कविता 

ईश्वरकाे नीति

दिनरात नभनी पसिना बगाउँछु
फाटेको लुगा टालेर लगाउँछु
कमाईले पुग्दैन परिवार चलाउन
तर तिम्रो ईश्वरले अन्न,घिउ
माग्दछ सित्तैमा जलाउँन

कुनै लुटेरा हो कि ?

कोही यस्तो गुन्डा जसलाई 
बुझाउनु पर्दछ मेरो दिनरातको
मिहिनेत सित्तैमा मैले 
ईश्वर भन्दछौ तिम्रो
भन्दछौ सबैको दु:ख दुर हुन्छ

शरणमा परे 
तिमी भन्दछौ ईश्वर नै हाम्रो 
माता पिता हुन् उनले नै 
हामिलाई बनाए, जीवन 
मृत्यु उसैको देन भनेर
तर कस्तो आमाबुबा हुन् 

कसैलाई अछुत देख्छ 
कसैलाई सर्वश्रेष्ठ 
कहिले उसलाई ब्रतको 
नाममा भोकै बस्न लगाउँछ

यो गर त्यो भनी अरुको 
माध्यम बाट हुकुम पठाउँछ
गरिबको घरमा आउँदैन
अन्यायमा परेको घरमा आउदैन
निर्दोषिको घरमा आउदैन

आउँछ त बस्, धनीको घरमा 
दोषीलाई जोगाउन अन्याय 
गर्नेको घर आँगनमा
एक बच्चिलाई मारिदियो 
एउटाले बलात्कार गरेर 
भनिदेउ तिम्रो ईश्वरलाई 
के दोष थियो त नानीको?

उनको उमेर खोसियो 
उनको आमाबुबा खोसियो
उनको इच्छा खोसियो 
उनको साथी खोसियो 
सबैभन्दा महत्त्वपूर्ण 
उनको जीवन खोसियो 

अपराधी खुलेआम घुम्दछ
पैसा र पावरले कानुन किन्छ
तिम्रो ईश्वरले अब 
दोषीलाई कैले नर्कमा वास देला
अनि कहिले पाउनेछन् ती 
निर्दोष बालिकाले न्याय?

यहाँ एक निर्दोष बालिकाको 
ज्यान लियो 
अनि दोषीलाई कारबाही गर्न 
मृत्यु कुरिरहेको छ।

कस्तो न्याय तिम्रो ईश्वरको ?
कस्तो कानून तिम्रो ईश्वरको ?
कस्तो नीति तिम्रो ईश्वरको ?
भन! ईश्वरको ठेकेदार 
कस्तो नीति तिम्रो ईश्वरको।
 

प्रकाशित मिति: : 2021-05-01 15:58:00

प्रतिकृया दिनुहोस्