प्रवीण बास्तोला मृत्यु प्रकरण

बास्तोला मृत्यु प्रकरण:मिसिलमा मृतकको गलत फोटो समावेश गर्ने प्रहरी निरीक्षक अझै उर्लाबारीमै !

तेजन खड्का

उर्लाबारी

मिसिलमा मृतकको गलत फोटो समावेश गरेपछि अनसुन्धानका लागि तानिए भनेर प्रचार गरिए पनि  इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल उर्लाबारीमै  कार्यरत छन्। 

उर्लाबारीका प्रवीण बास्तोला मृत्यु प्रकरणमा  कर्तव्य ज्यानको मुद्दालाई प्राकृतिक मृत्युु ठहर गर्न अपराधमा संलग्न भएकाहरूसँग मिलेको आरोप लागेका पोखरेल अझै उर्लाबारीमा रहनुलाई पीडित परिवारले गम्भीरता पुर्वक लिएका छन्।

अपराधको घटनालाई गम्भीर नठानी भवितव्य ठानेर हचुवा ढंगले अनुसन्धान गर्दा  पोखरेल विवादमा परेका थिए। त्यसो त घटनाबारे इलाकामा बुझ्न जाने क्रममा पीडित बास्तोला परिवारलाई आलटाल र हप्की दप्की गर्ने गर्थे। लागूऔषध ओसार पसारमा पटक पटक पक्राउ परेर धरौटीमा रिहा भएका  पप्पुको समुहलाई संरक्षणमा खुलेर उत्रिएका पोखरेलले आफू मात्रै होइन उर्लाबारीका नगर प्रमुख खड्ग फागोलाई पनि गिजोल्न सफल भए। 

विवादमा रहेका प्रहरी निरीक्षक पोखरेलले अझै उर्लाबारी प्रहरी प्रमुखको कुर्सी सम्हालिरहँदा कस्लाई कुन केशमा फसाउने र कुन केशमा सेटिङ गर्ने हुन, स्थानीय त्राशमा छन्। 

 ‘कसैको दवाव र प्रभावमा प्रहरीले अपराध अनुसन्धानमा कतिसम्म खेलबाड गर्छ भन्ने पुष्टि पनि भएको छ, मोरङ उर्लाबारीका नारायण बस्नेत भन्छन्, प्रहरीले भवितव्य भनेको मृत्यु कर्तव्य ज्यानमा अभियोगमा फेरिएपछि प्रहरीको विश्वसनीयतामा प्रश्न खडा भयो। जस बिरुद्ध सबै सडकमा आउन आवश्यक छ।

मोरङको उर्लाबारी नगरपालिकामा दुई  महिनाअघि बास्तोलाको रहस्यमय मृत्यु भएको थियो। उनको हत्या अभियोगमा ६ जना आरोपीविरुद्ध कर्तव्य ज्यान कसुर आरोपमा मुद्दा दर्ता भएको छ। जिल्ला अदालत मोरङले १३ फागुनमा एकजना आरोपीलाई पुर्पक्षका लागि जेल पठाएको छ भने एकजनालाई धरौटीमा छाडेको छ। पहिले अनुसन्धानका लागि पक्राउ गरेर छाडिएका चारजना आरोपी अझै फरार छन्।



शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैको तस्बीर 

दाजुको हत्यारा पत्ता लगाउन अमेरिकादेखि आएकी युवतीले यस कारण समातिन् इन्स्पेक्टरको कठालो 



बास्तोला हत्या अनुसन्धान विवादमा परेपछि मोरङ प्रहरीले छानबिन समिति त गठन गर्यो।  तर छानविन समितिले प्रभावकारी काम गर्न नसक्दा छानविन समितीलाई नै पो छानविन गर्नुपर्ने हो कि भन्ने प्रश्न चिन्ह खडा भएको छ। 

