गोकुले जहिले पनि हुलाकको सारा काम सकेर नरदेवीको भट्टी पसलमा पस्थ्यो। टन्न रक्सी पिउँथ्यो। रक्सी पिएपछि ऊ अंंग्रजी फरर बोल्न सक्थ्यो। कहिलेदेखि बिर्सिसकेका कुराहरू सम्झन सक्थ्यो।
घरका स्वास्नी, छोराछोरी र बूढी आमालाई पनि सम्झन भ्याउँथ्यो। गोकुलेको दिनचर्या सधैँ एकै किसिमले बित्थ्यो। घरबाट अफिस आउनलाई दुई घण्टा पैदल हिँड्नुपथ्र्यो, जहाँ सानो एउटा बजार छ।
ऊ घरबाट अफिस आउँदा एकदम जोश जाँगरका साथ आउँथ्यो र अफिसको काम पनि जोश, जाँगर लगाएर विश्वासिलो काम गथ्र्यो। जब ऊ अफिसबाट बाहिरिन्थ्यो। सरासर नरदेवीको भट्टीमा पस्थ्यो। एक दुई घण्टापछाडि खुट्टा लरबराउँदै निस्कन्थ्यो।
सडक अगाडि छेउमा रहेको आफ्नो छोराको शालिक अगाडि गएर निकैबेर भाषण छाँट्थ्यो। उसको जेठो छोरो २०६३ सालको जनआन्दोलनमा शहीद भएको थियो।
गोकुले जागिरे भए पनि उसले छोराछोरीलाई कापी, कलम किनिदिएन। दशैँमा बाहेक अरुबेला एकजोर कपडा किनिदिएन। ऊ नरदेवीको भट्टी पसल, विश्वको शालिक, हुलाक कार्यालय र आफ्नो घरभन्दा अन्त बरालिएर हिँडेन पनि।
गोकुलेका दुई वटी छोरी र दुईभाइ छोरामध्ये जेठो छोरो सत्र वर्षको थियो। जनआन्दोलनमा ज्यान गुमाएपछि दुईवटी छोरी र एक छोरो बाँकी थिए। जेठी छोरी ईशारा कक्षा पाँचमा पुगेकी थिई। पाँच कक्षामा पुगे पनि ऊसँग विषय नै पिच्छेका कापी हुँदैनथे। कलमको मसी छिट्टै सकिन्छ भनेर मन लागिन्जेल लेख्न पाउँदिनथी।
आमाले उसलाई सानो भाइ हेरेर घरमै बस्न भनिन्। अनि ऊ भाइ हेरेर घरमै बस्न थालेकी थिई। उसकी आमा सधैँ घरधन्दा गर्ने, मेलापात जाने, गाईबाख्रा हेर्ने, जंगलमा गएर घाँस दाउरा गरेर परिवार पाल्नमै व्यस्त हुन्थी। ईशाराकी बहिनी जुना भर्खर स्कुल जान थालेकी थिई।
गोकुलेको घरछेउको छिमेकी सोमनाथ थियो । उसलाई सबैले माझघरे भन्थे । माझघरे काठमाडौं बसाइँ सरेपछि गोकुलेको घर एकान्तमा पर्यो। माझघरे मालपोतमा काम गथ्र्यौ। उसले टन्न कमाएर काठमाडौं बसाइँ स¥यो तर गोकुलेको जीवनशैलीमा कहिल्यै परिवर्तन आएन।
एक दिन माझघरे आएर ईशाराले मेरो घरको काम पनि सघाउँछे, जतिसम्म पढे पनि सहरमा पढाइदिन्छु भनेपछि गोकुलेले छोरी जिम्मा दियो। इशारा पनि खुशी नै थिई। जाने बेलामा उसकी हजुरआमाले आँखाभरि आँशु पारिन्। ईशारालाई भाइको ज्यादै माया लागेर आयो। ईशारा बाटो लाग्दा भाइले पच्छ्यायो, गोकुलेले समात्यो। पर पुगेपछि पनि ईशाराले पछाडि फर्केर हेरी भाइ बुवाको हातबाट फुत्कन बल गर्दै रोइरहेको थियो।
ईशारालाई माझघरेले काठमाडौं लगेर सरकारी स्कुलमा लगाइदियो। माझघरे दिनभरि अफिसको काममा व्यस्त हुन्थ्यो। उसकी श्रीमती आभा किराना पसलमा बस्थी। ईशारा घरको सबै काम सकेर माझघरेका छोराछोरीलाई बोर्डिङमा छोडिदिन्थी र त्यही बाटो भएर विद्यालय जान्थी।ईशारालाई बेलुका स्कुलबाट फर्केपछि साह्रै नरमाइलो लाग्थ्यो किनकि घरमा त उसलाई बूढी हजुरआमा र सानो भाइले कुरिरहेका हुन्थे तर त्यहाँ उसलाई पर्खिने र खोज्ने कोही थिएनन्। ईशारालाई भाइको यादले सताइरहन्थ्यो- कस्तो भयो होला, कत्रो भयो होला, के गर्दै होला भनेर।
