सन्यन्त्र बनाईनेछ भनेको छ। त्यही सन्यन्त्रबाट काम गछौँ। त्यसका सबै बुँदा मैले भन्न सक्दिनँ तपाईं आफै हेर्नुहोला।
पछिल्लो समयमा आरक्षण कटौतीको माग पनि उठ्ने गरेको छ। यस विषयमा तपाईंको धारणा के छ नि ?
सुन्नुहोस्, तपाईं खाली छुवाछुुत, छुवाछुत मात्रै भन्नुभयो भने हजारौँ वर्षसम्म पनि यस्तै रहनुहुन्छ। त्यसैले दलितलाई ‘क्यापेवल’ बनाईदिनस् सबै कुरा आफै हुन्छ। जस्तो शिक्षाको क्षेत्रमा लगानी गर्नुहोस् किनभने ऊ शिक्षित भयाे भने आफ्नो अधिकारका लागि आफै लड्छ। मेरो पहिलो पिलर शिक्षाको क्षेत्रमा दलितलाई ‘ओपन’ गर्नुपर्छ भन्ने हो। दोस्रो पिलर अवसर दिनुपर्छ। तेस्रो पिलर आर्थिक। किनभने गरिब भनेर हेला गरिन्छ। आर्थिक रुपमा सम्पन्न भयो भने त्यसलाई कसैले पनि हेप्न सक्दैनन्। मेरो चौथो पिलर राजनीति हो। अब दलितले राजनीति गर्नुपर्छ। पाँचौँ पिलर भनेको दलित उत्थानको लागि जनचेतना।
आरक्षणको विषयमा सबै भन्दा बढी विरोध गर्ने को हुन् भन्दा लोक सेवा आयोगमा ५० सिटको विज्ञापन गर्दा जुन समुदायले ४८ वटा सिटमा विजयी प्राप्त गर्छन् उनैहरु हुन्। किनभने हाम्रो भाग खायो भन्ने उनीहरुलाई लागेको छ। त्यो होइन, देशमा जति पनि समुदाय छन्। भएको शक्ति समान रूपमा बाढ्नुपर्छ।
त्यसैले जसले यसको विरोध गरेको छ। उनीहरुलाई लागेका छ हाम्रो अधिकार खाए। हुन पनि हो तर उनीहरुले त जमानादेखि आरक्षण पाएका होइनन् र ? तीनधारा पाठशालामा के हो ? आरक्षण होइन् ?
तीनधारा पाठशालमा पढ्नका लागि तिनीहरुलाई जमानदेखि त्यो आरक्षण छ। त्यसको विरोध नगर्ने हामीलाई अहिले आएर हाम्रा पढेखेलेका मान्छेहरुलाई अवसर दिनु हामी पनि नेपाली समाजका मान्छे हौँ भन्दा आरक्षणको विरोध गर्ने ? त्यसैले त्यसको विरोधमा दलितहरु एक हुनुुपर्छ।
दलितहरूकाे अहिलेकाे अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
म करिब ११ वर्षको हुँदा एउटा किताब छोए बापत जुत्ताको झटारो खाने व्यक्ति हुँ।
मेरो बुवा इन्डियन आर्मीमा हुनुहुन्थ्यो। उहाँले कुनै एउटा किताब लिएर घरमा राख्नु भएको थियो। मैले त्यो किताब घरको दलानमा बसेर हेर्दै थिएँ। त्यतिबेला मैले अक्षर चिनेको थिइनँ, पान्ना पल्टाउँदै चित्रहरु हेरिहेको थिएँ। त्यही समयमा एक जना गौतम थरका व्यक्ति आए। टाढाबाट देखेपछि ‘ए तैले हाम्रो किताब पढ्ने भन्दै’ हातले हान्दा छोइन्छ भनेर जुत्ताको झटारोले हानेका हुन्। अर्घाखाँची जस्तो शिक्षित ठाउँमा आजभन्दा ६५ वर्षअघिको घटना हो यो। किताब छुँदा जुत्ताको झटारो खाएको व्यक्ति म हुँ।
त्यसैले अहिलेको परिस्थितिलाई तपाईंले तुलना गर्नुभयो भने म आफै नै त्रिभुवन विश्वविद्यालयको प्रध्यापक भएर सयौँ डाक्टर र इन्जिनियर उत्पादन गरिसकेको छु। अहिले पनि संसदमा मैल पढाएका नेताहरु म सँगै छन्। जुन व्यक्तिले किताब छुँदा पिटाई खाएको थियो त्यो व्यक्तिले पढाएका सयौँ व्यक्ति इन्जिनियर र डाक्टर भएको देख्दा म कति खुशी छु होला।
किताब छुँदा पिटाई खानुपर्ने सयमको झझल्को मैले दिन खोजेको हो। समाज परिवर्तनले धेरै माथि पुर्याएकाे छ। तर, यो परिवर्तन त्यतिकै भएको होइन। हाम्रा धेरै साथीहरुले संघर्ष गरेको छन्। अनेकौँ साथिहरुले आन्दोलन गरेका छन्। समाजका संवेदनसील व्यक्तिबाट पनि सहानुभूति पाइएको छ।
त्यसहिसाबले आजभन्दा ६५ वर्ष पहिला र अहिलेको अवस्था आकाश जमिनको फरक छ। म आफै पहिला कुन अवस्थामा थिएँ। अहिले कुन अवस्थामा आएँ भन्ने सोच्दा म आफै दंग परेको हुन्छु।