काठमाडौंको शान्तिनगर र गोकर्णेश्वरबाट ठूलो मात्रामा लागूऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको ग्रीन पेलेस डुमरवाना–२० बैरगनीयाका ३७ वर्षीय राजा कुणा, बेल बैरगनीया–२० का ३२ वर्षीय राजेशकुमार जयसवाल र अशोगी–४ पुरुषोत्तमपुर का ३७ वर्षीय अभिषेककुमार जयसवाल रहेका छन् ।
उनीहरुलाई काठमाडौंको शान्तिनगरबाट ब्यूरोको टोलीले भारतीय बीआर ३० ८६०७ नम्बरको स्कारपियो गाडीसहित नियन्त्रित लिएको हो ।उनीहरुको साथबाट चामल र पिठोमा लुकाइ राखेको १०४७ एम्पुल डाइजेपाम, १०३७ एम्पुल नुफिर्न र १०४२ एम्पुल फेनार्गन गरी ३१२६ एम्पुल मनोद्विपक पदार्थ बरामद गरेको छ ।
यस्तै, व्यूरोको टोलीले भदौ २७ गते काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेका अन्य ४ जनालाई पनि बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।गोकर्णेश्वरबाट पक्राउ पर्नेहरुमा सिराहाको गोलबजार नगरपालिका–४ का ४२ वर्षीय उतिम लाल साह, वडानम्बर ३ का २३ वर्षीय अशोक तामाङ, उदयपुर त्रियुगा नगरपालिका–१३ का ३४ वर्षीय सुजेन्द्र लोहनी र काभ्रेको रोशी गाउँपालिका–७ का २८ वर्षीय पेमा लामा रहेका छन् ।
उनीहरुको साथबाट ४१० डाइजेपाम, ३७५ फेनार्गन र ४१५ नुफिर्न गरी १२०० एम्पुल बरामद गरेको व्यूरोले जानकारी दिएको छ ।पक्राउ परेका सातैजनालाई लागूऔषध नियन्त्रण ऐन, ०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिसकेको ब्यूरोले जनाएको छ ।