सिंहदरबारको थुनाबाट भागेका चार जनामध्ये थप एक जना पक्राउ

बीएल

चोरी अभियोगमा महानगरीय प्रहरी वृत्त सिंहदरबारको थुनाबाट भागेका चार जनामध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बिहान प्रहरीले दक्षिणढोकाबाट सुकलाल वाइवालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

शनिबार चार-जना थुनुवाहरू ह्याक्सो ब्लेडले रड काटेर फरार भएका थिए। फरार मध्ये दुई जना सुब्बा लामा र अनिल थापालाई प्रहरीले तत्काल समातेको थियो। अन्य दुई जना भने फरार थिए। ‘भगाउन सहयोग गर्नेलाई नियन्त्रणमा लिएका छौं।’

थुनामा रहेका उनीहरूलाई भेट्न गएका व्यक्तिले खानामा भित्र ह्याक्सो ब्लड राखेर थुनुवा कक्षसम्म पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

‘थुनामा रहेका व्यक्तिलाई परिवार आफन्त र साथीभाइले खाना लिएर जाँदा उनीहरूलाई नै खुवाएर मात्र लग्न दिन्छ। तर, उनीहरूले खानाको हड्केश भित्र ब्लड राखेको देखिएको छ। प्रहरीले खाना मात्र टेस्ट गरायो। तर खानाको तल पट्टी ब्लेड राखेको देखिन्छ। थप अनुसन्धान हुँदैछ,' डिएसपी बोगटीले भने।

थुनुवासम्म ह्याक्सो ब्लड पुर्‍याइदिन सहयोग गर्ने करण मोक्तान र रमेश सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका मध्ये फरार एक जना मदन तामाङको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-08-12 13:35:52

प्रतिकृया दिनुहोस्