अमेरीका—इरान तनाव: तेलको मूल्यमा ह्वात्तै वृद्धि

बिएल संवाददाता

काठमाडाै‌ं

इरानले इराकस्थित हवाई आधारमा दजनौं मिसाइल आक्रमण गरेपछि मङ्गलबार तेलको मूल्यमा ह्वात्तै वृद्धि भएको छ। अमेरिकी कच्चा तेल मङ्गलबार ४ प्रतिशले बढेर ६५ डलर पुगेको छ। आक्रमण प्रति ६२.७० डलर मुल्य रहेको कच्चा तेलको मुल्य बढेर ६५.४८ पुगेको छ।

तेलको मुल्यमा अचानकको वृद्धि विश्व अर्थतन्त्रलाई नै असर गर्नेछ। पछिल्लो समय कमजोर उत्पादन गतिविधिका कारण संघर्षरत विश्व अर्थतन्त्रको लागि यो राम्रो संकेत होइन।

अघिल्लो हप्ता अमेरिकी ड्रोन आक्रमणमा शीर्ष इरानी कमाण्डरको मृत्युको बदलामा इरानले मिसाइल आक्रमण गरेको हो। इरानले अनबर प्रान्तमा रहेको ऐन अल–असद बेस क्याम्प र इरबिलमा एक ग्रीन जोन (अमेरिकी सैन्य क्षेत्र) मा १२ भन्दा बढी ब्यालेस्टिक मिसाइल झारेको पुष्टी इरानी सञ्चार माध्यमले गरेका छन्।   

उलेख्नीय कुरा मंगलबारको मिसाइल आक्रमणको जिम्मा इरान आफैले लिएको छ। यसअघिका मिसाइल आक्रमणको जिम्मेबारी इरान पक्षधर मिलिसिया समूहले लिने गर्थे। 

इरानी सरकारी मिडियाका अनुसार इराकको अमेरिकी बेस क्याम्पमा भएको हमला जर्नेल सुलेमानीको हत्याको बदला स्वरुप हो। इरानको रिभोल्युशनरी गार्ड्सले विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, ‘हामी अमेरिकाको सबै सहयोगी राष्ट्रलाई चेतावनी दिन चाहन्छौं, अमेरिकालाई आफ्नो बेस उपलब्ध नगराउँ। यदी उनीहरूले आफ्नो कुनै पनि क्षेत्र इरानविरूद्ध प्रयोग गर्न दिन्छन् भने उनीहरू पनि हाम्रो निशानामा पर्नेछन्।’

इरानको फार्स न्युज एजेन्सीले अमेरिकी बेस क्याम्पमा हमला गर्न इरानले फतेह–३१३ मिसाइल प्रयोग गरेको बताएको छ। यसले जमीनबाट जमीनमा मार हान्न सक्ने क्षमता राख्छ। 

इरानले अमेरिकी बेस क्याम्पमा हमला गरेपछि यति बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको नेतृत्वमा सुरक्षा एजेन्सीको बैठक बोलाएका छन्। अमेरिकी संविधानले कुनै देशमा सीधै सैन्य कार्यवाही गर्ने अधिकार राष्ट्रपति र कांग्रेस (संसद) लाई दिएको छ। जहाँ संसदले कुनै पनि देशविरूद्ध युद्धको घोषणा गर्न सक्छ। यस्तै, राष्ट्रपतिले देशको सुरक्षाका लागि सेनाको प्रयोग गर्न सक्छन्। 

यसअघि ट्रम्पले सुलेमानीको हत्याको बदलामा इरानले आक्रमण गरेमा इरानमाथि जवाफी प्रहार गर्ने वाचा गरेका थिए।
 

प्रकाशित मिति: : 2020-01-08 23:40:01

प्रतिकृया दिनुहोस्