सांस्कृतिक र जातीय विभेदको चेपुवामा परेको प्रेमकथा: ऊनको स्वीटर

पूनम पौडेल

काठमाडौं
Break n Links
Break n Links

‘धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानु…’ जब यो गीत पर्दामा आउँछ दर्शकको उत्साह हेर्न लायक हुन्छ। चलचित्र ‘ऊनको स्वीटर’को यही वैशाख २४ गतेको प्रिमियर शोमा हलमा खचाखच उपस्थित दर्शक यो गीत पर्दामा आउदा सँगसँगै झुमेका थिए।

वैशाख २६ गते देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ऊनको स्वीटरको गीत फकाउँछ काफ्ले भने प्रदर्शनको अगाडि नै अत्याधिक लोकप्रिय भइसकेको थियो। सम्भवत दर्शकलाई ऊनको स्वीटर हेर्न हलसम्म तान्ने कारणमा यो गीतको पनि हात हुनेछ भन्दा फरक नपर्ला।

पाँचथरको लिम्बू बाहुल्य रहेको समाजको परिवेश, चालचलन र परम्पराबीच केही काफ्ले थरका बाहुन परिवारबीचको सामाजिक घुलनको कथा हो ऊनको स्वीटर। काफ्ले थरको बाहुन केटो र पाँचथरको लेककी गुरुङ्सेनीको प्रेम कथा हो ऊनको स्वीटर।

चलचित्रको शुरुमा कथा अलिक गिजिङमिजिङ र बुझ्न गाह्रो जस्तो छ तर बिस्तारै कथा सललल बग्छ। लिम्बू बहुल समाजका बाहुनहरूको बोलीको लवज लिम्बूकै जस्तो सुनिँदा रमाइलो लाग्छ। कथाका हरेक पात्र र परिवेश  जिवन्त छन।

चलचित्र हेरिरहे जस्तो कहीँ कतै लाग्दैन, बरु दर्शक स्वयम् त्यहि ठाउँमा पुगेको भान हुन्छ। गुरुङसेनी केटी र बाहुन केटोका प्रेम प्रसंगका दृष्य रमाइला छन्। विपिन कार्की र मिरुना मगरले पात्रमा प्राण भरेका छन। विपिन कार्कीको अभिनयले दर्शकलाई कहीँ हसाउँछ कहीँ रुवाउँछ।

गाउँले लाटो सोझो केटो प्रेममा पर्दाको अनुभुत जिवन्त रुपले विपिनले दर्शाएका छन्। समान्य प्रेमको विषय भएपनि प्रस्तुति रोचक छ। चलचित्रमा वि.सं ०६४ सालतिरको परिवेश देखाईएको छ। जतिबेला अटो भर्ने चलन थियो।

नायक काफ्लेले नायिकाको अटो भरेको दृष्यले दर्शकलाइ खुब  हसाउँछ। रिलवाला क्यामेराले पछाडि पोष्टर लगाएर नायक नायिकाको फोटो खिचेको दृष्यमा दर्शक पेट मिचिमिची हाँस्छन्। चलचित्रको अन्त्यमा नायक नायिकाको मिलन देखाइदैन बरु नायक नायिकालाई खोज्न हिँडे जस्तो लाग्छ।सायद दोस्रो भागको तयारि हो कि? 

चलचित्रको कथा निर्देशक नवीन चौहान आफैंले लेखेका हुन्। सामान्य प्रेम कथालाई उत्कृष्ट निर्देशन गरेर चौहानले चलचित्रलाई हेर्न लायक बनाएका छन्। लिम्बू समाजलाइ मिहिन तरिकाले देखाउन निर्देशक चौहान सफल छन्। चिन्तन राजभण्डारीको  छायांकन लोभलाग्दो छ।

खासगरी लेकका दृष्यहरूले आँखा र मनलाइ शीतलता प्रदान गर्छन्। विपिन कार्की र मिरुना मगर आफ्नो भूमिकामा अब्बल छन्। विपिनको बुबाको सानो भुमिकामा सुनिल पोखरेल छाप छोड्छन्।

सबै कलाकारको अभिनयमा कहीँकतै खोट लाउने ठाउँ छैन। समग्रमा चलचित्रले पुरै नेपालीपन बोकेको छ। मौलिक नेपाली परिवेशको कथा मन पर्नेलाई ऊनको स्वीटर गतिलो मनोरञ्जन हुनेछ।

प्रकाशित मिति: : 2025-05-10 12:10:00

प्रतिकृया दिनुहोस्