माझघरे र आभा आफ्ना छोराछोरीको विद्यालय गइरहन्थे तर ईशारालाई स्कुल हालेदेखि एकपटक पनि पढाइको बारेमा सोधखोज गरेनन् । ईशारा कक्षामा सधैँ पहिलो हुन्थी। ऊ धेरै खुशी हुन्थी। तर उसको खुशीमा खुशी भइदिने त्यहाँ कोही थिएन। आभा जहिले पनि पसलबाट आउँदा थकित मुद्रामा असन्तुष्ट अनुहार लिएर आउँथिन्। ईशारालाई आभादेखि साह्रै डर लाग्थ्यो।
ईशाराले एस.एल.सी. पास गरी। आभाले यो टुहुरी केटी हो भनेर विभिन्न संघ संस्थाहरुको सहयोगमा कलेज हालिदिइन्। ईशारालाई आभासँग कुनै गुनासो थिएन किनकि ऊ गाउँमै भएकी भए पाँच कक्षाभन्दा पढ्ने पनि थिइन र यो रंगिन दुनियाँको कुनै जानकारी हुने थिएन। ती संघ संस्थाहरुले टुहुरा तथा असहायहरुलाई आत्मनिर्भर बनाउने उद्देश्ले विभिन्न सीपमूलक तालिमहरुको आयोजना गर्थे।
केही वर्ष सीपमूलक तालिम लिइसकेपछि ईशारा आफ्ना खुट्टामा उभिन सक्ने भइसकेकी थिई। उसले वि.ए. सम्मको अध्ययन पूरा गरी। ऊ काठमाडौं आएदेखि एकपल्ट पनि गाउँ फर्केकी थिइन। जाने मन त पहिलादेखि नै थियो तर उसले धेरै सपनाहरु पूरा गर्नु थियो। यसपटक भने उसले गाउँ जाने सपना पूरा गर्ने भई। उसले आभासँग बिदा मागी र गाउँ लागी।
ईशारा वर्षौपछि गाउँ फर्केकी थिइ। अति सामान्य परिवारकी छोरी थिई ऊ। गाउँमा धुलो र माटोमा हुर्केकी ऊ सहर गएर सुकिली भएकी थिई। उसलाई गाउँमा यो गोकुलेकी छोरी हो भनेर कसैले चिन्दैनथे।
गाउँका अलिकति शिक्षित मानिस शहरतिर बसाइँ सरिसकेका थिए। युवाहरु विदेश पसेर अलिअलि कमाएर तराईतिर बसाइँ सरे। तराईमा अन्न उब्जाउने ठाउँसम्म नराखी जताततै घरहरु बने तर ईशाराको गाउँ सुनसान थियो।
साँझ ऊ आफ्नो घर भएको ठाउँमा पुगी तर त्यहाँ उसको घर थिएन। म भ्रममा पो परें कि? कि मैले आफ्नो घर काठमाडौंसँग गुमाएर आएँ? भनेर वरपर हेरी। घरमुनिको काब्राको ठूलो रुख धमिरा लागेर लड्न आँटेको देखी। आँगनको डिलमा रहेको अम्बाको बोटमा लटरम्मै अम्बा फलेका थिए। त्यसलाई एकछिन नियाली।
घरपरतिरको बाँस झ्याङमा चराहरु चिर्बिर् गर्दै बास बस्न लागेको सङ्केत सुनिदै थियो। पहिला घर भएको ठाउँमा घरको अवशेषमात्र देखिन्थ्यो। त्यहाँ ढुङ्गैढुङ्गा र थोत्रे कपडाहरु छरिएका थिए। रात छिप्पिँदै गयो, उसलाई डर पटक्कै लागेन।
उसले जतिजति बाल्यकालका घटनाहरु सम्झिन्थी। उती उती उसका आँखा रसाउँथे । ऊ त्यही थचक्क बसी। रुँदारुँदै अन्धकार भयो। छमछम चुरा बजाउँदै उसकी आमा आइन्। आमाले उसलाई खीर ल्याइदिएकी थिईन्। ईशारा छक्क परी। घरमा धानको भात खान मुस्किल पथ्र्यो, खीर खान पाउँदा।
वर्षौंपछि आमालाई देख्दा ईशारालाई आफ्नै आमा अनौठो र बेग्लै लाग्यो। आमाको कपाल धेरै दिनदेखि नकोरिएको, लट्टा परेको र लामो थियो। आमाले धेरैबेर दुःख पोखिन्। आमाका हातपाउ जंगली काँडाले छियाछिया भएका थिए। ईशाराले आमालाई हेरिरही। घरीघरी आमा बिनाप्रसंग खित्का छोडी छोडी हाँस्थिन्। ईशारालाई आफ्नै आमा बिरानो लाग्यो। डर पनि लाग्यो।
ईशाराले सोधी- ‘आमा, भाइबहिनी र बुबालाई देख्दिन नि?’
