इस्लाम धर्मावलम्बीले सोमबार बकर इद पर्व हर्षोउल्लासका साथ मनाउँदै छन् । मुस्लिम समुदायको इदुल फित्र पछिको ७० औं दिनमा पर्ने दोस्रो महान चाडको रुपमा मानाइने ईद–उल–जोहा (बकर इद) पर्व आज एक आपसमा खुशी बाड्दै मनाईदै छ ।
इद उल जोहाको अवसरमा प्रदेश २ सरकारले आज एक दिनका लागि प्रदेशको आठ वटै जिल्लामा सार्वजनिक विदा दिएको छ ।
यता प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउत बकर इद पर्व आफ्नै जन्मस्थल पर्साको जगरनाथपुरमा मनाईरहेका छन्।
आफ्नै गाउँ पुगेका मुख्यमन्त्री राउतले गाउँपालिका अध्यक्ष जालीम मियालगायत गाउँवासीको साथमा बिहानको नमाज पढेर परम्परा अनुसार एक अर्कालाई अंगालो मार्दै शुभकाना दिएको उनका स्वकीय सचिव दिपक यादवले बताए ।
मुख्यमन्त्री राउतले बकर इद (इदुल जोहा) को अवसरमा प्रेदशसँगै मुलुकमा भाइचारा, शान्ति समृद्धि बढोस् भनेर शुभकामना ब्यक्त गरेका छन्। साथै उनले सार्वजनिक विदाका दिन प्रदेशवासीहरुमा हर्षोल्लास सहित यो पर्व मनाउन सम्पूर्ण मुस्लीम समुदायसँग आग्रह पनि गरे ।
बकर इदको अवसरमा इस्लाम धर्मावलम्बीहरु मस्जिदमा जम्मा भई बिहानको नमाज सकेर घरमा आई खसीको बलि दिने चलन छ। उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने गरिन्छ । बकर इद पर्व तीन दिनसम्म मनाइन्छ।