नेपाल मेडिकल काउन्सिलले सहिद गंगालाल हृदय रोग केन्द्रमा गलत रगत चढाएपछि उपचारका क्रममा मृत्यु भएकी बालिकाको उपचारमा संलग्न १० जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ।
त्रिवि शिक्षण अस्पतालका डाक्टर भगवान कोईरालाको नेतृत्वमा बनेको बृहत छानबिन समितिको अध्ययन पछि काउन्सिलले उपचारमा संलग्न १० चिकित्सकलाई ७ दिनभित्र स्पष्टिकरण दिन पत्र काटेको हो।
यस्तै काउन्सिलले उपचारमा संलग्न ल्याब टेक्नीसियनलाई कारबाही गर्न नेपाल स्वास्थ्य ब्यावसायी परिषदलाई पत्राचार गरेको छ।
गंगालालमा मुटुको शल्यक्रियाका क्रममा गत वैशाखमा ५ वर्षिय बालिकालाई फरक समूहको रगत चढाइएको थियो।
फरक समूहको रगत चढाइएको केही दिनपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको थियो। ‘ओ पोजेटिभ’ रगत भएकी बालिकालाई ‘ए पोजेटिभ’ को रगत चढाइएको थियो।
उक्त घटनाका विषयमा छानबिन गर्न काउन्सिलले डा. भगवान कोइरालाको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो।
काउन्सिलले बालिकाको शल्यक्रियाको व्यवस्थापन गर्ने र रगत चढाउनुपर्छ भन्दै लेख्ने डाक्टर अपूर्व ठाकुरलाई निलम्बन किन नगर्ने? भन्दै स्पष्टिकरण पेश गर्न पत्र काटेको छ।
छानबिनका क्रममा डा. ठाकुरले रगत चढाउनुपर्छ भन्ने विषयमा आफूले लेखेको तर उक्त कागजमा ‘ए पोजेटिभ’ रगत हो भनेर आफूले नलेखेको दाबी गरेका छन्।
उनले उक्त कागजमा लेखिएका केही अक्षर आफ्नो नभएको दाबी समेत गरेका छन्। ‘काउन्सिलले यो विषयमा थप अध्ययन गर्न फरेन्सिक जाँच गर्ने तयारी समेत गरेको छ।
उक्त उपचार प्रक्रियामा गलत समूहको रगत चढाउने काम हुनुमा ल्यावसमेत दोषि देखिएको भन्दै काउन्सिलले ल्यावमा कार्यरत दुई जना कर्मचारीलाई हदैसम्मको कारबाही गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषदमा सिफारिस गरेको छ।
नेपाल मेडिकल काउन्सिलका अनुसार ल्याव टेक्नीसियन सरला कोइराला र विन्देश्वर यादवलाई कारबाहीका लागि सिफारिस गरिएको हो।
यसैगरी, काउन्सिलले अस्पताल प्रशासनलाई नैतिक जिम्मेवार बन्न निर्देशन दिएको छ।
सर्लाही सिसौटियाकी आकृति कुमारीको मुटुको भल्भमा समस्या थियो। ५ वर्षीया आकृतिको मुटुको भल्भ फेर्न वैशाख १३ गते गंगालालमा भर्ना गरिएको थियो।
उनको १७ गते सल्यक्रिया गरिएको हो। तर, सो क्रममा उनलाई फरक समूहको रगत चढाइएको थियो।
फरक समूहको रगत चढाइएपछि उनको क्रियटिन बढेर ४ दशमलव १ एमजिडिएल पुगेको थियो।