‘ईशारा राम्रोसँग सुन्। तँ बुबालाई खोज्न नरदेवीको भट्टी पसलमा जा!’ आमाले यति भनिसक्दा ईशारालाई शङ्का लाग्यो, ‘कतै बुबाले नरदेवीसँग विवाह गरेर उतै बस्नु भएको त छैन?’
आमा भन्दै गइन्, ‘तँ भाइलाई खोज्न बस स्टेसनतिर जा!’
यति भनिसक्दा ईशाराले सोची, ‘कतै भाइ गुण्डा, बदमास र पाकेटमार त भएको छैन?’
‘अनि बहिनी चाहिँ?’ बहिनी सोधेपछि आमा बेस्सरी हाँसिन्।
ईशाराले आमा त्यसरी हाँसेको सानामा कहिल्यै देखेकी थिइन। उसले छक्क परेर आमाको आँखामा हेरी रही। आमाका आँखा अनौठो र अर्कै संसारबाट आएजस्ता देखिन्थे।
उसले देखी-आमाका खुट्टाहरु जंगली काँडाले कोतारिएका र रगत बगिरहेका। ईशारालाई आमाको अति माया लाग्यो। उसले रुँदै आमालाई अँगालो हाल्न हात फिँजाएर गई तर आमा अट्टा हाससँग हाँस्दै हुन्न ईशारा मलाई नछो भन्दै पछाडि—पछाडि सरिन्। ईशारा अगाडि बढी। उसले देखी आमाको ढाड पूरै खोक्रो थियो। खुट्टाहरु पछाडि फर्केका र पैताला फर्केका थिए।
ईशारा जोडले चिच्याई, ‘आमा....मा........मा!’
आमा त्यहाँबाट यति छिटो बिलाइन्। आँखा झिमिक्क झिम्क्याएर खोल्दा आमा कतै थिइनन्। ईशारा बेलुका थाकेर आएकी थिई। ऊ घरको अवशेष भएको ठाउँमा बसेर रुँदारुँदै निदाएकी थिई। आमा भनेर चिच्याएर व्युझिँदा झलमल्ल घाम लागिसकेका थिए।
रातभर चिसो भुइँमा ढुङ्गैढुङ्गा त्यसमाथि भोको पेट पल्टिएकी ईशारा ब्युझिँदा जीउ दुखेर उभिनै नसक्ने भएकी थिई। बल्लतल्ल त्यहाँबाट उठी कस्तो सपना देखें। ‘नाईँ मेरी आमालाई केही भएको छैन’ भन्दै गाउँ भएको ठाउँतिर हिँडी। हिँड्ने बेलामा उसले घरको अवशेषमा एकपटक ढोगी। खै किन ढोगेकी हो। उसलाई न त भगवानप्रति नै विश्वास लाग्थ्यो। न त भूत, चुँडेलप्रति।
ईशारा दुई घण्टा पैदल हिँडेपछि बजार आइपुगी। त्यहाँ परैबाट बुबाको अफिस देखी। ऊ त्यतै हेरेर टोलाउँदै हिँडिरहेकी थिई। पछाडिबाट कसैले कोट्याउँदै ‘ईशारा’ भन्यो। उसले फर्केर हेरी। एकछिन हेराहेर भएपछि ईशाराले प्रष्ट चिनी उर्मिला रहिछे। उनीहरु गाउँमा सँगै भाँडाकुटी खेल्थे। उर्मिलाको घर ईशाराको घरदेखि निकै पर थियो तर खेल्नकै लागि धाएर आउँथी। ईशारामा खुसीको सीमा रहेन।
यसरी नै आफ्ना परिवारसँग पनि हिँड्दा हिँड्दै जम्काभेट हुन्छ भन्ने सोची। उर्मिलाले सोधी- ‘ईशारा तँ कहाँ छेस्? के गर्दै छेस्? अहिले कताबाट आएकी?’
