अविच्यूरी: रतन टाटा

अधुरो ‘प्रेम’मा रतन टाटाले चुमेको व्यावसायिक माथ

Raveendran/AFP-Getty Images file
Raveendran/AFP-Getty Images file

‘यो गहिरो दु:खका साथ हाम्रो प्यारो रतनको शान्तिपूर्ण निधनको घोषणा गर्दछौं’ यो ब्रह्माण्डको सबैभन्दा धनी मान्छेले आफ्नो मृत्युसँग के लिएर जान्छ? 

गत बुधबार रतन टाटाको यो ‘चुपचाप’ महाप्रस्थानले उनलाई पछ्याउने लाखौं अनुयायीहरूलाई स्तब्ध बनाएको थियो। 

८६ वर्षको उमेरमा उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिएका थिए । 

उनको निधन पछि परिवारले एक विज्ञप्तिमा भने  ‘यो गहिरो दु:खका साथ हाम्रो प्यारो रतनको शान्तिपूर्ण निधनको घोषणा गर्दछौं’ लाखौं मध्यमवर्गीय परिवारको जिन्दगीमा ‘टाटा’ एउटा यस्तो साझेदार थियो जसले आममान्छेको जिन्दगीलाई निकै सजिलो बनाइरहेको थियो। र, त्यसको एउटा अभिकर्ता थिए रतन ‘टाटा’।

रतन टाटा एक प्रसिद्ध उद्योगपति र परोपकारी व्यक्ति हुन् जसले धेरैका लागि प्रेरणा छाडेर गएका छन्। 

जीवनमा थुप्रै धन कमाए पनि रतन टाटा विनम्रता, करुणा, इमानदारी, लचिलोपन, दूरदर्शी नेतृत्व र नैतिक व्यापारका एक त्यस्तो उदाहरण हुन् जसलाई हरेकले आफ्नो दैनिक जीवनमा पलपलमा पछ्याइरहेका हुन्छन्। उनको चरित्र नेतृत्व, समानुभूति, र व्यवसाय र समाज दुवैको लागि समर्पणको सामञ्जस्यपूर्ण मिश्रणको उदाहरण पनि हो। 

दक्षिण एशियाको एउटा देश भारत। जहाँबाट टाटाको नेतृत्वमा व्यवसायलाई सबै क्षेत्रहरूमा र ६ महादेशका १०० भन्दा बढी देशहरूमा व्यापारिक साम्रज्य बनाउन सफल भयो। उनको नेतृत्वमा, टाटा समूहको राजस्व उल्लेख्य रुपमा बढ्यो, आर्थिक वर्ष २०११-१२  मा १०० बिलियन डलर नाघेको थियो ।

१५६ वर्ष पुरानो टाटा समुहले अटोमोटिभ, मिडिया, सञ्चार र स्वास्थ्य सेवा लगायतका उद्योगहरूमा डिजाइन र प्रविधि सेवाहरू प्रदान गरिरहेका छ । र यो विश्वका मध्यमवर्गीय परिवारका करिब आधाभन्दा बढी जनसंख्याको हिस्सालाई आफ्नो दैनिक जीवनको साझेदारका रुपमा स्थापित छ। 

अधुरो प्रेम जीवन कहानी

रतन टाटाको व्यक्तिगत जीवन, विशेषगरि उनको प्रेम कथा सधैं जिज्ञासा बनिरहे । व्यवासायिक र परोपकारी जीवनमा उनले उल्लेखनीय सफलता हासिल गरे तर जीवनभर अविवाहित रहने उनको निर्णय रहस्य नै रह्यो। वर्षौंपछि उनले आफु पटक-पटक विवाहको नजिक पुगेका, तर प्रत्येक पटक परिस्थितिले हस्तक्षेप गरेको बताउँदै आएका थिए।  

युवावस्थामा, जब रतन टाटा अमेरिकामा पढाईपछि लस एन्जेल्समा एक आर्किटेक्चरल फर्ममा कार्यरत थिए, उनले एक अमेरिकी महिलालाई भेटे र उनको प्रेममा परेका थिए। आरामदायी युवा जीवनशैली बिताइरहेका उनी विवाह गरेर बस्ने सोच पनि बनाका थिए।  त्यतिबेलै, आफ्नो बिरामी हजुरआमाको हेरचाह गर्न उनले भारत फर्किने कठिन निर्णय लिनुपरेको थियो । रतन टाटा आफ्नी प्रेमिकालाई आफूसँगै भारत लैजाने विचार गरे तर त्यो पूरा हुन सकेन। 

सन् १९६२ मा भएको भारत–चीन युद्धका कारण प्रेमिकाका आमाबुवाले उनलाई भारत जान अनुमति दिएनन्। र यसरी, तिनीहरूको प्रेम सम्बन्ध अधुरो रह्यो, विवाहमा परिणत हुन सकेन। ती अमेरिकी महिलाको परिचय भने रतनले कहिल्यै खुलाएनन्।

