छाडा चौपायाका कारण दुर्घटना बढ्दै

तस्बिरः बिएल

बाँकेको कोहलपुरदेखि नेपालगञ्ज सडकमा सवारी दुर्घटना बढ्दै गएको छ। सडकमा जथाभावी रहेका छाडा पशुसँग ठोक्किएर पछिल्लो समय धेरै दुर्घटना भएका छन्। तर, छाडा चौपाया नियन्त्रणका लागि कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र ट्राफिक प्रहरीले कुनै चासो देखाएका छैनन्।

कोहलपुर–नेपालगञ्ज चारलेन सडकमा छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको छ। सडकमा छाडा छाडिएका छाडा चौपाया बिच भागमा आवतजावत गर्ने र बिच सडकमै बस्ने गरेका कारण दैनिकजसो सवारी दुर्घटना भइरहेका छन्। सवारी दुर्घटनामा सडकमा रहेका गाईगोरु पनि मर्ने गरेका छन्। रातिको समयमा छाडा चौपायासँग ठोक्किएर सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेलले बताए।

उनका अनुसार छाडा चौपायासँग ठोक्किएर राति ८:०० बजेपछिको समयमा सवारी दुर्घटना हुने गरेका छन्। राति सडकमा बसेका गाईगोरू नदेखिने हुँदा सवारी दुर्घटना हुने गरेको छ। ‘दिउँसोमा त्यति धेरै दुर्घटना हुँदैनन्, गाईगोरु चर्न जान्छन् होला रातिको समयमा छाडा चौपाया सडकमा बस्ने हुँदा दुर्घटना हुने गरेका छन्’, उनले भने।

छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिका, उपमहानगरपालिका, ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले पटक–पटक पहल गरे पनि नियन्त्रण हुन नसकेको उनले बताए। छाडा चौपाया सबैको टाउको दुखाइको विषय भएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले बताउ। उपमहानगरपालिकाले व्यवस्थित काञ्जी हाउस सञ्चालनको तयारी गर्न नसकेकाले पनि यो समस्या बढेको हो।

विगतमा उपमहानगरपालिकाले नेपालगञ्ज क्षेत्रका छाडा चौपाया गाई, गोरु, गधा बाँके निकुञ्जभित्रको जङ्गलमा पुर्‍याएर छाडे पनि यसले दीर्घकालीन समस्या समाधान हुन सकेको छैन। सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाई, गोरु, खच्चरले आवतजावतमा अवरोध र सडक दुर्घटना बढाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवीन्द्र बमले छाडा चौपायाले सडक व्यवस्थापन र ट्राफिक सहजतामा बाधा पुर्‍याएकाले यो विषयमा चनाखो भएर लाग्ने बताए। सडक दुर्घटनामा जिल्लामा एक वर्षको अवधिमा ६० जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा दुई चौपायाको मृत्यु र एक घाइते भएकासमेत ट्राफिकको प्रतिवेदनमा उल्लेख छ।

ट्राफिकको तथ्याङ्कअनुसार बाँकेमा हरेक साता सरदर दुई सडक दुर्घटना हुने गरेका छन्। दुर्घटनामा प्रत्येक साता एक जनाको मृत्यु र तीन जना गम्भीर घाइते हुने गरेका छन्। आव २०७५/७६ मा छाडा चौपायासँग ठोक्किएर भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति: : 2019-08-30 09:41:29

प्रतिकृया दिनुहोस्