ईशाराले काठमाडौंबाट हिँडेदेखिका सबै कहानी बताई। ‘ईशारा, यहाँ धेरैबेर उभिएर गफ नगरौँ । हिँड मेरो घरतिर गफगर्दै जाऊँ । हाम्रो बुवाआमा परारकै साल तराईतिर बसाइँ सर्नुभयो। मेरोचाहिँ यहाँ बिहे भयो। म तेरा बुवाआमाको बारेमा पनि तँलाई सबै कुरा भन्छु। म पनि अहिले फुर्सद नै छु। बरु हिँड् माथि कोठामा सजिलो गरी बसौँ।’
हुन्छ उर्मिला! मलाई खुल्दुली भइसक्यो। छिटो भन् सबै कुरा। ईशारा तँलाई थाहै छ– तेरो बुवा धेरै रक्सी पिउनुहुन्थ्यो। विश्वको अकाल मृत्युदेखि त झन् बढी पिउनुहुन्थ्यो। उहाँ नरदेवीको भट्टी पसलमा रक्सी पिउँदा पिउँदै मुटु फुटेर बित्नुभयो।
यति भनिसक्दा ईशारा असहज भई। ऊ डाको छोडेर छाती पिटिपिटी रुन थाली। उर्मिला उसलाई त्यही छाडेर बाहिर गई। निकैबेर पछाडि एक गिलास चिसो पानी लिएर भित्र पस्दा ईशारा सम्हालिइसकेकी थिई। उसले बाँकी कुरा बताउन अनुरोध गरी।
‘ईशारा, तँ यसो गर्छेस् भने म तँलाई यहाँभन्दा बढी केही सुनाउन सक्दिनँ।’
‘सबै कुरा भन् उर्मिला, मैले सबै कुरा बुझ्नु छ। अब म सबैकुरा धैर्य गरेर सुन्छु।’
‘ईशारा, तेरी आमा बुबाको मृत्युको पीडा र गरीबीले कमजोर बन्नुभएको थियो। सधैँ जङ्गल र घाँस दाउरा नगरे दुई छाक टार्न नसकिने। जंगलको बीचमा रहेको सुकेको रुखको हाँगा तान्दा तान्दै रागे भीरबाट खसेर क्षतविक्षत भइन् र कहिल्यै उठिनन्। त्यसको प्रत्यक्षदर्शी म! आमा र बिरेनी काकी थियौँ। हामीले गाउँमा खबर गर्यौँ। त्यो भीर यस्तो थियो कि कोही जान नसकिने त्यसदिन धेरै प्रयास गर्दा पनि लाश निकाल्न सकिएन। भोलिपल्ट जाँदा जङगली जनावरहरुले चोक्टा लुछी सकेका थिए। त्यहाँ धेरै दिनसम्म काग र गिद्धहरु घुमिरहेका देखिन्थे।’
ईशारा अघिदेखि घोप्टो परिरहेकी थिई। कुरा सुन्दै छे कि छैन भनेर उर्मिला सोधी, ‘ईशारा, तँ मेरा कुरा सुन्दैछेस्?’
