बैंकको सिस्टममै नछिरी करोडौं रकम ह्याकरको हातमाः कमजोर बैकिङ सुरक्षा प्रणाली, अनुसन्धान गर्दै प्रहरी

बीएल

शनिबार काठमाडौंका विभिन्न स्थानका एटिएम बुथमा ८ चिनियाँ ह्याकरले नेपालको करौडौं रकम निकाले।

बैंकको सिस्टममै नछिरि करोडौं रकम निकालेकामध्ये पाँच चिनियाँ नागरिक पक्राउ परे।

तर, सोही समूहका ३ जना निकालेको केही रकमसहित फरार भए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार अहिलेसम्म चिनियाँ ह्याकरले १ करोड ६७ लाख रकम निकालेको पुष्टी गरे । तर, फरार ३ ह्याकर कति रकम लिएर कता भागेका छन् भन्ने जानकारी अहिलेसम्म मिलेको छैन।

नेपालका बैंक लुट्न उनीहरूले चीनमै योजना बनाएका थिए। योजनाअनुसार उनीहरू पर्यटकको भिसामा शुक्रबार नेपाल प्रवेश गर्दै सोमबार स्वदेश फर्कने तयारीमा थिए।

शनिबार मध्यान्नदेखि आइतबार बिहानसम्म नेपालका केही बैंक रित्तो पारेर सोमबार स्वदेश फर्कने योजना बनाए पनि उनीहरू प्रहरी फन्दामा परे। यद्यपि समूहका केही मान्छे रकम लिएर भाग्न सफल भए । उनीहरूको खोजीका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

यसरी भयो अप्रेशन

शनिबार अपरान्ह करिब ४ बज प्रभु बैंकको अपरेटर सिस्टममा बसेका एक कर्मचारीले प्रहरीलाई फोन गरे ।

उनले दरबारमार्गस्थित प्रभु बैंकको एटिएम बुथमा शंकास्पद गतिविधि भएको खबर प्रहरीमा गराए ।

खबर पाए लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होमेन्द्र बोगटीको नेतृत्वमा टोली दरबारमार्गतर्फ लाग्यो ।

बैंकका कर्मचारीले दिएको सूचनाका आधारमा उक्त एटिएम बुथमा एक चिनीयाँ नागरिक रकम निकालेर फर्कदै थिए । तत्काल प्रहरीले उनको झोला खानतलासी गर्दा  ४५ हजार नेपाली रूपैया बरामद भयो । 

तत्कालै बैंकले दिएको सिसिटीभी फुटेज हेर्दा त्यो व्यक्ति कयौंपटक ओहोरदोहोर गरेको देखियो ।

प्रहरीले उसको झोलाबाट २० वटा एटीएम कार्डसमेत फेला पार्यो । उसलाई न नेपाली बोल्न आउँथ्यो न अंग्रेजी । तर, ऊसँग होटलको ६०२ नम्बर कोठाको साँचो हुन्छ । त्यही साँचोको सहायताले प्रहरी होटलमा पुग्छ ।

साथी पक्राउ परेको सुईको पाएर होटलका थप चारजना चिनियाँ नागरिक पैसाका सुटकेस बोकेर होटलको भर्‍याङ ओर्लदै गरेका हुन्छन् । प्रहरीले ती सबैलाई नियन्त्रणमा लिन्छ । सुटकेस खोलेर हेर्दा पैसै पैसा ।

बैंकको सिस्टममै नछिरी करोडौं रकम झ्वाम

एटिएमबाट रकम चोरी गर्दै चिनीयाँ नागरिक

शनिबार पक्राउ परेका चिनियाँ ह्याकरले बैंकको सिस्टममै नछिरी प्रभु बैंक, हिमालयन बैंक र नबिल बैंकका एटीएमबाट डेढ करोडभन्दा बढी रकम निकालेका थिए ।

बैंकको भिसा कार्डको सिस्टम पुरै ह्याक गरी रकम निकालेको  नेपालमा यो पहिलोपटक भएको काठमाडौं परिसरका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए ।

‘यसअघि नेपालमा अरूका डाटा चोरेर एटीएममार्फत रकम निकालेको रेकर्ड थियो, तर अहिले भने पुरै बैंकको सिस्टम नै ह्याक गरेर रकम चोरी गरेको भेटियो, यो हाइ-प्रोफेशनल ह्याकिङ हो’, प्रवक्ता बोगटीले भने।

कहाँ छन् तीन ह्याकर जसले कति रकम लिएर फरार भए पत्तो छैन

ह्याक गरेर निकालेको रकम लिएर फरार तीनजना ह्याकरको खोजी प्रहरीले गरिरहेको छ । फरारमध्ये एकजना मुख्य ह्याकर भएको प्रहरीले दाबी गरेको छ।

‘मुख्य ह्याकर फिल्डमा हुँदैन, अहिलेको अवस्था पनि त्यस्तै छ’, एसएसपी सुवेदीले भने, ‘दुई ह्याकर दुई समूहमा रहेका हुन सक्छन् जसमा एक समूहले अर्कोलाई चिन्दैन थिए।’ फरार ह्याकरको खोजी तिब्र पारेको प्रहरीले जनाएको छ ।

बैंक रितो पारेर क्यासिनो जाने ह्याकरको प्लान बिचैया तुईयो

शुक्रबार दिउँसोदेखि शनिबार रातिसम्म बैंक रित्तो पारेर आईतबार क्यासिनो गई रोमान्स गर्ने र सोमबार फर्कने ह्याकरको सेड्यूललाई प्रहरीले बिचैमा तुहायो ।

शुक्रबार आएका उनीहरूले एक दिन नागपोखरी क्षेत्रमा रहेको माया बुटिक होटलमा बस्ने, शनिबार रकम चोरी गर्ने र अर्को होटलमा डेरा सर्ने योजना थियो ।

उनीहरूले चीनबाटै सबै सिस्टम मिलाएर एकसय २३ वटा कार्ड ल्याएर आएका थिए ।

कमजोर बैंकिङ सुरक्षा प्रणाली, अनुसन्धान गर्दै प्रहरी

पटक पटक ह्याकरले ह्याक गरी नेपाली बैंकबाट रकम चोरी हुँदा पनि बैंकहरूले सावधानी नअपनाएको प्रहरी सुरक्षा अधिकारीले बताएका छन् ।

शनिबार चिनियाँ ह्याकरले बैंकको सिस्टममै नछिरी रकम निकाल्नुलाई पनि बैंकको सुरक्षा प्राणाली कतिको कमजोर छ भन्ने उजागर गरेको छ ।

यसअघि पनि पटक पटक ह्याक भएर बैंकको रकम चोरी भएको थियो । त्यसपछि प्रहरीले बैंकलाई आफ्नो सुरक्षा प्रणालीमा ध्यान दिन आग्रह गर्दै आएको थियो ।

शनिबारको ह्याकर प्रकरणमा विज्ञहरूको सहयोगमा प्रहरीले बैंकको सुरक्षा प्रणालीबारे पनि अनुसन्धान गर्ने तयारी गरेको छ । पक्राउ परेका ५ चिनियाँलाई प्रहरीले बैकिङ कसुरमा ७ दिनको म्याद थप गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2019-09-01 19:15:17

प्रतिकृया दिनुहोस्