पुस्तक समीक्षा

मिन्झारी: आम युवाकाे संघर्षकाे कथा

गजल विधाबाट नेपाली साहित्य क्षेत्रमा आएका महेन्द्र उपाध्यायकाे उपन्यास 'मिन्झारी' भर्खरै बजारमा आएकाे छ। काबु क्रियशनले बजारमा ल्याएकाे उपन्यास मिन्झारीमा पश्चिम तराईकाे टिकापुर र दैलेखकाे रहनसहनलाई कथावस्तु बनाइएकाे छ। लेखक उपाध्याय पेसाले इन्जिनियर हुन्। त्यसैले पनि उनकाे लेखनमा बिम्ब र अतिरन्जनाका फूलबुट्टाहरु हुने नै भए। जसरी एउटा इन्जिनियर नयाँ बनाउने घर र सडक किनारमा फूलबुट्टा भर्छ।

पढ्दै जाँदा कथावस्तुले पाठककाे ध्यान मज्जाले तान्छ। कल्लुकाे संघर्षकाे कथा हाेस् या म पात्र र केशरीबीचकाे प्रेम कथा सबै ओजन्दार छन्। थारू समुदायमा कमलरी बस्नुकाे बाध्यताकाे व्यथा अनि संकटकालमा परिवारकाे सदस्य माओवादी हुने परिवारकाे पीडालाई राेचक शैलीमा उतारिएकाे छ।

उपन्यास पढ्दै जाँदा कथावस्तु र कथाका पात्रहरु झलझली आँखा अगाडि आउँछन्। उपन्यास पढेकाे भन्दा पनि फिल्म हेरेकाे भान हुन्छ। पछिसम्म दिमागमा एउटा चित्र बनी बस्छ। यसलाई म लेखककाे सफलता मान्छु। २ सय १० पृष्ठकाे उपन्यासकाे मूल्य पाँच सय ७५ निर्धारण गरिएकाे छ। उपन्यास पढ्दै जाँदा त्यति मूल्य तिरेकाेमा कुनै पछुताे लाग्दैन। बरु सन्तोषकाे सास फेरिन्छ। तृप्त भइन्छ।

मिन्झारी पश्चिम नेपालकाे दैलेख र सुदूरपश्चिमकाे कैलाली जिल्लाकाे रहनसहनमा आधारित छ। दैलेख घर भई कैलालीकाे टिकापुरमा बसाइँ सरेकाे सम्पन्न परिवारमा जन्म भएकाे म पात्रकाे जीवनकाे उकाली, ओराली र संघर्षकाे कथा हाे। उपन्यासमा म पात्र प्रमुख हाे भने कल्लु, केशरी, कुलमार सर, राम शङ्कर भैया, सहायक पात्र हुन्।

म पात्र जता गयाे उपन्यासकाे कथा उतैतिर जान्छ। अर्थात् म पात्र ओरालो लाग्दा कर्णालीबाट कैलाली हुँदै बगेकाे कर्णाली नदी जस्ताे गरी कथा बग्न थाल्छ। उकालाे लाग्दा केही विश्राम लिएजस्ताे लाग्छ। जब म पात्र टिकापुर हुन्छ, उसले मधेशका कथा सुनाइरहेकाे हुन्छ। जब ऊ उकालाे चढ्दै दैलेख पुग्छ, तब दैलेखका कथा देख्न पाइन्छ। त्यहाँकाे भूगोल र त्याे भूगाेलले विकास गरेकाे संस्कार र संस्कृति भेटिन्छ। घरि दैलेखका विभिन्न गाउँमा पुगिन्छ त घरि टिकापुरका विभिन्न फाँटमा घुम्न पाइन्छ।

टिकापुरका कथाहरुमा कमैया प्रथा, थारूहरुकाे रहनसहन र जीवनस्तर केलाउन पाइन्छ। कल्लु, बेबिका र छाेट्कीहरू कमैया र कमलहरी हुन्। उनीहरु म पात्रका बाल्यकालका साथी भए पनि साथीभन्दा बढी कमैया र कमलहरीहरु हुन्। त्यसकारण उनीहरु बेलाबेला हेपिन पुग्छन्।

नयाँ संविधान बन्नु भन्दा अगाडि पहिचानकाे आन्दोलनको क्रममा भएकाे टिकापुर घटनापछि थारू बस्तीहरु पुरुषविहीन भए। थारूहरुका थुप्रै घर जलाइयाे। थारूमाथिकाे पहाडिया आतङ्क र थारूहरुले भाेगेकाे त्रासपूर्ण जीवनलाई उपन्यासले पृष्ठभूमि बनाएकाे छ।