‘सुन्दैछु। छिटो भन् अरु।’ यो घटनाबाट पागलजस्तै भएकी तेरी बहिनी जुना त्यस दिनदेखि कहाँ गई, कसैलाई थाहा छैन।
‘ए भाइको बारेमा त झण्डै भन्न बिर्सेकी! सानो भाइ तँ शहर जाँदा पछ्याउन बल गरिहेको थियो। भरे बुबाको हातबाट फुत्किएपछि कतै नहेरी कुद्दै थियो। निकै टाढा पुगेछ। खेल्न गयो होला भनेर कसैलाई वास्ता भएन। ट्याक्टरले किचेर ठहरै भएछ।’
यति भनिसकेर उर्मिला घोप्टो परेकी ईशारालाई उठाएर हेर्छे। ऊ कति बेला बेहोश भइसकिछे। उर्मिलाले पानी ल्याएर छ्यापी। हातखुट्टा माडिदिई।
एकछिनपछि ईशारा होशमा आई। बिलौना गर्दै बेस्सरी रोई– ‘मेरो भाइ म सहर नगएकी भए मलाई पछ्याउने पनि थिएन र मर्ने पनि थिएन। मेरी आमालाई मैले घरमै बसेर काम सघाएकी भए बुढेसकालमा रातदिन घाँस दाउरामा घोटिनुपर्ने थिएन। म घरमै बसेकी भए मेरी बहिनी जुना स्कुल जान पाउने थिई। म हुर्किएकी छोरी सहर जानाले यो सब घटना भएको हो। मैले मेरा परिवार मासेर बी.ए.को प्रमाणपत्र कमाएँ। यो सब धिक्कार छ। म मेरा परिवारको हत्यारा हुँ। मलाई सजाय दिनुपर्छ।’
ऊ अति भाव विह्वल भएर रुन थाली। उसले खाटमा भुइँमा जताततै मुड्किले हानेर हातहरु रगताम्मे बनाई। कोठाका सामानहरु यत्रतत्र छरी।
ईशारा एक महिनासम्म उर्मिलाकै घरमा बसी। त्यो समय उर्मिलाले उसलाई धेरै कुरामा सहयोग गरी। परिस्थिति सामान्य बन्दै गयो। ईशारासँग सीप थियो, शिक्षा थियो, जाँगर थियो। उसले बाँकी शिक्षा पनि पूरा गर्ने र एउटा विद्यालय चलाउने उद्देश्य बनाई। यसका लागि उसले धेरै संघर्ष गर्नु थियो।
ईशारालाई बहिनीको खोजी नगरी केही गर्ने जाँगर चलेन। ऊ ११ वर्षमै गाउँ छोडेर हिँडेकी थिई। उसलाई अब भाइ, बहिनी र आमाबुबाको तस्बिर ठ्याक्कै याद हुन छोडिसकेको थियो। झल्याकझुलुक अलि–अलि याद आउँथ्यो। फेरि स्मृतिबाट तत्काल हराउँथ्यो।
जुनालाई खोज्न उसको बनोट सम्झिन खोज्थी तर स्मृतिबाट हराइसकेको थियो। उसलाई काठमाडौँबाट एकपटक पनि घर नफर्केकोमा पछुतो भयो।
एक दिन ईशारा बिहानै घुम्न निस्किई। ऊ नरदेवीको भट्टी पसलभित्र पसी। रक्सी पिउनेहरुको निकै घुँईचो थियो। ईशाराले रक्सी पिउनेहरु जति सबैको अनुहारमा बुवाको रुप देखी। ऊ त्यहाँबाट निस्किई र पैदल हिँड्दै रागे भीरमा पुगी।
रागे भीरबाट तल हेरी। उसलाई पनि एकपटक त त्यहाँबाट हाम फालूँ कि जस्तो भयो। वरतिर परतिर पल्याकपुलुक हेरी। घाँस, दाउरा गर्ने स्वास्नीमान्छेहरु उसलाई हेरिरहेका थिए। ती सबैमा आमाको तस्बिर देखी।
त्यहाँबाट पनि फनक्क फर्केर घरको अवशेष भएको ठाउँमा पुगी। साँझ परिसकेको थियो। सुनसान ठाउँ, वरिपरी जंगल, औंसीको निष्पट्ट अन्धकार ईशारालाई डर भन्ने पटक्कै लागेन। मेरो भाइ र आमा भूत, चुँडेल भएर आए पनि हुन्थ्यो भन्ने सोची तर निकै रातीसम्म पनि न त्यहाँ चुँडेल आयो न भूत।
खस्याङ्खुसुङ् गर्दा पनि आमा चुँडेल बनेर आउनुभयो कि भनेर झोलाबाट लाइट निकालेर हेर्थी तर त्यहाँ चराचुरुङ्गी, लोखर्के, मलसाप्रो बाहेक केही देख्दिनथी। अस्ति जस्तै निदाएपछि सपनामा आमालाई देख्छु कि भनेर त्यही ढुङ्गामाथि चिसो भुँइमा ढल्किई तर कति प्रयास गर्दा पनि निदाउन सकिन। कति निदाउने प्रयास गरी तर अहँ, ननिदाई उज्यालो भयो।
ईशाराले आफ्नी बहिनी भेट्न सकिन। बहिनीको अनुहार नै याद छैन। कसलाई बहिनी भनेर कसरी खोज्ने? बिस्तारै–बिस्तारै उसका परिवारहरुको तस्बिर स्मृतिबाट हराउँदै गयो। उसले यी घटनाहरु बिर्सिदै गई। अब उसका आँखाहरुले खोजेका बेला स्मृतिबाट तस्बिर हराईसकेको थियो।