पछि एक टेलिभिजनको अन्तर्वार्तामा रतन टाटाले आफ्नो जीवनमा चार पटक विवाह गर्न नजिकै पुगेको खुलासा गरेका थिए। यद्यपि, समय, परिस्थिति र कामको व्यस्ततताले रतनले विवाह गरेनन् र जीवनको अन्तिमसम्मै उनी अविवाहित रहेर। 

‘म गम्भीर रूपमा चार पटक विवाह गर्ने नजिक पुगें र प्रत्येक चोटि डरले वा कुनै कारणले म पछि हटें। प्रत्येक अवसर फरक थियो, तर जब मेरा नजिकका व्यक्तिहरूलाई पछाडि फर्केर हेर्छु मेरो निर्णय नराम्रो थिएन,' टाटाले अन्तर्वार्तामा भनेका थिए, ‘मलाई लाग्छ कि विवाह भएको भए यो जीवन अझ जटिल हुन सक्थ्यो।’ 

एक बालक जसलाई हजुरआमाले हुर्काईन्

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा बम्बई (हाल मुम्बई) मा एक पारसी परिवारमा भएको थियो। उनका आमाबाबु नवल टाटा र सुनी कमिसरियटको सम्बन्ध बिच्छेद भयो। जतिबेला रतन मात्रै १० वर्षका थिए। त्यसपछि हजुरआमा नवाजबाई टाटाले उनी र भाईलाई सानैदेखि पालन पोषण गरिन् र हुर्काईन्। 

‘मेरी हजुरआमाले हामीलाई जीवनका हरेक पाटालाई सम्हालेर हुर्काउनुभयो’ उनले एउटा अन्तर्वार्तामा भनेका थिए ‘मेरो जीवनको एउटा निर्णायक अनि महत्वपूर्ण पात्र भनेको मेरी हजुरआमा हो।’ 

आफ्नी आमाले दोस्रो विवाह गरेपछि स्कुलमा साथीहरूको ‘र्‍यागिङ’लाई उनले कहिल्यै भुल्नसक्दैनन्। ती नमीठा सम्झनाहरूलाई उनले जीवनको अन्तिमसम्मै राखे। ‘तर हाम्री हजुरआमाले हामीलाई हरेक मूल्यमा आफ्नो मर्यादा राखिराख्न सिकाउनुभयो’ उनले भनेका थिए। 

उनका बुवा नवल टाटालाई उनकै हजुरआमा नवजबाई टाटा जो टाटा समूहका संस्थापक जमशेदजी टाटाका कान्छो छोरा सर रतनजी जमशेदजी टाटाकी पत्नी हुन्। उनले १३ वर्षको उमेरमा धर्मपुत्रका रुपमा अपनाएकी थिइन्। 

रतन टाटा आफ्नो सौतेनी भाइ नोएल टाटा (नवल टाटा र सिमोन टाटाका छोरा) सँगै हुर्किएका थिए। उमेरसँगै उनले क्याम्पियन स्कूल, मुम्बई, क्याथेड्रल र जोन कन्नन स्कूल, मुम्बई, बिशप कपास स्कूल, शिमला, र न्यूयोर्क सहरको रिभरडेल कन्ट्रीलगायता स्कुलहरूबाट आफ्नो जीवनको औपचारिक शिक्षा पूरा गरे। कर्नेल विश्वविद्यालय र हार्वर्ड बिजनेस स्कूलबाट उनले उच्च शिक्षा हासिल गरे। 

त्यसपछि जीवनको उत्तरार्द्धसम्मै उनी टाटा समूहमा समर्पित रहे। 

टाटा समुहको नेतृत्व

सन १९९१ मा भारत आर्थिक उदारीकरणको निर्णायक समयमा थियो। रतन टाटाले जेआरडी टाटाको उत्तराधिकारीका रुपमा ‘टाटा सन्स‘को अध्यक्षको भुमिका सम्हाले। उनको कार्यकालमा टाटा समूहलाई विश्वव्यापी ‘पावर हाउस’मा रूपान्तरण गराउन सफल भए। उनको २१ वर्षको नेतृत्वको अवधिमा टाटा समूहको राजस्व ४० गुणा बढ्यो, र ५० गुणा बढी नाफा बढ्यो।

आफ्नो २१ वर्षको कार्यकालमा, टाटाले टेटली, जगुआर-ल्यान्ड रोभर र कोरस स्टील जस्ता विश्वव्यापी ब्रान्डहरू प्राप्त गर्दै समूहलाई नयाँ उचाइमा पुर्‍याए। 

