पर्साको सिमावर्ती पकहाँमैनपुर गाँउपालिका क्षेत्रभित्र मादक पदार्थ सेवन तथा बिक्री बितरणमा लगाइएको रोक तत्काल कार्यान्वयन नगर्न पर्सा जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेको छ । गाउँपालिका प्रमुख बिजय चौरसियाले गाउँपालिकादाई मदिरा निषेधित घोषणा गरेपछि स्थानीय सबैठवाका ७ जना मदिरा बिक्रेता व्यापारी छुट्टाछुट्टै रिट निवेदन लिएर अदालत गएका थिए ।
आगामी भदौ ३० गते दुबै पक्षलाई छलफलका लागि बोलाइएको र त्यसपछि अन्तिम निर्णय दिने अदालतले जनाएको छ । त्यतिबेलासम्मका लागि निर्णय कार्यान्यवन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भएको रिट निवेदकका कानून व्यवसायी अधिवक्ता रामाश्रय साहले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले मदिरा सेवन गरी दैनिक रुपमा झैझगडा हुने, पारिवारिक बेमेल हुने जस्ता गतिविधि बढदै गएपछि सम्पूर्ण गाउँपालिकालाई नै मदिरा निषेधित क्षेत्र घोषणा गर्न गाउँपालिका बाध्य भएको बताए । उनले स्थानिय सरकारले मदिरा निषेधित क्षेत्र बनाउन कानुन नै बनाउन खोज्दा स्थानिय मदिरा व्यापारीले अवरोध सिर्जना गर्न खोजेको बताउँदै दु:ख पनि व्यक्त गरे ।
समाजमा बढदो महिला तथा घरेलु हिंसा, लुटपाट, चोरी झैगडाको मुख्य कारक तत्वको रुपमा रहेको अबैध मदिराभटी हटाउन बर्षेादेखी अवाज उठ्दै आएकोमा आफूले त्यसैको कार्यान्वयन गर्न खोजेको बताए । उनले गाउँपालिकाको निर्णय विपरित कसैले मदिरा सेवन गरी पकहामैनपुर गाउँपालिकामा प्रवेश गरेमा वा लुकिछिपी बेचविखन, उत्पादन तथा सेवन गरेमा समेत कडा कारवाही गरिने जनाएका थिए र गाउँ टोलमा रहेका सम्पूर्ण भठ्ठी पसल तथा रक्सी बिक्री वितरण गर्ने पसललाई पूर्ण रुपमा भदौ १५ गते देखि प्रतिबन्ध लगाउने निर्णय भएको पनि बताए ।
अदालतको अन्तरिम आदेशको सम्मान गर्ने बताउँदै उनले भदौ ३० गते अदालतले जनताकै पक्षमा निर्णय गर्ने कुरामा आफू आशावादी भएको पनि गाउँपालिका अध्यक्ष चौरसियाले बताए ।