प्रदेश १

प्रदेशसभा अधिवेशन अन्त्य, मुख्यमन्त्रीले बोल्न पाएनन्

विपक्षी दलहरुको विरोधपछि प्रदेश १ को सातौँ प्रदेशसभा अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुखको पत्र सभामुख प्रदिपकुमार भण्डारीले बाचन गरेका छन्।

माघ ७ गते सुरु भएको प्रदेशसभा अधिवेशनको अन्तिम दिन प्रदेशसभालाई सम्बोधन गर्न मुख्यमन्त्री शेरधन राई उपस्थित भएपनि विपक्षी दलको विरोधको कारण बोल्न पाएनन्।

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गरिरहेका थिए।

प्रदेश सरकारले विपक्षीसँग सहमति खोज्नुभन्दा अधिवेशन नै अन्त्य गर्ने निर्णय लिएको छ।

आइतबारको बैठक पनि सुरु हुनसाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए।

सभामुख भण्डारीले विपक्षी दलहरुले उठाएको विषयको जवाफ दिन मुख्यमन्त्री उपस्थित भएको भन्दै सांसदहरुलाई बस्न अनुरोध गरेका थिए।

तर, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफ्नै आसनबाट मुख्यमन्त्रीको भाषण सुन्न आफूहरु नआएको बताउँदै आफ्ना मागहरुको व्यवहारिक सम्बोधन नभएसम्म बेठक चल्न नदिने बताएपछि मुख्यमन्त्रीले सम्बोधन गर्न पाएनन्।

प्रदेशसभाको यो अधिवेशनको कुनैपनि बैठकमा उपस्थित नभएका मुख्यमन्त्री राई अधिवेशन अन्त्य गर्ने निर्णय प्रदेश प्रमुखको कार्यालयमा पठाएर बैठकमा सम्बोधन गर्ने भन्दै सभामा पुगेका थिए।

तर, विपक्षीको विरोधले सम्बोधन गर्न नपाई फर्कनुप-यो। विपक्षीले विरोध जनाइरहेको बेला प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको पत्र सभामुख भण्डारीले पढेर सुनाएका थिए।

बिधेयक अधिवेशनको रुपमा चिनिने हिउँदे अधिवेशनमा एउटा पनि बिधेयक प्रदेशसभामा टेबलसमेत भएन।

प्रदेश सरकारले कृषि अनुदानसम्बन्धि एउटा बिधेयक प्रदेशसभा सचिबालयमा लगेको भएपनि प्रदेशसमा त्यसले प्रवेश नपाई सरकारले अधिवेशन अन्त्य गरेको हो।



प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

प्रकाशित मिति: : 2021-04-18 14:49:00

प्रतिकृया दिनुहोस्