वीरगन्जमा एक दिने पढाई मेला कार्यक्रम सम्पन्न

तस्बिरः बिएल

वीरगन्जमा राष्ट्रिय प्रारम्भीक कक्षा पढाई अन्तर्गत विद्यालयस्तरमा आयोजित एक दिने पढाई मेला कार्यक्रम सोमबार सम्पन्न भएको छ।

विद्यार्थीको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै आधारभूत तहका विद्यार्थीहरुको पढाइ सुधार गर्न वीरगन्जको छपकैया वडा नं. १ स्थित श्री रामदेनी तिवारी आधारभूत विद्यालयमा एक दिने सिकाइ मेलाको आयोजना गरिएको थियो।

मेलामा विद्यालयका कक्षा ६, ७ र ८ का विद्यार्थीले विभिन्न शैक्षिक सामग्री, घर, माटोको भाडालगायत चित्रहरुको प्रदर्शनी गरेका थिए।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले मेलामा बालबालिकाले बनाएका सामग्रीहरुको अवलोकन गर्दै उत्कृष्ट तीन बालबालिकालाई पुरस्कृत गरेका थिए।

मेयर सरावगीले विद्यालयमा विद्यार्थी संख्या अनुसार भवन अभाव भएको भन्दै आउँदो आर्थिक वर्षमा रामदेवी तिवारी आधारभूत विद्यालयको लागि विशेष बजेट छुट्टयाउने जानकारी गराए।

उनले विद्यार्थीहरुको कला सिप र क्षमतामा देख्दा आफू अति नै खुसी भएको बताए।

शिक्षाको मेरुदण्ड आधारभूत शिक्षा नै रहेकाले पूर्वाधार बलियो बनाउनुपर्नेमा जोड दिँदै मेयर सरावगीले विद्यालयमा विद्यार्थी संख्या अनुसार शिक्षक समस्याको अभावलाई पनि चाडै समाधान गरिने बताए।

युएस एआइडि अमेरिकी जनताबाट २ लाख सहयोग प्राप्त भएपछि कक्षा १, २ र ३ का बालबालिकाको सिकाई प्रभावकारी बनाउन आजदेखि श्री रामदेनी तिवारी आधारभूत विद्यालयमा प्रारम्भीक कक्षा सञ्चालनमा आएको विद्यालयका प्रध्यानाध्यापक चन्देश कुमार चौहानले जानकारी दिए ।

त्यसैगरी पढाई मेलामा कक्षा १ देखि ३ सम्मका ७- ७ जना राम्रो पढ्ने, लेख्ने तथा निरन्तर विद्यालय आउने लगनशील ३० विद्यार्थीलाई प्रोत्साहन पुरस्कार दिइएको थियो।

प्रारम्भीक कक्षा सञ्चालनमा आएपछि विद्यार्थीलाई गुणात्मक शिक्षा प्रदान गर्न सहयोग पाएको प्रध्यानाध्यापक चौहानको भनाई रहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार पाण्डेको अध्यक्षता तथा शिक्षिका दिक्षा सुवेदीको सहजिकरणमा भएको कार्यक्रममा उपमेयर शान्ति कार्की, पर्सागढिका मेयर लोकनारायण यादव, सामुदायिक परिचालक अधिकृत विक्रम प्रसाद लगायत अभिभावक तथा शिक्षक शिक्षीका र विद्यार्थीहरुको सहभागिता थियो।

प्रकाशित मिति: : 2019-09-16 22:55:50

प्रतिकृया दिनुहोस्