सामुदायिक सद्भाव बढाउँदै दूर्गा पूजा, हिन्दु मुस्लिम र सिख मिलेर बनाए भगवतीको मूर्ति

तस्बिरः बिएल नेपाली सेवा

वीरगंजको रानीघाट चोकमा माटोबाट दुर्गा भगवतिको मूर्ति बनाउन कलाकारहरू व्यस्त छन्। कोही माटो मुच्दै छन् भने कोही भगवतिको मूर्तिलाई आकार दिन व्यस्त देखिन्छन्।

मूर्ति राख्न पण्डालको व्यवस्था गरिएको छ। दुर्गा पूजा सेवा समितिले बनाएको उक्त पण्डाल भित्र दुर्गा पूजाका लागि आवश्यक पर्ने दुर्गा भगवति, सरस्वति, लक्ष्मी, गणेश, शिव, पार्वति कार्तिकेय र महिषासुरलगायत दश वटा मूर्ति छन्।

नेपालीहरूको महान पर्व दशैं नजिकिँदै जादाँ अहिले वीरगन्जसहित अधिकांश तराईका जिल्लामा दुर्गा भगवतिको मूर्ति बनाउन कालिगढलाई भ्याईनभ्याई छ।

वीरगन्जका मुख्य चोकमा अहिले दुर्गा पूजाको तयारीका लागि भारतीय कालीगढहरू मूर्ति बनाउनमा व्यस्त छन्। घटनास्थापनासम्ममा मूर्तिको सबै काम सकाउनुपर्ने भएकोले अहिले उनीहरूलाई भ्याईनभ्याई छ।

पन्ध्र दिन पहिले बनाउन सुरू गरिएको दुर्गालगायत अन्य देवी देवताका मूर्ति शनिबारसम्ममा सबै सजावट सम्पन्न गरिसक्नुपर्नेछ।
वडा दसैंलाई तराई मधेशमा दशहरा, नवरात्रि र नवमीको नामले मनाईन्छ।

शक्तिमाथि विजय प्राप्त भएको सम्झनामा दशैंमा विभिन्न शक्ति पिठमा गई पूजापाठ गर्नुको विशेष मान्यता छ। तर, धार्मिक सहिष्णुता र सामुदायिक सद्भाव बढाउने भएकाले तराई—मधेशमा माटोको भगवति बनाई चोक चोकमा पूजा गर्नु एक छुट्टै महत्व रहेको छ।

जहाँ हिन्दु मन्दिर तथा शक्तिपिठमा अन्य धर्मावलम्बि गएको पाईदैन त्यस्तो स्थानमा सामुदायकै खर्चमा माटोबाट बनाईएका दुर्गा मूर्तिमा कुनै जातीय र धार्मिक विभेद पाईदैन।

हिन्दु मुस्लिम, शिख ईसाई जुनसुकै धर्मावलम्बी भए पनि निर्धक्क भएर भगवतिको पण्डालमा बस्न सक्ने दुर्गा पूजा सेवा समितिकाका सतिश कुमार सिंह राजपूतले बताए।

हिन्दु मुस्लिम र सिख मिलेर बनाए भगवतीको मूर्ति

२०५७ सालदेखि दुर्गा पूजा सेवा समितिले रानीघाट चोकमा पण्डाल बनाई दुर्गा पूजा गर्दै आएको छ।

यो समितिमा समुदायका मुस्लिम र शिख धर्मावलम्बीसमेत छन्। व्यवस्थापनदेखि विसर्जनसम्म दुर्गा पूजामा उनीहरू एकजुट भएर लाग्छन्।

जहाँ छुवाछुत धार्मीक र जातीय विभेद हुँदैन। पूजा तथा अन्य सजावटका लागि कम्तिमा पाँच लाख सम्म खर्च हुने गरेको समितिका सिंहले बताए।

यो कुनै एक व्यक्ति विशेषको खर्च नभएर समुदायका हिन्दु, मुस्लिम र शिख धर्मावलम्बीले एक आपसमा उठाएर गर्ने सहयोग हो।

समितिमा आवद्ध नुरूलहोदा अन्सारी मुस्लिम समुदायको भए पनि भगवतिलाई चाहिने पोशाक र अन्य सामग्री सीमा पारी रक्सौलबाट ल्याउने जिम्मा पाएका छन्।

मानवताको धर्मलाई मान्यता दिएर समुदायमा भएको हरेक कार्यमा सबैको सहकार्य भए सहज र अपनत्वको भाव उत्पन्न हुनाले आफूहरू एक अर्काको पर्वमा बिना भेदभाव लाग्ने बताए।

'हामी सब एक हौ, मानिसको सोचाई मात्र फरक हो,' समितिका हिन्दु सदस्य सिंहले भने, 'विगत १८ वर्ष देखि हामी मिलेर दुर्गा पूजा गर्दैछौं, खै त हामीसँग दुर्गा भगवति अहिलेसम्म रिसाउनु भएको छैन। कुनै धर्मग्रन्थमा पनि यस्तो लेखेको पाईदैन्। यो जातीय विभेद मानिस आफैंले बनाएका हुन्।'

वडा दसैंको अवसरमा तराई मधेशमा सामुहिक खानपिन गर्नुभन्दा सामूहिक पूजापाठ गर्ने चलन भएकाले माटाको मूर्ति स्थापना गर्ने गरिन्छ।

यसले समुदायका हरेक जातजातिले आफ्नो आर्थिक स्थिति अनुसार पैसा संकलन गरि सामुहिक रूपमा माटोबाट बनाईएको दुर्गा भगवतिको मूर्ति स्थापना गर्ने परम्परा छ।

समुदायको सहयोगमा स्थापित मूर्तिको पूजापाठ देखि हरेक कार्यमा सामुदायकै सहयोग चाहिने भएकाले पनि दश दिनसम्म हरेक व्यक्ति एक आपसमा मिलेर खुसी साटासाट गर्छन्।

दसैं सकिएपछि पूर्णिमाको अन्तिम दिन समुदायका व्यक्ति मिलेर खुसी साथ नाचगान गर्दै नजिकको जलाशय नदि अथवा तलाउमा गई भगवतिको मूर्ति विसर्जन गर्ने र एक आपसमा रंङ्ग अबिर लगाउने चलन छ।

प्रकाशित मिति: : 2019-09-24 18:59:32

प्रतिकृया दिनुहोस्