सन् १८४७ मा बेलायतमा ‘वेदरिङ हाइट्स’ नामको एउटा उपन्यास प्रकाशित हुन्छ। लेखकको नाम हुन्छ एलिस बेल। सो उपन्यासको तेश्रो भाग प्रकाशित भएपछि मात्र थाहा लाग्छ कि उपन्यासको लेखक पुरुष नभएर एक महिला हुन्।
इम्याली ब्रोन्ट नामकी महिलाले त्यो उपन्यास लेखेकी हुन्, पुरुषले हैन। उपन्यास पढेका मानिसहरू यो मान्न तयार हुँदैनन् कि एकजना महिलाले यति क्रुर र हिंस्रक कथा लेख्न सक्छिन्। हिथक्लिफ नामक मुख्य पात्रमार्फत जुन हिंसा र क्रुरता उनले उपन्यासमा प्रस्तुत गरेकी छिन्,मानिसहरू मान्न तयार नै हुदैनन् र धेरै पछिसम्म पनि वेदरिङ हाइट्स कुनै पुरुषले लेखेको हो भन्ने अडानमा रहन्छन्।
हाम्रै नेपालमा पनि पारिजातको शिरिषको फुल उपन्यास पढि सकेपछि महिला त्यसमा पनि शारीरिक रुपले अशक्त महिलाले पुरुष सैनिकको मनोविज्ञानबाट कसरी कथा लेखिन् भनेर पत्याउन मान्छेले गार्हो माने। लोग्ने मान्छेको सोच, उभित्र रहेको जनावरपनलाई लोग्नेमान्छे नै भएर एउटी महिलाले कसरी चाहिँ लेखिन् भनेर धेरै पाठक अचम्मित भएका थिए र भइरहेका छन्।
हालै नेपाली कथानक चलचित्र पिताम्बर हेर्दै गर्दा मैले बारम्बार वेदरिङ हाइट्सकी इम्याली ब्रोन्ट र शिरिषको फुलकी पारिजातलाई सम्झिरहेँ। महिला कृषा चौलागाईंले यो हदसम्मको हिंसात्मक दृष्यहरूको निर्देशन गरिन होला भनेर पत्याउन मलाई गार्हो परिरहेको थियोे।
बाबुको टुङ्गो नभएको बालककी आमालाई बारम्बार गरिने अपमान र अनि हत्या, त्यसपछि शारीरिक यातना र मानसिक प्रताडनाबाट पाइलैपिच्छे गुज्रेको बालकले कसरी आफ्नो र आफ्नी आमाको अपमान, प्रताडना र हत्याको बदला लिन्छ? पिताम्बरको कथा यति नै हो।
कथामा कुनै नयाँपन छैन, तर बदला लिने क्रममा देखाइएका हिंसाका दृष्यहरू यति क्रुर र भयानक छन् कि हरेक दृष्यमा आङ जिरिङ हुन्छ। चलचित्रको सुरुमै मञ्चमा भाषण गरिरहेको कुनै नेतालाई नायकले मञ्चमै उक्लेर घाँटी रेटेर हत्या गर्छ, त्यो दृष्य डिटेलमा देखाइएको छ।
घाँटी रेटि-रेटी मार्दाको विभत्सता र त्यस क्रममा नायकका अनुहार भरी उछिट्टिएको रगत। त्यसपछि यस्ता क्रुर हिंसाका भरमार दृष्यहरू पर्दामा आइरहन्छन्।
मान्छेको टाउको गिड्नु, गिडेको टाउको बल जस्तै उच्छिट्टिएर भुइँमा पछारिनु,यस्ता दृष्यको भरमार छ चलचित्रमा। सामान्य दृष्य आँखामा बस्न नपाउदै अर्को भयानक मारधाडको दृष्य सुरु भइहाल्छ। दक्षिण भारतीय एक्सन चलचित्रलाई टक्कर दिने शैलीमा बनेको पिताम्बर पुरापुर मारधाड र हिंसाले भरिएको छ।
नेपालको परासी जिल्लाको कथा छ चलचित्रमा। जहाँ धन्नजय सिंह राजपुतको डर र शासन छ। उनी बारम्बार यहाँका मानिसमा मेरो डर कायम रहिरहोस् भनी रहन्छन् तर उनले कसरी डर कायम गराएका थिए भन्ने पाटो भने देखाइँदैन।
प्राणभन्दा प्यारी छोरीका लागि संसारै ध्वस्त पार्ने सामर्थ्य राख्छन् राजपुत। तर बुबा र छोरीबीचको बन्डिङ कहि कतै भेटिँदैन। आमाको अपमान अनि हत्या र बाल्यकालमा आफूमाथि गरिएको अपमानको बदला लिन आफूलाई इस्पात झैं बनाएका नायक पिताम्बर कसरी त्यति सामर्थ्यवान बने कही खुल्दैन।
