अहिलेको जस्तो थिएन, त्योबेलाको काठमाडौं। चारैतिर पहाडै–पहाडले घेरिएको सुन्दर उपत्यका। जङ्गलै–जङ्गलको बिचमा ढुङ्गा, काठ र कमेरोले बनेका पातलो बस्ती। शान्त वातावरण, स्वच्छ हावा, कलकल बग्ने सफा बागमती र विष्णुमती नदी नै पुरानो काठमाडौंको पहिचान थियो।
वि.स. २०१६ सालमा उनी रामेछापबाट काठमाडौं आए। १६ वर्षको उमेरमा काम गरेर पैसा कमाउने सपना बुनेका रामबहादुर कार्की हिँड्दै राजधानी हानिए। गाउँ छोडेको तीन दिनपछि उनी काठमाडौं आइपुगे। ‘त्योबला काठमाडौंमा कुनै गाडीहरु थिएन, यात्रा गर्नुपर्दा हिँडेर जानुपर्ने बाध्यता थियो’, उनले सुनाए।
गाउँ त्यागेर पहिलोपटक काठमाडौं पसेका रामबहादुरलाई काठमाडौं नौलो लागेन। चारैतिर पहाडै–पहाडले घेरिएको सुन्दर उपत्यका। जङ्गलै–जङ्गलको बिचमा ढुङ्गा, काठ र कमेरोले बनेका पातलो बस्ती। शान्त वातावरण, स्वच्छ हावा, कलकल बग्ने सफा बागमती र विष्णुमती नदी। गाउँघर जस्तो देखिन्थ्यो, त्योबेलाका काठमाडौं।
‘काठमाडौं आएपनि मलाई लागिरहेको थियो, म कुनै नयाँ गाउँमा आएको छु। बाक्लो बस्ती थिएन। मात्र बडा–बडा रुखहरु थिए’, पहिलोपटक देखेको काठमाडौंबारे उनले भने, ‘एउटा घण्टाघर थियो। जसले घण्टी बजाएर समयबारे जानकारी गराउँथ्यो।’
कामको खोजीमा काठमाडौं आइपुगेका उनी डिल्लीबजारको एक ‘अडिटर’ कार्यालयमा काम गर्न थाले। ‘भाग्यबस मैले चिनेका महाजन काठमाडौंमा भेटेँ। मलाई उहाँले नै काम र डेरा दिनुभयो’, उनी भन्छन्।
महाजनको घरमा बसेर काम गर्ने उनी महिनाको एक रुपैयाँ कमाउँथे। त्यही पैसा लिएर उनी असनको बजार पुग्थे अनि दुई झोला तरकारी बोकेर ल्याउँथे। ‘पहिला नेपालको पैसा धेरै महँगो थियो’, ६ दशकअघिको कुरा उनले खुलाए।
एक रुपैयाँ तलब उनी महिना दिनसम्म पुर्याउँथे। सुका पैसाले तीन पोका सुर्ती किनेर राख्थे र एक सुका पैसामा उनी एक कप चिया पिउँथे।
‘सुका पैसाले सबैथोक पाइन्थ्यो। झनै एक रुपैयाँले त पूरै संसार नै किन्न पाइन्थ्यो’, हाँस्दै उनी भन्छन्, ‘तर अहिले एक रुपैयाँको केही मोल छैन।’
त्यसैले त रामबहादुरलाई धुलो, धुँवा र कलहले भरिएको अहिलेको काठमाडौंभन्दा पहिलेकै काठमाडौं प्यारो लाग्छ। उनी भन्छन्, ‘गाउँबाट आएर मैल देखेकाे त्यो काठमाडौं शान्त र सफा थियो। त्यही समयको काठमाडौं रमाइलो थियो।’
अहिले ‘बिल्डिङ’हरुले सजिएको काठमाडौं पहिले हरियालीले भरिपूर्ण रहेको उनी सुनाउँछन्। ‘अहिले जस्तो उबेला काठमाडौंमा जताततै घरहरु बनेको थिएन। कलकल बग्ने सफा विष्णुमती र बागमती नदी अनि स्वच्छ चल्ने चिसो हावाले दिनभरि काम गरेर थाकिएको शरीर फूर्तिलो हुन्थ्यो’, पुरानो काठमाडौंको वर्णन गर्दै उनले भने।
उबेला काठमाडौं उपत्यकामा खानेपानीको धारो थिएन। जसकारण काठमाडौंका रैथाने एकाबिहानै नेवारी पोसाकमा सजिएर गीत गुन्गुनाउँदै विष्णुमती र बागमतीको सफा पानी गाग्रीमा भरेर ल्याउँथे।
अहिले काठमाडौं फोहोर भएको कारण आफूलाई दुख लागेको बताउँछन् उनी भन्छन्, ‘बागमती र विष्णुमती खोलाको पानी कन्चन थियो। मान्छेले खोलामा टेक्दा पनि ‘विष्णु–विष्णु पाप नलागाेस्’ भन्दै खोलालाई ढोग्ने गर्थे तर अहिले त्यही खोला देखेर मानिसहरु नाक थुन्दै हिँड्छन्, त्यो देखेर नमज्जा लाग्छ।’
पुरानो काठमाडौं जति शान्त र सुन्दर थियो, उत्तिकै डरलाग्दो पनि देखिन्थ्यो। ‘जङ्गल जस्तो थियो काठमाडौं। त्यसैले मानिसहरु दिउँसाे पनि हिँड्न डराउँथे’, उनले भने।
