काठमाडाैं उपत्यकामा मेघ गर्जनसहित वर्षा, पूर्वी, मध्य र पश्चिमी भेगमा हिमपात

अहिले नेपालको पश्चिमी, मध्य र पुर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया मौसम बदली भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा मेघ गर्जनसहित वर्षा र हिमपात भइरहेको छ।

बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

उनका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ।

शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिए। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न सर्वसाधारणलाई उनले अनुरोध समेत गरेका छन्।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ३ गते (शुक्रबार) 
दिउँसो : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातीः   देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।

माघ ४ गते (शनिबार) 
दिउँसो : देशभर आन्शिक देखि सामान्य बदली रहनेछ। पहाडी  भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

माघ ५ गते (आइतबार) 
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति: : 2020-01-17 13:37:14

प्रतिकृया दिनुहोस्