भारतको बाटो हुँदै कुवेत लैजान खोजिएका तीन महिलाको उद्धार

बिएल

अवैध बाटो रोजेर विदेश हिडेका तीन महिलाकोे उद्धार गरिएको छ। भारत हुँदै अवैध रूपमा कुवेत जान हिडेका तीन महिलाको उद्धार गरिएको हो। 

दलालको फन्दामा परि आकर्षक तलब दिने भन्दै अवैध बाटो रोजी विदेश हिँडेका ती महिलाहरूको उद्धार विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट मंगलबार साना हातहरू नेपाल नामक संस्थाले गरेको हो। दलालको निर्देशन बमोजिम ती महिलाहरू जोगवनीमा सरसामन किन्ने बहना बनाएर हिँडेका थिए। उनीहरूको साथमा तेल हाल्ने ड्रम पनि थियो। तेल किन्ने बहना बनाएर साथमा ड्रम बोकेर हिँडेका थिए।

नेपालको पहिलो उप–सभामुख कमल राणा भन्छिन्– बिपी जस्तो नेता अहिलेसम्म कोही छैन (भिडियोसहित)

‘सोधपुछको क्रममा दलालको फन्दामा परि विदेश हिडेको खुल्यो,’ साना हातहरू नेपाल विराटनगरका स्टेशन म्यानेजर दिवश श्रेष्ठले भने, ‘दलालले नेपालको विमानस्थल प्रयोग गरी विदेश जाँदा महँगो पर्ने भएकोले भारतको बाटो रोजेको भनेका रहेछन्।’ काठमाडौंका सुरज तामाङ र इनरुवाको लक्ष्मण रामले ती महिलाहरू अवैध बाटो प्रयोग गरी विदेश पठाउने क्रममा हामीले फेला पारेको साना हातहरू नेपालका स्टेशन म्यानेजर श्रेष्ठले जानकारी दिए।

उनीहरू मध्ये २ जनाको पासपोर्ट थियो भने एक जनाको थिएन। उनीहरू इटहरी, मोरङ र चितवनकी महिला हुन्। विदेश पठाउने दलालले एक जना महिलासँग ८० हजार पनि लिएको बताइएको छ। ती महिलालाई विदेश पठाउने दुवै जना एजेन्ट अहिले फरार छन्। तीनै महिलालाई एकै ठाउँमा जम्मा पारेर मंगलबार साँझ दलालले पठाएका थिए।

‘विदेश जाने भिषा आइसक्यो भन्दै ती महिलाहरूलाई इटहरीमा भेला पारेर हिँडाएका रहेछन्,’ ती महिलाहरूको भनाइ उधृत गर्दै श्रेष्ठले भने, ‘भारत पुगेपछि भिषा र प्लेन टिकट दिने भनेका रहेछन्।’ उद्धार गरिएका महिलालाई बिहीबार प्रहरीमार्फत आफन्तको जिम्मा लगाइएको छ।

प्रकाशित मिति: : 2019-09-12 19:34:30

प्रतिकृया दिनुहोस्