म पात्र र केशरीबीचकाे प्रेम कहानीले उपन्यासलाई थप रसिलाे बनाएकाे छ। उनीहरुकाे प्रेमले देखाएका दृश्यहरुले आकर्षण हुँदै प्रेममा परिणत भएका युवायुवतीकाे प्रतिनिधित्व गरेकाे छ। प्रेम पर्दाका दृश्यहरुमा म पात्र दैलेख बजारकाे निजी स्कुलमा पढाउन सुरु गरिरहेकाे हुन्छ।

बिएस्सी पास गरेकाले ऊ नामभन्दा बढी बीएस्सी सरबाट परिचित छ। जुन हिमाली र पहाडी भेगकाे दुरुस्त चित्रण हाे। गणित विषयसमेत पढाउने भएकाले ऊ ट्युसन पढाउन थाल्छ। यही क्रममा आफ्नै विद्यार्थीसँगकाे प्रेममा पर्छ। दुबैले एकअर्कालाई मन पराउन थाल्छन्। ऊ आफ्नी विद्यार्थीसँग माेबाइल नम्बर माग्छ। विद्यार्थीले माेबाइल नम्बर दिन्छे। विद्यार्थीकाे रुपमा नभई प्रेमिकाकाे रुपमा।

त्यही साँझ म पात्रकाे माेबाइलकाे म्यासेजमा देउडा गीत बज्छ। जुन पहाडी भेगले विकास गरेकाे उत्कृष्ट साहित्य हाे।

बस गाडी हाे, माल गाडी हाे, रेल पन गाडी हाे। 
सर बिगाडी हुन् कि सरकाे मन बिगाडी हाे?? 

म पात्रले त्यसकाे जवाफ पनि गीतबाटै फर्काउँछ, कनिकुथि। 

सिमलीकाे छाया पढ्याे, मध्ये दिनकाे धुपले। 
मन बिगाडी डाँफे बन्याे, राैतेलीका रुपले।।

केशरी र उसकाे संवाद देउडा गीतबाटै हुन्छ। केशरीले गीतबाटै तपाईंले हाे कि तपाईंकाे मनले मेराे मन चाेर्‍यो भन्ने प्रश्न गीतकाे माध्यमबाट साेधेकी छ भने म पात्रले पनि गीतबाटै तिम्राे रुपले मेराे मन उडायाे र म डाँफे जसरी उड्न थालेकाे छु भन्छ।

देउडा गीतकाे सवाल जवाफले पाठकको ध्यान खिच्छ। पढ्दै जाँदा बीचबीचमा राम शङ्कर भैयाकाे कराेडवाला आइडियाले पनि पाठककाे मन तान्छ। उनकाे गाँजा खाने स्टाइल र थेगाे झन् आकर्षक लाग्छ।

काँफल पाया काँफल खाने, हिउँ पाया हिउँ खाने।
केही भर छैन डाँफे चरी, जाँ निकाे हुँई जाने।

याे देउडा गीतमार्फत केशरीले आफ्नाे प्रेमीलाई भन्छ, 'पुरुषहरु जाे महिला राम्राे देख्याे, उतै लाग्छन्। पुरुषहरुकाे भर हुँदैन।' केशरीले म्यासेज गरेर पठाएकाे गीतकाे भाव जस्तै उनीहरुकाे प्रेम सम्बन्ध भैदिन्छ। केशरीकाे बाहिरी सुन्दरतामा पागल भएकाे म पात्र उसकाे शारीरिक समस्याबाट झस्किन्छ।

म पात्रले शारीरिक सम्बन्ध राख्न खाेज्दा केशरीकाे स्वास्थ्य समस्याका कारण उनीहरुबीच शारीरिक सम्पर्क हुन सक्दैन। कारण ऊ अप्रमाणित रुपमा तेस्रो लिङ्गी देखिन्छे। तर म पात्रले केशरीलाई ‘तेस्रो लिङ्गी’ घाेषणा गर्छ। कतै आफू पनि तेस्राे लिङ्गी त हाेइन भन्ने शंका कायमै राख्छ। तथापि ऊ केसरीबाट टाढिन खाेज्छ तर केशरी नजिक हुन खाेज्छे। केसरीले फाेन गरिरहन्छे। म्यासेजमा गीत लेखिरहन्छे। तर उसले विभिन्न बहानामा फाेन र म्यासेजलाई इग्नाेर गरिरहन्छ।

जब केशरीलाई आफ्नाे स्वास्थ्य समस्याकाे कारण देखाउँदै प्रेमी टाढा हुँदैछ भन्ने लाग्छ, तब उसले म्यासेजमा गीत पठाउँछे।

