प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ।
मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा प्रदेश नं २ मा बलात्कारका घटना बढ्न गएकाले यस्तो रणनीति तयार गर्न लागेको हो।
सो जघन्य अपराध गर्ने अभियुक्तलाई कम्तीमा सात वर्ष र बढीमा २० वर्षसम्मको सजाय हुने कानूनी व्यवस्था गरिएको छ भने अर्कोतिर श्रीमान्ले श्रीमतीको मञ्जुरीबेगर जबर्जस्ती शारीरिक सम्बन्ध राखे वैवाहिक बलात्कार हुने र मुलुकी अपराध संहितामा यस्तो घटनामा श्रीमान्लाई पाँच वर्षको कैद सजायको व्यवस्था गरिएको छ।
“प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य अपराध बढ्दै जानु प्रदेश सरकारका लागि चिन्ता तथा चुनौतीको विषय रहेको प्रदेश नं २ का आर्थिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवको भनाई छ। लागुऔषध सेवनकर्ता र दुव्र्यसनीको सङ्ख्या बढ्दै गएका कारण दण्डहीनताले प्रश्रय पाएपछि बलात्कारको घटना बढेर गएको छ।
“प्रदेश नं २ मा बढ्दै गएको बलात्कारजस्ता जघन्य अपराधलाई न्यूनीकरण गर्न सुरक्षा रणनीति बनाएर अघि बढ्ने प्रदेश सरकारको सोच रहेको छ”, प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री यादवले बताए। प्रदेश सरकारले दुव्र्यसनीमुक्त समाजको स्थापना गरी आउँदो आर्थिक वर्षसम्म यस्ता घटनामाथि नियन्त्रण गर्ने उनले बताए।
प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा बलात्कारका घटना १२९ ले बढेको छ। आव २०७४/७५ मा १७० बलात्कारका घटना घटेको थिए भने आव २०७५/७६ मा यो सङ्ख्या बढेर २९९ पुगेको छ। यसरी हेर्दा प्रदेश नं २ मा बलात्कारका घटना ६० प्रतिशतले बढेका छन्।
प्रदेश नं २ मा भएका बलात्कारको घटनामध्ये तीन जनाको बलात्कार गरी हत्या गरिएको थियो। बलात्कारको सिकार हुनेमा खासगरी सात वर्षीया बालिकादेखि ५० वर्षीया वृद्धासम्म रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अघिल्लो वर्ष देशभरिमा एक हजार ४८० को बलात्कार भएको थियो भने देशभरिमा प्रत्येक दिन चार महिला कुनै न कुनै रुपमा बलात्कारको सिकार हुने गरेका तथ्याङ्कले देखाएको छ।
बलात्कारजस्ता घटना लुकाउन पीडितले आर्थिक लेनदेन, लोकलाज र धम्कीका कारण लुकाउने गरेकाले अपराधीको मनोबल बढ्न गएकाले बलात्कारका घटना बढ्दै गएका प्रहरीको ठम्याइ छ।