परोपकारी कार्य 

सादा अनि सादगी जीवन उनको पहिचान थियो । आफ्नो ठूलो सफलताका बावजुद, टाटा सधै नम्र रहे, करुणाको साथ नेतृत्व गरे। रतन टाटाले विनम्रता, परोपकार र नवीनताको विरासतको गहिरो छाप छोडेर गएका छन्। आफ्नो अन्तिम दिनसम्म रतन टाटा ट्रस्टसँग आवद्ध रहे र परोपकारीको  काममा खटिरहे। 

अहिले भारत लगायत विश्वमा उनको सम्पतिमात्रै हैन उनका जीवनका आदर्श अनि उनको व्यक्तित्वकाबारेमा चर्चा छ। आफ्ना लाखौं कर्मचारीहरूलाई सधैं परिवारका सदस्यका रुपमा राखेका रतनलाई टाटाका हरेक ससाना ईकाइहरुका कामदारले पनि ‘ईश्वर’ नै ठान्छन्।

धनपैसा कामाएर थन्क्याउने र मोजमस्तीका लागि मात्रै होइन भन्ने मान्यतालाई उनले जीवनको अन्तिमसम्मै सावित गरे। भारतमात्रै होइन विश्वकै धनी मान्छेको सूचीमा अटाउने उनले धनीहरूको त्यो दौडलाई भने कहिल्यै पछ्याएनन्। 

आफूले जीवनभरि कमाएको सबैजसो धनसम्पत्ति उनले समाजसेवामा खर्च गरे। 

१९८४को सिख नरसंहारका बेला उनले आफ्नो कम्पनीले टाटाले उत्पादन गरेका ट्रकहरू सिख समुदायका लागि प्रदान गरेका थिए। सिख समुदायका अधिकांश मानिसको पेशा भनेको ट्रकहरू चलाउने हो। रतनको यो कामबाट धेरै सिख समुदायका त्यस्ता मान्छेहरू लाभान्वित भए जो ट्रक व्यवसायमै निर्भर थिएर हिंसाका कारण आफ्ना उपकरण र पेशा गुमाएका थिए। 

सन् २००८ को मुम्बाईको ताज होटलमा भएको आतंकवादी आक्रमणमा टाटा कम्पनीका ११ जना कर्मचारीहरू मारिएका थिए। ज्यान गुमाउने ती कर्मचारीहरूको परिवारलाई रतनले उनीहरूले जीवनभरि कमाउनसक्ने बराबरको तलव दिएर सहयोग गरे। उनीहरूका बालबालिकालाई जीवनभरिको पढाई खर्च र स्वास्थ्यउपचारको ग्यारेन्टीमात्रै गरेनन्। बरु उनी आफैले सक्दासम्म ती परिवारका सदस्यहरूको घरमै पुगेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिन्थे। कोरोना महामारीका बेलामा उनले विपन्न वर्गका लागि भनेर डेढ हजार करोड दान गरेका थिए। 

‘टाटा सन्सֹ’को इक्विटी सेयर पूँजीको लगभग ६६ प्रतिशत विभिन्न ट्रस्टहरूको स्वामित्वमा छ। व्यापार र व्यवसायमा नैतिकता हुनुपर्छ भन्ने रतन टाटाको जीवन दर्शन र सिद्धान्तका कारण यो समूहले आर्जन गर्ने नाफाको धेरै हिस्सा शिक्षा, स्वास्थ्य सेवा र वैज्ञानिक अनुसन्धान तथा परोपकारका क्षेत्रमा खर्च गर्दै आएको छ। 

उनको निधनपछि सारा विश्वले शोक मनायो। दु:ख व्यक्त गर्‍यो। संसारका चर्चित सञ्चारमाध्यमहरूमा उनको जीवन कहानीहरू छापिए। उनले जीवनमा अपनाएको जीवन दर्शन अनि उनको व्यक्तिगत जीवनका बारेमा धेरै चर्चाहरू भए। व्यावसायिक जीवनको सफलता अनि प्रेमका बारेमा अहिले पनि उत्तिकै चर्चा छ। उनको प्रेम अनि वैवाहिक जीवन अपूरो रह्यो तथापि उनी व्यावसायिक जीवनमा संसारलाई नै माथ गरिदिए। 

एउटा अन्तर्वार्तामा उनलाई सोधिएको थियो- ‘तपाईंलाई मान्छेले कसरी सम्झने?’ 

जवाफमा उनले भनेका थिए ‘कसैको जीवनमा प्रभाव पारेको मान्छेका रुपमा मलाई सम्झिदिएपुग्छ…।’ 

अलविदा परोपकारी उद्योगपति रतन टाटा…!

प्रकाशित मिति: : 2024-10-13 19:50:00

प्रतिकृया दिनुहोस्