आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट दुई महीनाको अवधिमा ६ हजार २८३ जनाले स्थायी लेखा नम्बर (प्यान) र भ्याट प्रमाणपत्र लिएका छन्।
व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका अर्थ उपार्जनका गतिविधिहरुको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ गतेदेखि प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।
“सरकारले सो व्यवस्था गरिएपश्चात् विशेषगरी व्यक्तिगत प्यान प्रमाणपत्र लिन आउनेको सङ्ख्या ह्वात्तै बढेको छ”, आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले भने, “अहिले दैनिक रुपमा तीन सयदेखि पाँच सयखसम्म सेवाग्राहीहरु व्यक्तिगत प्यान लिन मात्रै आउने गरेको छ।”
सत्र–अठार जना कर्मचारी रहेको सो कार्यालयमा सेवाग्राहीको घुइँचो बढेसँगै खाजा खाने समयमा समेत समय मिलाएर सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको उनको भनाइ छ। “टाढा÷टाढाबाट आउने सेवाग्राहीहरुका लागि हामीले कार्यालय परिसरमा आएपछि बेलुका ६÷७ बजेसम्म बसेर भए पनि प्रमाणपत्र उपलब्ध गराउने गरेका छौँ”, उनले भने, “व्यक्तिगतसँगै व्यावसायिक र भ्याट प्रमाणपत्र लिन आउनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ।” माल वस्तु ओसारपसार गर्दा बिल र ढुवानी पेश गर्नुपर्ने व्यवस्थाले गर्दा झन् बढी व्यावसायिक प्यान लिनेको सङ्ख्या बढेको उनले बताए।
व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि तपाईंले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ। जसले तपाईंको व्यवसाय, रोजगारी वा आयआर्जनमा अप्ठ्यारो पार्न सक्छ। कर तिर्न योग्य हुनका लागि निश्चित नीति नियम तथा मापदण्ड छन्।
के हो प्यान नम्बर?
स्थायी लेखा नम्बर अर्थात प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी संकेत अंक हो । यो ९ डिजिटको हुन्छ। कुनै व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरे पनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ।
यो कर तिर्ने प्रयोजनमा काम लाग्छ। यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचना समेत यहाँ भण्डारण गरिएको हुन्छ।
कसरी लिन सकिन्छ?
व्यवसाय वा आय आर्जनमा संलग्न हुने व्यक्ति वा अग्रीम करकट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर लिनुपर्ने कानूनी प्रावधान छ। अहिले सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विद्यालय, विश्वविद्यालय, अस्पताल, गैरसरकारी संस्थालगायत निजी क्षेत्रका संघसंस्था एवम् उद्योग व्यवसायिक र्फमबाट कर्मचारीर कामदारको एकमुष्ट फाराम भराउन सकिने सुविधा दिइएको छ।
अनलाइनबाट पनि दर्ता फाराम भर्न सकिन्छ। कार्यालयले स्थलगत रुपमा टोली खटाउन माग गरे विभागबाट सम्बन्धित कार्यस्थलमै कर्मचारी खटाएर प्यान नम्बर प्रदान गर्ने व्यवस्था सरकारले मिलाएको छ। व्यक्तिगत रुपमा नजिकको करदाता सेवा कार्यालय तथा आन्तरिक राजस्व कार्यालय पुगेर प्यान लिन सकिने व्यवस्था मिलाइएको छ। यसका लागि नागरिकताको फोटोकपि र फोटो आवश्यक हुन्छ।
विदेशीलाई पनि अनिवार्य
नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बरका लागि विदेशीले निज कार्यरत रहेको कार्यालयको सिफारिस र विदेशी भनी प्रभाणित गराउने कागजात अनिवार्य बुझाउनुपर्छ।
“नेपालभित्र बसेर आम्दानी गर्ने सबै व्यक्तिका लागि अनिवार्य हो,’ प्रमुख कर अधिकृत पराजुलीले भन्नुभयो, ‘त्यसका लागि दर्ता गर्ने क्रममै परिचय खुल्ने कागजातको व्यवस्था गरिएको छ।’ विदेशीको हकमा राहदानी वा सम्बन्धित कूटनीतिक नियोगद्वारा जारी गरिएको प्रमाणपत्र दाखिला गर्नुपर्ने व्यवस्था छ।
नेपालको अनौपचारिक क्षेत्रमा ठूलो संख्यामा भारतीय कामदार कार्यरत छन्। तर, कति संख्यामा छन् भन्ने खुलेको छैन। उनीहरुलाई अन्य देशका नागरिकलाई जस्तो श्रम स्वीकृति चाहिँदैन। प्यान नम्बर लिन पनि उनीहरुलाई श्रम स्वीकृति आवश्यक पर्दैन।
व्यवसाय, रोजगारी वा अन्य कुनै आर्जन गर्ने प्रत्येक व्यक्ति, फर्म र संस्थाले अनिवार्य रुपमा कर कार्यालयमा दर्ता भई स्थायी लेखा नंम्बर ९प्यान० लिनुपर्छ। व्यवसाय दर्ता गरिसकेपछि कर कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्दछ। स्थायी लेखा नम्बर लिएका व्यक्ति तथा संस्थाले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आन्तरिक राजस्व कार्यालयमा कर विवरण बुझाउनुपर्दछ।
कति जनाले लिए प्यान ?
अन्तःशुल्कको नवीकरण र भ्याटको अन्तःशुल्कको प्रमाणपत्र नवीकरण साउन महीनाभित्रमा नै गर्ने भएकाले पनि सेवाग्राहीको थप घुइँचो बढेको कार्यालयले जनाएको छ। जेठ १५ देखि साउन २२ गतेसम्ममा पाँच हजार १८४ जनाले व्यक्तिगत प्यान प्रमाणपत्र लिइसकेको छ।
त्यस्तै व्यावसायिक प्यान लिएको सङ्ख्या एक हजार २२ र भ्याट प्रमाणपत्र लिनेको सङ्ख्या ७७ रहेको रहेको प्रमुख कर अधिकृत पराजुलीले बताए। काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको कार्यालयबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्ला गरी चार वटा जिल्लालाई सेवा प्रदान गर्दै आएको छ। (रासस)