त्योबेला काठमाडौंको ‘टुकुचा’ खोलामा बच्चाहरुकाे शव देखिने गरेका उनी बताउँछन्। ‘मलाई याद भएअनुसार महिलाहरुले भर्खर जन्मिएर मरेका बच्चाहरुलाई त्यही टुकुचा खोलामा फ्यालिदिने गर्थे’, उनी सम्झिन्छन्, ‘टुकुचा खोलाको पुल तर्दा बच्चाकाे शव कुहिएको गन्ह्राउँथ्यो। त्यसैले मलाई त्यो बाटो हिँड्नै डर लाग्थ्यो।’
टुकुचा खोलासँगै रामबहादुरलाई न्यूरोडमा घटेको त्यो घटना पनि हिजोझैँ लाग्छ। रातको साढे ९ बजेको थियो। उनी सहकर्मीका साथ घुम्न निस्किएका थिए। न्यूराेडको चक्कर लगाउनमा व्यस्त थिए, रामबहादुर। त्यही क्रममा उनको नजर आफ्नो अगाडि हिँडिरहेका तीन युवतीमा पर्यो। रातको समय, सुनसान गल्ली। मनमा पाप पलायो। अँध्यारो गल्लीमा केटीहरुलाई समात्ने दुई साथीको योजना बन्यो। केटी देखेर लाेभिएका उनीहरुले ती युवतीहरुलाई पछ्याउन थाले।
अन्जान युवतीहरुलाई पछ्याउँदै उनीहरु १० बजे त्रिपुरेश्वर पुगे। त्रिपुरेश्वरको चोक पुगेपछि थकाइ मारिरहेका थिए, ती युवतीहरू। त्यही दाउ छोपेर रामबहादुर ‘कछुवाको चाल’झैँ अघि बढ्न थाले।
युवतीको नजिक जानका लागि दुई पाइला अघि चालेका उनको कदम एक्कासी रोक्कियो। जब उनका नयन युवतीहरुको खुट्टामा गयो। ती युवतीहरुको खुट्टाको कुर्कुच्चा अगाडि फर्किएका थिए। लामो कालो कपाल र सर्लक्क परेको जिउडाल देखेर मोहित भएका रामबहादुर खुट्टा देखेर डराए। र साथीको हात समातेर कुलेलम ठोक्न थाले।
हस्याङ्फस्याङ गर्दै दौडिरहेका उनीहरुलाई देखेर युवतीहरु मच्चीमच्ची हाँस्न थाले। पूरै सहर उनीहरुकै हाँसोमा गुन्जियो।
‘२६ वर्षका ठिटाहरु थियौँ, त्यसैले मनमा अनेकौँ सोचहरु आएर ती केटीहरुको पछि लाग्यौँ तर उनीहरु त किचकण्डी पो रहेछन्’, विगतका घटना कोट्याउँदै उनले भने, ‘तरुनीलाई समात्न गएको, झण्डै किचकण्डीको फन्दा परियो!’
मध्यरातमा युवतीलाई पछ्याउँदा युवावस्थामा भोगेको त्यो त्रास सम्झिएर अहिले हाँस्ने गर्छन्, ८० वर्षीय रामबहादुर। भन्छन्, ‘जवानीमा स्याल पनि घोर्ले हुन्छ भन्थे, हो रहिछ।’
सिंहदरबारमा लागेको त्यो आगो...
वि.स. २०३० साल असार २५ गते, रातको १० बजे। निन्द्रामा मस्त थिए, ३० वर्षीय रामबहादुर। घरका मालिक उठेर उनलाई बाेलाउँदै भन्न थाले, ‘ओई, रामे! सिंहदरबारमा आगो लाग्यो रे, उठ् त!’
साहुको कुरा सुनेर उनी झस्किएर उठे। ‘रातको १० बजे उठ्दा हल्लाखल्ला थियो। महाजनले मलाई सिंहदरबारमा लागेको आगो हेर्न पठाउनुभयो। म साथीसँग सिंहदरबार पुगेँ’, उनले भने, ‘टाढैबाट देखिन्थ्यो, ‘सिंहदरबार दन्किरहेको। जुन आगोको ‘राप’ पुतलीसडक, थापाथली, बानेश्वर र घट्टेकुला पुगेको थियो।’
सन् १९०८ सालमा चन्द्रशमशेरले ‘५०’ हेक्टर जमिनमा निर्माण गरेका थिए, सिंहदरबार। जहाँ सत्र सय कोठाहरु थिए। तर ‘विद्युत सर्ट’ हुँदा लागेको आगोमा सबै जलेर खरानी भए। नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवन जल्दा तत्कालीन प्रधानमन्त्री कीर्तीनिधि विष्टले नैतिकताको आधारमा राजा वीरेन्द्रसामु राजीनामा पत्र बुझाएका थिए।
सिंहदरबार जलेको देखेर तत्कालीन प्रधानमन्त्री विष्ट मात्र होइन, रामबहादुर पनि रोएका थिए। ‘त्यो आगो देखेर मैले स्वर्गीय बाआमालाई सम्झिएँ। किनकी मैले यही आगोमा बाआमालाई दहन गरेको थिएँ’, उनले भने।
अहिले सिंहदरबार र काठमाडौंकै मुहार फेरिसकेको छ। तर रामबहादुरलाई पुरानो सहरको माया लाग्छ। ‘म पुरानो पिँढी हुँ। त्यसैले मलाई पहिलेकै काठमाडौं प्यारो छ’, उनले भने, ‘अहिले काठमाडौंको स्वरुप बदलिएको छ। तर मलाई पहिलेकै काठमाडौंमा पुग्ने मन छ।’