अभिभावकबिहिन २ बालकको जन्मदर्ता

१३ वर्षिय भोला साह कलवार र उनका दाई १५ बर्षिय राहुल साह कलवार जन्मदर्ता देखाउँदै । तस्बिरः बिमला

पर्साका अभिभावक बिहिन २ बालकको जन्मदर्ता भएको छ।

वीरगन्ज महानगरपालिका तथा आवर संसार बाल गृहको पहलमा वडा नं. ३२ बेल्वाका १३ वर्षिय भोला साह कलवार र उनका दाई १५ बर्षिय राहुल साह कलवारको जन्म दर्ता भएको हो।

दुई जना अभिभावकबिहिन दाजु भाइको वडा अध्यक्ष चुमन दास थारूको विशेष सकृयतामा जन्मदर्ता गराएका हुन्।

दुबै बालकको हजुरबुवाको मृत्यु भए लगतै ५ वर्ष पहिले बुवाको पनि क्यान्सर रोग लागेर मृत्यु भएको थियो। घरको आर्थिक अवस्था कमजोर भएकोले आमासहित दुवै दाजुभाइ वीरगन्ज तर्फ लागेका थिए।

बुवा बिनाको दुवै बालक आमाको सहारामा बाच्न थाले। तर, आमाले पनि दोस्रो विवाह गरेर हिँडेपछि दुवै बालक अभिभावकविहिन भएका थिए।

गाउँ छाडेर सदरमुकाम आएकाले आफन्तजन भेटाउन सकेनन्। आफन्तले पनि कहिल्यै खोजी गरेनन्। ८ वर्षिय भोलाका दाइ राहुलको उमेर त्यसबेला १० वर्षको थियो।

त्यसपछि दुवै बालक सडक बालबालिकाको रुपमा प्लाष्टिक टिप्ने र सडकमै दिनरात बिताउन थाले। केही समय पछि दाइ राहुल पनि भाइलाई छोडेर सीमा पारी भारत तिर गए। सानो भाई भोला एक्लै वीरगन्जको गल्लीमा सडक बालबालिकाको रूपमा दिन रात बिताउन थाले ।

सडकमा एक्लै भौतारिरहेका ८ बर्षे बालक भोलालाई पर्सा प्रहरीले चार वर्ष अघि सडक पेटीबाट उद्धार गरी वीरगंज–२१ लिपनीवर्तामा सञ्चालित आवर संसार बाल गृहको जिम्मा लगाएको थियो।

यसरी अभिभावक बिहिन बालक भोला संस्थाको संरक्षणमा रहेर परवानीपुरको मोर्डन सेकेन्डरी स्कूलमा अध्ययन सुरु गरे । कहिले स्कुल नपुगेको बालक अहिले कक्षा ४ मा अध्ययनरत छन्। पढ्नमा चनाखो भएकाले गृहमा विशेष शिक्षाको व्यवस्था गरी श्रेणी बढाएर उनको पढाई अगाडि बढाएको आवर संसार संस्थाका प्रमुख मुकेश साहले बताए ।

तर, संस्थाका प्रमुख साहका अनुसार अभिभावकबिहिन बालबालिकालाई बिना जन्मदर्ता विद्यालय पठाउन धेरै समस्या भएकाले संस्थाकै विशेष पहलमा निजी विद्यालयमा पठाए पनि सामुदायीक विद्यालयमा कठिनाई हुने बताए।

प्रमुख मुकेश साहका अनुसार अभिभावकबिहिन बालबालिकाको मुख्य समस्या भनेको जन्म दर्ता नै हो जसकारण कानुनी हरेक काममा कठिनाई हुने गरेको छ।

संविधानमा अभिभावकबिहिन बालबालिको जन्मदर्ता तथा नागरिकताको विषयमा वडा अध्यक्ष, जिल्ला बाल कल्याण तथा जिल्ला प्रशासन कार्यालयको सिफारीसमा बनाउने व्यवस्था भए पनि कतिपय परिस्थिमा सम्बन्धित व्यक्तिको ढिला सुस्तिल अभिभावकबिहिन बालबालिकाको जन्म दर्ता तथा नागरिकता प्राप्तिको अधिकारबाट उनीहरू बञ्चित हुनुपर्ने हुन्छ। तर, बेल्वाका वडा अध्यक्ष चुमन दास थारुले सहजै ती बालबालिकाको सूचक बनि जन्मदर्ता प्रदान गराईदिनु सराहनीय काम भएको बताए ।

गृहमा भोला आउँदा उमेर सानो भएको र अहिले उनले गाउँको नाम ठेगाना बताएपछि जन्म दर्ताको लागि बेल्वा पुगेको प्रमुख साहको भनाई छ।

वीरगन्जको लक्षमनवा १५ मा रहेको फुपुको घर पत्ता लागेपछि भारतको बैंङ्गलोर पुगेका दाइ राहुल अहिले फुपुको घरमा बसिरहेका छन्।

अहिले भने दुवै बालक जन्मदर्ता पाएर खुशी छन् ।

आवर संसार गृहमा अहिले अभिभावक बिहिन ६ जना बालक मध्ये १ जनाको जन्मदर्ता बनेको र अझै ९ वर्ष देखि १३ बर्ष सम्मका ५ जना बालकको जन्मदर्ता हुन सकेको छैन। तर, यसप्रति जिल्ला प्रशासन कार्यलयले गम्भिरतापूर्वक अनुसन्धान गरे ती बालकहरुले पनि जन्म दर्ता तथा नागरिकता पाउने प्रमुख साहको भनाई छ।

प्रकाशित मिति: : 2019-09-06 18:40:46

प्रतिकृया दिनुहोस्