काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दुको रेखांकन परिर्वतन गरिएको छ।
काठमाडौं–निजगढ द्रुतमार्ग परियोजनाका बारेमा जानकारी दिन नेपाली सेनाले बुधबार काठमाडौमा पत्रकार सममेलन गर्दै द्रुतमार्गको प्रस्थान विन्दु ललितपुर खोकनाको सिकाली मन्दिर र प्राचीन सम्पदा कुदेश क्षेत्रलाई संरक्षण गरी रेखांकन परिवर्तन गरिएको जनाएको हो।
मन्त्रिपरिषद्बाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन गरिएको नेपाली सेनाले जनाएको छ।
पत्रकार सम्मेलनमा परियोजना प्रमुख महासेनानी शरदलाल श्रेष्ठले श्रीकाली मन्दिरलाई संरक्षण गरी सामान्य रेखांकन परिवर्तन गरिने जानकारी दिए। त्यस्तै उक्त परियोजना निर्माणका लागी एक खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जनाएको छ।
यो लागत पूर्वनिर्धारित रकमभन्दा ३८ अर्ब रुपैयाँ बढी हो। परियोजना निर्माण सम्पन्न गर्न तीन वर्ष ६ महिना लाग्ने र डीपीआरअनुसार यो परियोजनाका लागि एक लाख ५१ हजार रुख काटिने परियोजना प्रमुख श्रेष्ठले बताए।
नयाँ डीपीआरअनुसार द्रुतमार्गको कुल लम्बाइमध्ये ६.४१ किलोमिटर सुरुङमार्ग हुनेछ भने १०.५५ किलोमिटर पुल र ५५.५ किलोमिटर सडक हुनेछ। यसमध्ये हालसम्म २५.४४ किलोमिटर खन्डको ‘सबग्रेड फर्मेसन लेभल’मा काम भएको छ भने झन्डै २७ किलोमिटर क्षेत्रका काम भइरहेको छ।
डीपीआर बन्नुभन्दा अगाडि नै परियोजनाको ८ प्रतिशत काम सम्पन्न गरिसकेको सेनाले जनाएको छ।