भाग्यले ठगेकी मान्छे, तैंले पन ठगी।
आफू त भागेर गयाे, जान्छु भन्थ्याे लगी।।

एक त भाग्यले ठगेकै कारण स्वस्थ्य समस्या भाेगिरहेकी छु। सँगै जिउने कसम खाएर नजिक भएकाे मान्छे पनि ठगेर भाग्याे भन्दै आफ्नाे मनकाे बेदना पाेख्छे। उसकाे प्रेमीले पनि म्यासेजबाटै जवाफ दिन्छ।

एकै खेतका दुई कुनिया, दश भाइ लागि माडे। 
धान भन्ना पलाटाे पाइनँ, तेही भएर छाेडेँ।

म पात्रले, 'उत्पादन नहुने भएपछि तँसँग नजिक हुनुभन्दा टाढा हुनु नै बेस लागेर भागेकाे हुँ,' भन्छ। उनीहरुकाे संवाद पढ्दा आफू देउडा खेलिरहेकाे ठाउँमा भएकाे महशुस हुन्छ।

जब म पात्रकाे भेट गाविस सचिव कुलमानसँग हुन्छ, तब ऊ शिक्षकबाट रातारात ठेकेदार बन्छ। तत्कालीन समयमा गाविसले दिने स-साना याेजनामा सचिवहरुकै हालिमुहाली हुन्थ्यो। झण्डै दुई दशक स्थानीय निकायहरु जनप्रतिनिधिविहीन भए। त्याे समयमा कर्मचारीहरु कसरी रातारात कराेडपति भए? अनि उनीहरुका चाकडी गर्नेहरु मालामाल भएकाे र उनीहरुलाई कमिसन नदिनेहरु विस्तारै पाखा लागेकाे कुरा उपन्यासले देखाएकाे छ।

कुलमान र अन्य गाविस सचिवहरुलाई ठेकेदारहरुले साेचेजति कमिसन दिएनन्। अनि उनीहरुलाई आफ्नाे फेवरकाे ठेकेदारकाे आवश्यकता महशुस भयाे। त्यही समयमा म पात्रकाे भेट सचिवहरुसँग भयाे। सचिवहरुले नै उसकाे नाममा फर्म दर्ता गरे। उनीहरुले नै ठेकेदार बनाए। उनीहरुले नै काम दिए। म पात्र ठेकेदार बन्याे। उसले काम पायाे। सचिवहरुले कमिसन पाए।

विस्तारै उसकाे संगत नेतासँग हुन थाल्याे, अरु कर्मचारीहरुसँग हुन थाल्याे। विस्तारै उसले केशरीलाई बिर्सिंदै गयाे। कर्मचारीहरुसँगकाे रक्सी पार्टीमा उसका दिनहरु बित्दै गए।

समाजले महिलाहरुकाे स्थान कसरी निर्धारण गरेकाे छ र उनीहरुलाई कसरी भाेग्या वस्तुको रुपमा मात्रै प्रयाेग गरिरहेकाे छ भन्ने कुरा सचिवहरुकाे संवादबाट थाहा हुन्छ। पितृसत्ताले महिलाहरुलाई कसरी चिया चाैताराे बनाउँछ भन्ने कुराकाे प्रतिनिधित्व उपन्यासकाे सरकारी संयन्त्रले गरिरहेकाे छ।

सत्ता र शक्ति हुनेहरु कतिसम्म ‘याैन पिपासु’ हुन्छन् भन्ने कुरा बुझ्नलाई उनीहरुका अश्लिल किस्सा सुने पुग्छ। हालसम्म सत्ता कस्ताे हुन्छ भन्ने कुरा दरबार र त्यहाँका राजा महाराजाकाे व्यवहार पुस्तकहरुमा उतारिएकाे पाइन्थ्यो। तर सानाे हाेस् या ठूलाे सत्ताले आफ्नाे चरित्र देखाउँछ भन्ने कुरा मिन्झारीले देखाएकाे छ।

संघीयतापछि स्थानीय सरकार आए। गाविस सचिवहरुका दिन गए। गाविस सचिवहरु वडा सचिव भए। उनीहरुले याेजना दिन सक्ने अवस्था भएन। हाकिमहरुसँग म पात्रकाे सम्बन्ध भएन। स्थानीय चुनावमा सम्भावना बेकेका केही नेताहरुलाई सहयाेग पनि गर्‍यो। भाेलि जितेकाे खण्डमा काम पाइने आशमा। स्थानीय चुनाव सकियाे। काम सकियाे। आश पनि सकियाे। उनीहरुले पनि आफ्नालाई नै ठेकेदार बनाए, जसरी म पात्रालाई कुलमानहरुले बनाएका थिए।