हरेक मुख्य घटनापछि त्यो घट्नाको कारण खुलाइन्छ जसले सिनेमालाई रोचक बनाएको छ। पिताम्बरकी आमा दुर्गा को थिइन्? त्यो कौतुहल सिनेमाको अन्तिम तिर खुले पनि पिताम्बरका बाबू को थिए भन्ने रहस्य सिनेमाको अन्त्यमा खुल्छ, र त्यहि कौतुहलले दर्शकलाइ अन्त्यसम्म बाँधी राख्छ।
चलचित्रमा अत्याधिक र लामा लामा द्वन्द्वका दृष्य छन् जुन धेरै दर्शकका लागि सहज नहुन् सक्छन्। सयौं प्रत्यक्षदर्शीका अगाडि खुलेआम घाँटी रेटेर हत्या गरेर पक्राउ परेको पिताम्बरले कसरी पुलिसको हिरासतबाट उम्केर त्यहि ठाउँमा खुलेआम गतिविधि गरिरह्यो यो बुझिँदैन।
चलचित्रमा मुख्य खलपात्र राजपुतको भूमिकामा प्रमोद अग्रहरि बेजोड छन्। मुख्य नायकसहित अरु चारजना भर्सेस प्रमोद अग्रहरि एक्लै काफी देखिन्छन्। उनको अभिनय र संवाद दुवै सशक्त छ।
नायक पिताम्बरको भुमिकामा प्रदिप खड्काले सहज अभिनय गरेका छन्। रोमान्टिक भुमिकाबाट अभिनय सुरु गरेका प्रदिपले पिताम्बरसम्म आइपुग्दा एक्सन हिरोका रुपमा पनि आफूलाई उत्तिकै अब्बल सावित गरेका छन्।
राजपुतका विश्वासपात्र सहायक खलपात्रको भूमिकामा अनुप विक्रम शाही र दिव्यदेव पन्तको अभिनय सजीव छ। दर्शकका मनमा घृणा उब्जाउन यिनीहरू सफल छन्।
नायिकाद्वय सुपुष्पा भट्ट र दिव्या रायमाझीको लागि गर्ने खास केही छैन, पुरुष प्रधान एक्सन चलचित्रमा नायिकाका लागि खास भुमिका हुदैन जुन स्वभाविकै हो।
घुस्याहा पुलिस इन्सपेक्टरको भुमिकामा दयाहाङ सामान्य छन्। उनको ठाउँमा अरु कोहि भएपनि खास केही फरक पर्ने थिएन। गृहमन्त्रीको सानो भूमिकामा गौरी मल्लले प्रभावशाली अभिनय गरेकी छिन्।
मध्यान्तरपछि पर्दामा देखापर्ने एसएसपीको भूमिकामा रहेका सौगात मल्ल ठिकठाक छन्। छोटो भूमिकामा भएपनि पिताम्बरकी आमा बनेकी दुर्गा अर्थात सुरक्षा पन्तको अभिनय प्रभावशाली छ। माओवादी लडाकुको रुपमा लडाइँको मोर्चा सम्हाल्दै गर्दा उनी बेजोड देखिन्छिन्।
समग्रमा महिला कृषा चौलागाईंले लेखक र निर्देशकको रुपमा एक्सन चलचित्रमा हात हालेकी छन् जसलाई ठूलो साहस मान्नुपर्छ। उनको निर्देशनमा खोट लगाउने ठाउँ छैन। खारिएका पुरुष कलाकारहरूलाई लिएर एक्सन प्रधान चलचित्र बनाउनु एक महिलाका लागि सहज पक्कै होइन।
भलै हिंसालाई ग्लोरिफाइ गर्नु उचित कदापि होइन यो छुट्टै बहसको पाटो हो। तर यो आँटका लागि उनको तारिफ गर्न भने कन्जुस्याइँ गर्नु हुदैन। जुन एक्सन दृष्यको मजा लिन दर्शक हल सम्म पुगेका छन् ती डरलाग्दा द्वन्द्वका दृष्यका लागि भने द्वन्द्व निर्देशक हिमाल केसीलाई श्रेय जान्छ।
पुरुषोत्तम प्रधानको छायांकन भव्य छ। हाइ एङ्गल, वाइड सटहरूले दृष्यलाई जीवन्त बनाएका छन्। हिंसा,र द्वन्द मन पराउने दर्शकका लागि पिताम्बरले निराश बनाउँदैन।