रवि र युवराजलाई देश बाहिर जाँदा अदालतको अनुमति आवश्यक, पुडाशैनीको विषयमा कार्यक्रम चलाउन नपाउने

तस्बिरः बिएल

पत्रकार शालिकराम पुडाशैनी आत्महत्याको प्रकरणमा पक्राउ परि ५ लाख धरौटीमा छुटेका कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई अब देश बाहिर जाँदा अदालतको अनुमति लिनुपर्ने भएको छ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई विदेश जान अदालतको अनुमति लिनुका साथै पुडाशैनी आत्महत्या प्रकरणसम्बन्धी कुनै पनि विषयमा कार्यक्रम प्रशारण प्रकाशन गर्न नमिल्ने आदेशमा उल्लेख रहेको अदालत स्रोतले जानकारी दियो।

‘रवि र युवराज देश बाहिर जानुपरेमा कारण खुलाएर जिल्ला अदालत चितवनको अनुमति लिनुपर्ने र पुडाशैनी आत्महत्या सम्बन्धी विषयमा कुनै पनि कार्यक्रम प्रशारण गर्न नपाउने भन्ने आदेशमा छ’, अदालत स्रोतले बिएल नेपाली सेवालाई भन्यो।

पुडाशैनीको आत्महत्याका बारेमा उनीहरूले कुनै पनि कार्यक्रम फेसबुक लाइभ तथा स्टाटस समेत लेख्न नपाउने अदालतको आदेशमा उल्लेख छ।

मुद्दाको अनुसन्धान गरेका प्रहरी, अभियोजन गरेका सरकारी वकिल र न्यायाधीशबारे पनि उनीहरूले टिभी कार्यक्रम फेसबुक लाइभलगायतका प्रकाशन/प्रशारण गर्न नपाउने पनि आदेशमा भनिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

रवि लामिछानेसहितका तीनै जना पक्राउ परेको १२ दिनपछि रिहा हुन लागेका हुन्।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडाशैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की ‘रूकु’लाई सामान्य तारेखमा छोडेको हो।

यसअघि जिल्ला अदालतबाट २ पटक गरी १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो।

प्रहरीले प्राप्त प्रमाणसहितको अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा अभियुक्तहरुसँग अदालतले आइतबार र सोमबार गरेर दुई दिनसम्म बयान लिएको थियो। बयान सकिएपछि थुन छेकको लागि मुद्दाको पक्षमा र विपक्षमा वकिलहरुले बहस गरेका थिए।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरी र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सञ्चारकर्मी लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनको कार्यालयबाट साउन ३० गते साँझ पक्राउ गरेर चितवन ल्याएको थियो। अर्की आरोपित अस्मिता कार्कीलाई भने साउन २९ गते नै प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो।

पत्रकार पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

प्रकाशित मिति: : 2019-08-26 18:26:55

प्रतिकृया दिनुहोस्