विस्तारै म पात्र निराश हुन थाल्छ। कुनैबेला सचिवहरुले भनेका थिए, ‘तेस्रो लिङ्गीकाे याैनाङ्ग देखेमा भाग्य चम्कन्छ।’ जतिबेला ऊ रातारात ठेकेदार बनेकाे थियाे, त्यतिबेला उसकाे भाग्य चम्केकाे थियाे। भाग्य चम्कनुभन्दा अगाडि उसले केशरीकाे याैनाङ्ग देखेकाे थियाे। उसलाई लाग्याे ‘तेस्रो लिङ्गी’ काे याैनाङ्ग देख्याे भने भाग्य चम्कने रहेछ। अब केशरीलाई सम्झन्छ। केशरी म पात्रलाई पहिलाकाे जसरी माया गर्दिन। याे बीचमा उनीहरुकाे सम्बन्धमा ठूलो ग्याप छ। एक हिसाबले भन्दा केशरी गायब छ। म पात्रले केशरीलाई भेट्न खाेज्छ। आफ्नाे भाग्य चम्काउनकाे लागि। तर केशरी भेट्न मान्दिन। ऊ भेट्नलाई कर गर्छ। अन्तिममा केशरीले भेट्छे। उसकाे याैनाङ्ग पनि हेर्छ तर भाग्य चम्कँदैन।

प्रेम सम्बन्ध टुट्न नदिन अनेक प्रयत्न गरेकी केशरी किन यसरी टाढिन खाेजिरहेकी छ? याे प्रश्नको उत्तर लेखकले दिएका छैनन्। उत्तर खाेज्ने जिम्मा पाठकलाई नै दिएका छन्। एचए पढिरहेकी केशरीले सायद, उपचार पाे गराई कि! एक पाठककाे हिसाबले मेराे अनुमान मात्रै हाे।

जीवनकाे उर्जाशील समय दैलेखमा बिताएकाे म पात्रले टिकापुरमा बाल्यकाल र केही समय काठमाडौंमा बिताएकाे हुन्छ। तुलनात्मक रुपमा बढी समय बिताएकाे दैलेखमा ऊ आफ्नाे भविष्य खाेज्छ। दैलेखमा अडिइरहन केही सीप नलागेपछि टिकापुरमा बाख्रा पालन गर्ने याेजना बनाउँछ। बाख्रा फर्मकाे सम्पूर्ण काम कल्लुले गर्ने र त्यसबापत ११ बाख्रा कल्लुकाे हुने सर्तमा। यहीँनेर म पात्र मालिक र कल्लु फेरि पनि कमैया कामदार नै देखिन जान्छ। तथापि कल्लु पनि राजी हुन्छ।

केहीदिनपछि कल्लुले 'बाख्रा फर्ममा काम गर्दिनँ बरु अरु कुनै काम पाए गर्छु' भनेर काम खाेज्दिन भन्दै म पात्रलाई नै आग्रह गर्छ। उसलाई सबैले फेरि कमैया बस्न गयाे भन्छन्। कल्लु म पात्रकाे घरकाे मुक्त कमैया र कामदार हाे। यहीँनेर कल्लुले माैन विद्रोह गर्छ। कमैया मुक्त हुँदा अधिकांश कमैयाले खुलेर मालिकको विराेध गर्छन्। कल्लु भने कुटनैतिक तबरबाट विद्रोह गर्छ। परिणाम उसले एसएलसी पास गरेर इतिहास रच्छ।

०००

हरेक कथाकाे सुरुवात बड्काे र अङ्कलकाे संवादबाट सुरु हुन्छ तर कथावस्तु र कथाकाे सुरुवातमा कुनै तालमेल हुँदैन। जस्ताे अध्याय ९ मा:
बड्काे - एकदिन एउटा कामीले मेराे मालिककाे नल्का छाेइदियाे। 
अङ्कल - अनि के भयाे त बड्का?
बड्काे - भनें त कामीले नल्का छाेइदियाे।

याे अध्यfयमा एक कामीले मालिककाे नल्का छाेएकाे कुरा छ। तर कथामा भने केशरी र म पात्रबीचकाे प्रेम भेटिन्छ। अर्काे कुरा हरेक शीर्षकमा बड्काेलाई साेध्ने प्रश्नकाे उत्तर अगाडि नै आइसकेकाे हुन्छ। तर पनि उसलाई प्रश्न साेधिएकै हुन्छ। जस्ताे कि अध्याय १३ मा:
बड्काे - एकदिन माघीकाे रातमा मैले रक्सी खाइनँ।
अङ्कल - अनि के भयाे त बड्का?
बड्काे - भनेँ त मैले रक्सी खाइनँ।

