हनुमानढोकामा फूलपाती भित्र्याइयो

बडादशैँको सातौँ दिन आज शनिबार हनुमानढोकास्थित दशैँघरमा फूलपाती धार्मिक विधिपूर्वक भित्र्याइएको छ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको व्यवस्थापनमा गुर्जुको पल्टन, पञ्चेबाजाका साथमा सुरक्षाकर्मीसहित टोलीले आज गोरखाबाट जमलमा ल्याइएको फूलपाती हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको हो।

फूलपाती भित्र्याउने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसहित निजामती सेवाका कर्मचारी र विभिन्न देशका कूटनीतिज्ञको सहभागिता थियो।

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पुजारीले र जीवनपुरबाट जमल त्रिचन्द्र क्याम्पस परिसर सम्म काठमाडौँबाट गएका प्रतिनिधिले फूलपाती ल्याउने चलन छ। निकै रमाइलो देखिने उक्त समारोहमा नेपाली सेनाले तोप पडकाएर हर्षबढाइ समेत गरेको थियो।

शुभ साइतको प्रतीकका रुपमा केराको बोट, दारिम, धानको बाला, हलेदो, मानवृक्ष, उखु, बेलपत्र, अशोकको फूल र जयन्तीलाई भित्र्याइन्छ। ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको प्रतिकका रुपमा पूजा गरिन्छ।

 

प्रकाशित मिति: : 2019-10-05 19:55:34

प्रतिकृया दिनुहोस्