परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ। बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन सङ्कटमा परेका हुन्। मानिसको दैनिक जीवनयापन गर्नका लागि बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको हो।
रैथाने सीप र प्रविधिको प्रयोग गरी वर्षौँ पहिलेदेखि बनाइएका सामान लोप हुने अवस्थामा छन्। म्याग्दीका ग्रामीण भेगहरुमा अन्न पिसानी गरिँदै आएको पानीघट्ट लोप हुँदै जान थालेपछि यसको संरक्षणका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।
हिमाली जिल्ला म्याग्दीमा पछिल्लो सयम गाउँ–गाउँसम्म नै बिजुली बल्न थालेपछि कुटानी पिसानीका लागि विद्युतीय मिल सञ्चालनमा आएपछि पानीघट्टको माग कम हुँदै गएको छ। पानीघट्टमा पिँधेको पीठोबाट बनेका रोटी, ढिँडोलगायतका परिकार स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिकोणले पनि बहुउपयोगी हुने स्थानीय बासिन्दा बताउँछन्। त्यसका साथै एक दशकअघिसम्म परम्परागत ग्रामीण जीवनको अभिन्न अङ्गजस्तै बनेको पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नुपर्ने आवश्यकता छ।
पानीघट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भए पनि यस्ता रैथाने सीपको संरक्षण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन्। पुराना सीप र प्रविधिका साधनहरु पानीघट्ट, ढिकी, जाँतो, कोलजस्ता साधनको संरक्षण र प्रचारप्रसार गर्नका लागि सरकारी निकायबाट आवश्यक सहयोग गर्नुपर्ने बेनी नगरपालिका–५ चिप्लेटीका चुँधारा श्रीकृष्णलाल विश्वकर्माले बताए।
पुरानो प्रविधि र सीपसँग जोडिएको साधनलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जर्गेनाका लागि स्थानीय सरकार पनि चनाखो हुनुपर्ने बताइएको छ। म्याग्दीको पश्चिमी क्षेत्रका गुर्जा, रुम, ओखरबोट, मराङलगायतका गाउँमा फाट्टफुट्ट रूपमा पानीघट्ट चल्ने गरेका छन्। पानीघट्टका साथै परम्परागत सीप र प्रविधिका ढिकी, जाँतो, कोलजस्ता पुराना प्रविधि हराउँदै जाँदा संरक्षणको अभावसमेत देखिएको छ। पुराना सीप तथा प्रविधिका साधनको संरक्षणका लागि नगरपालिकामार्फत आवश्यक पहल गरिने बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको भनाइ छ। पुराना पुस्ताको सीप, मेहेनत र परिश्रम नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा परम्परागत कुटानी पिसानीका साधनको अस्तित्व नै सङ्कटमा परेको उनले बताए।
बेनी लभ्लीहिल जोड्ने पदमार्ग निर्माण
म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्गको निर्माणकार्य सकिएको छ। म्याग्दीको सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तव्यको रूपका विकसित भइरहेको बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ।
म्याग्दी नदीमाथि रहेको बेलिब्रिज नजिकबाट लभ्लीहिलसम्म पुग्ने पदमार्ग निर्माणमा बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि लभ्लीहिलसम्म पुग्नका लागि मोना–बेनी–लभ्लीहिल पदमार्ग नामाकरण गरिएको पदमार्गको गत २०७५ भदौ ८ गते शिलान्यास गरिएको थियो। बेनी–बगरफाँट सडक नजिकबाट शुरू गरिएको पदमार्गको ढलानसहित आवश्यक संरचना बनाइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए।
उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई चिनाउने अभियानलाई पदमार्ग निर्माणमा बेनपाले ५० प्रतिशत, मोना आइइसीले ४० र म्याग्दी उवासङ्घले १० प्रतिशत रकम व्योहोर्ने त्रिपक्षीय सहमति भएको थियो। तीन सय ९५ मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलिङसहितको पदमार्ग निर्माण गर्न मोनाले करीब रु ३२ लाख आर्थिक सहयोग गर्नेछ। पदमार्गको प्रारम्भिक चरणमा रु ५७ लाख आठ हजार ९०६ लागत अनुमान गरिए पनि रु ७९ लाखमा पदमार्ग निर्माण भएको हो।
पदमार्गसँगै नगरपालिकाले लभ्लीहिलमा युद्ध स्मारिका उद्यानसहित डिभिजन वन कार्यालयले समेत वन वाटिका बनाइएको बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बताए। सामुदायिक वन उपभोक्ता समितिलाई समेत आम्दानी हुने गरी फलफूलका विरुवाका साथै ठाँउ–ठाँउमा आवश्यकताअनुसार सानो बगैंचा र विश्रामस्थलसमेत बनाइएको छ।
बेनीको शिरमा अवस्थित लभ्लीहिलमा नगरपालिकासहित विभिन्न सङ्घसंस्थामार्फत आरामदायी बेन्च, गोलघर (भ्यू प्वाइन्ट) र चौतारीलगायतका संरचना बनेका छन्। बेनीदेखि आधा घण्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम, उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ। रासस