बड्काेले भन्छ एकदिन माघीकाे रातमा मैले रक्सी खाइनँ अनि अङ्कले प्रश्नमार्फत त्यसपछि के भयाे भन्ने साेधेकाे हुन्छ तर बड्काकाे जवाफ मैले रक्सी खाइनँ। याे कुरा त पहिल्यै आइसकेकाे छ। अर्थात प्रश्न साेध्ने अङ्कललाई पनि थाहा भइसकेकाे हुन्छ कि यसकाे जवाफ यही हाे भनेर। तर पनि अङ्कलले प्रश्न साेधिरहन्छ। बड्काेले उही कुरा दाेहाेर्‍याइरहन्छ। प्राय: उही मान्छेसँग उही कुरा गर्न कसैकाे रुचि हुँदैन। तथापि लेखकले यसलाई कथा भन्ने नयाँ शैली प्रयाेग गरिरहेकाे भान हुन्छ।

एक दुई ठाउँमा हाेइन, १९ अध्यायमध्ये १८ अध्यायमा उही कुरा, उही शैली छ। १९औं अध्यायमा अलि फरक छ। त्यसकाे अन्तर्य त्यहाँ मात्रै थाहा हुन्छ, याे लेखककाे शैली हाे। त्यसभन्दा अगाडि त्याे नमिलेकाे महशुस हुन्छ। १८ अध्यायसम्म अङ्कलसँगकाे संवादका सबै प्रश्नमा बड्काेले पहिले बाेलेकै कुरा फेरि दाेहाेर्‍याएर उत्तर दिन्छ। १९औं अध्यायमा प्रश्न साेध्ने मान्छे फेरिँदैमा नयाँ उत्तर कसरी आउँछ? याे लेखकलाई मेराे प्रश्न हाे।

उपन्यासमा भएका केही देउडा गीतहरु जबरजस्ती अगाडि बढेका छन्। देउडा गीतकाे भावलाई ख्याल नगरी व्याकरणलाई मात्रै ध्यान दिँदा यस्ताे भएकाे हुनसक्छ। जस्ताे: 
बम्बै जान्छु भन्नु छिइ काँइ बरेली गइकि?
मन दिई पिरती लायाँ साई रुवाउने हाेइकि??

याे गीत मिलेकाे छ। सबै ठिक छ। यसकाे प्रतिउत्तरमा आएकाे गीत:
गाई बाच्छाे खेल्दाे, किस्किन्दाका वन। 
याँहा छैन रुवाउने ताँ छाै कित मन??

यसलाई देउडा गीत भन्न मिल्दैन। यसलाई केही मिलाउन सकिन्थ्याे। सिधा भाषामा भन्दा याे उपन्यासकाे कमजोरी हाे। एक दुई ठाउँमा केही भाषिक शुद्धताका कमजोरी पनि छन्।

अन्तमा, उपन्यासमा पश्चिम नेपालकाे कैलाली र दैलेखकाे कथा भए पनि यथार्थमा हेर्दा मिन्झारी आम युवा पुस्ताकाे संघर्षकाे कथा हाे। आफ्नाे भाग्य खाेज्दै दैलेखका डाँडाकाँडादेखि कैलालीका फाँटहरुमा भाैतारिने म पात्र, सामान्य परिवारकाे जीविकोपार्जनकाे लागि मालिककाे घरकाे कामदेखि लघुिवत्तकाे कर्मचारीसम्म बनेकाे कल्लु अनि शारीरिक समस्याका कारण आफ्नाे प्रेममा दरार नआओस् भनेर बारम्बार याैन शाेषणमा परेकी केशरी र कराेडवाला आइडियालाई पर्खेर बसेका राम शंङ्कर भैया जस्ता पात्रहरु जताततै भेटिन्छन्।

सबैका संघर्षका कथाहरु राेचक छन्। जनताले तिरेकाे करकाे पैसामाथि सत्ताकाे दुरुपयाेग गरेर कसैलाई रातारात कराेडपति बनाउने र कसैलाई सडकमा पुर्‍याउने कुलमान जस्ता राष्ट्रसेवक कर्मचारी आज पनि हरेक कार्यालयमा भेटिन्छन्। कुलमान जस्ता राष्ट्रसेवक हुँदासम्म कल्लुहरु न कमैया बस्न सक्छन्, न काम नै पाउँछन्।

प्रकाशित मिति: : 2023-03-12 16:19:00

प्रतिकृया दिनुहोस्