अमेरिकी मध्यावधि चुनाव २०२२

अमेरिकी चुनावको प्रारम्भिक परिणाम: भारी देखिँदैछ रिपब्लिकन

डा. प्रदीप भट्टराई

ह्यारिसबर्ग, अमेरिका

म यतिबेला अमेरिकाको पेन्सेल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा अमेरिकी चुनावको मिडिया मनिटरिङ गरिरहेको छु। यो समाचार टिप्पणी लेखिरहेको बेला अमेरिकाका पूर्वी राज्यमा मतदान सकिएर मतगणना सुरू भएको छ र प्रारम्भिक मतपरिणाम बाहिर आउन थालेका छन्। अमेरिकी सञ्चारमाध्यमहरू चुनावी परिणामसँग सम्बन्धित समाचार र विश्लेषण लिएर आफ्नो टीआरपी बढाउन लागिपरेका छन्। उनीहरूलाई थाहा छ, आमसञ्चारमा परनिर्भरताको सिद्धान्तले यस्तै बेलाका लागि काम गर्छ। 

प्रारम्भिक अनुमानअनुसार अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा रिपब्लिकन पार्टीको बहुमत हुने देखिदैछ भने माथिल्लो सदन सिनेटमा कस्को पल्ला भारी हुने हो यसै भन्न सकिने अवस्था छैन। अहिलेसम्म प्रक्षेपण गरिएका चुनावी परिणामहरू यही दिशातिर गएका छन्। 

यतिबेलासम्म ४३५ सदस्यीय अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा बहुमतका लागि आवश्यक जादुगरी संख्या २१८ कसैको पक्षमा पनि देखिएको छैन। पछिल्लो आकंडाअनुसार १७६ डेमोक्रेट र १९८ रिपब्लिकनले जित्ने लगभग पक्का भए पनि बाँकि प्रतिस्पर्धात्मक रहेकाले यसै भन्न सकिने अवस्था छैन। यद्यपि, अहिलेसम्मको गणनामा यसअघि डेमोक्रेट्सले जितेका ३ स्थान रिपब्लिकनको पक्षमा प्रक्षेपण गरिसकिएको छ। 

यसैगरी सिनेटको प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। १०० सदस्यीय सिनेटमा यसपटक ३५ सिनेटरका लागि चुनाव भएको थियो। त्यसमध्ये २४ डेमोक्रेट्स थिए भने ११ रिपब्लिकन। अहिले दुबै पार्टीको ५०-५० स्थान छ र सिनेटको पदेन अध्यक्ष उपराष्ट्रपति कमला ह्यारीसका कारण डेमोक्रेटिक पार्टी बहुमतमा छ। प्रक्षेपित परिणामसहितको पछिल्लो तथ्याङ्कमा डेमोक्रेटस र रिपब्लिकनको संख्या ४०-४० देखिएको छ, बाँकि प्रतिस्पर्धात्मक रहेकाले यसै भन्न सकिने अवस्था छैन।

अमेरिकाको पूर्वी तटमा रहेको पेन्सेल्भेनिया एक पर्पल राज्य हो। यसको अर्थ यो न रातो राज्य हो, न नीलो। अमेरिकामा रातोले रिपब्लिकन पार्टी र नीलोले डेमोक्रेटिक पार्टी बुझाउँछ। कुनै बेला रातो र कुनै बेला नीलो भएर राजनीतिक रङ फेरिरहने राज्यलाई पर्पल राज्य भनिन्छ। 

०१६ को राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेद्वार डोनल्ड ट्रम्पले जितेर राष्ट्रपति भएका थिए भने २०२० को चुनावमा जो बाइडनले जित्दा उनी नै राष्ट्रपति भएका थिए। यो राज्य जसको पक्षमा उभिन्छ, उसैको राष्ट्रपति हुने लगभग सम्भावना रहन्छ। 

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेली सदस्यमा  नेपाली-अमेरिकी डा. ह्यारी भण्डारी दोस्रो कार्यकालका लागि उम्मेद्वार भएका छन्। उनी डेमोक्रेटिक पार्टीबाट राज्यको डिस्ट्रिक्ट ८ बाट उम्मेद्वार बनेका हुन्। यसअिघ २०१८ को चुनावमा उनी यही क्षेत्रबाट विजयी भएर पहिलो नेपाली अमेरिकी डेलिगेटको इतिहास बनाएका थिए। 

यसपटक यो राज्यका दुई स्थामध्ये एक स्थानका लागि सिनेटको चुनाव हुँदैछ। रिपब्लिकन प्याट टमीले अवकाश लिने भएपछि ओपन सिट भएको यो स्थान जित्नका लागि डेमोक्रेटिक पार्टी सबै कोणबाट ठूलो बल लगाएर भिडेको छ। ओपन सिट हुँदा जस्ले जित्छ, सामान्यत: उसले नै अवकाश हुनुअघिसम्म पनि चुनाव जितिरहेको हुन्छ। 

पेन्सेल्भेनियाका लेफ्टिनेन्ट गभर्नर जेम्स फ्याटरम्यान डेमोक्रेटिक पार्टीका उम्मेद्वार हुन्। उनलाई रिपब्लिकन पार्टीका लक्षिणपन्थी उम्मेद्वार अजले चुनौति दिइरहेका छन्। दुई वर्षअिघसम्म छिमेकी राज्य न्युजर्सीका स्थायी बासिन्दा ओज पेशाले एक चिकित्सक हुन्। औषधी व्यवसायी, उत्पादक र टेलिभिजन प्रस्तोता उनलाई पूर्वराष्ट्रपति ट्रम्पले इन्डोर्स गेका छन्। 

यी दुईबीच तीब्र प्रतिस्पर्धा रहेको छ र यो सिट जसले जित्छ लगभग उही पार्टीको सिनेटमा बहुमत हुने आँकलन गरिएको छ। 

अहिले यहाँ रातको १०: ०० बजेको छ। अबको अर्को १२ घण्टामा अमेरिका अर्को दुई वर्ष कता जान्छ  र त्यसपछिको बाटोले कुन मोड लिन सक्छ भन्ने कुराको पनि लगभग संकेत मिल्छ।

अमेरिका एक महाशक्ति राष्ट्र भएकाले यसको चुनावी परिणाम देशभित्र त महत्वपूर्ण हुन्छ नै, संसारका लगभग हरेक देशका लागि पनि यसको अहम् महत्व रहन्छ। अमेरिकामा ठूलो नेपाली डायस्पोरा रहेको र नेपालसँग दौत्य सम्बन्ध कायम राख्ने दोस्रो राष्ट्र भएकाले पनि नेपाल र नेपालीका लागि यहाँको चुनावी परिणामले ठूलो अर्थ राख्छ।

प्रकाशित मिति: : 2022-11-09 09:50:00

प्रतिकृया दिनुहोस्