१० फागुनमा डिएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति गठन गरी गलत अनुसन्धान भएको पाइए विभागीय कारबाही गर्ने प्रतिबद्धता प्रहरीले जनाएको थियो। तर हालसम्म प्रहरीले छानबिन समितिको प्रगति सार्वजनिक गरेको छैन। न त कसैलाई विभागीय कारबाही नै गरेको छ।

मृतक बास्तोलाका आफन्तले प्रहरीले अनुसन्धान फितलो बनाउन किर्ते काम गरेको आरोप लगाउँदै प्रहरीविरुद्ध संघर्ष थालेका थिए।

अनुसन्धानको मिसिलमा मृतकको गलत फोटो समावेश गरेको, पक्राउ गरेका आरोपीलाई छाडिदिएको, परिवारलाई गलत सूचना दिँदै धाकधम्की दिएको आरोप लगाउँदै उनीहरूले दुरुस्त अनुसन्धान गर्न प्रहरी र सरकारी वकिललाई दबाब दिँदै आएका थिए। प्रहरीले पोस्टमार्टम रिपोर्टमा अलि गम्भीरतापूर्वक चासो दिएको भए पनि प्रवीणको मृत्यु भवितव्य नभएर कर्तव्य हो भन्ने प्रमाण सहजै जुटाउन सक्दथ्यो। किनभने पोस्टमार्टम रिपोर्टमा घाँटीको भित्री भागमा दबाएको जस्तो दाग भएको, लुगा च्यातिएकाले कुनै संघर्ष भएको भन्नै आधार खुलेको थियो। तर, प्रहरीले त्यसतर्फ अनुसन्धान गर्न चासै दिएन। पक्राउ गरिएकाको कागजी बयान गराएर सरकारी वलिकमा मुद्दा बुझायो।

प्रहरीले समयमै अनुसन्धानमा चासो दिएको भए र कुनै पनि अपराधलाई समान्य ठान्नु हुँदैन र हरेक आधारलाई सूक्ष्म रूपले अनुसन्धान गर्नुपर्छ भन्नेमा पनि प्रहरी चुक्यो। जसले गर्दा प्रमाण अभाव भएपछि पक्राउ परेका चारजना हिरासतमुक्त भएका थिए।

घटना के हो ? 

प्रवीण गत पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए। त्यहाँबाट १ किलो मिटर पूर्वको सौरभी होटलमा पुग्छन,  र होटल सञ्चालक कुमार राई लगायतले रक्सी खान्छन्।  रक्सी प्रविणले मात्र पिएको दाबी प्रहरीले गरेको छ। जिउ थाम्न नसक्ने गरी रक्सी पिएको ब्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रवीण बदाम जुस लिन स्कुटर चढेर केही परसम्म पुगेको बताइन्छ।



प्रवीण बास्तोला प्रकरणः प्रहरी निरीक्षक पोख्रेलसहित ४ आरोपी अनुसन्धानमा तानिए

बास्तोलाको शंकास्पद मृत्यु, प्रहरी नै शंकाको घेरामा



तीन वटा बदाम जुस लिएर प्रवीण कहाँ पुगे न त प्रहरीको अनुसन्धान बोल्छ न उनको हत्यामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन्।  त्यति मात्र होइन, मद्रासी फिल्मीशैलीमा प्रवीणलाई मार्ने योजनाका लागि उनलाई भोलिपल्ट जिस्क्याउने भन्दै घुरेको भिडियो खिच्छन्।  मध्यरातको १२ बजे बनाएको भिडियो अहिलेसम्म प्रवीणको परिवारले हेर्न पाएका छैनन्। त्यति मात्र होइन १ बजेर १० मिनेट जाँदा उनको मोवाइलबाट अज्ञात नम्बरमा २० रुपियाँ ट्रान्फर समेत गरिन्छ।

होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दिपेश पौडेल, राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु कोही ब्यक्ति भएको बास्तोला परिवारको दाबी छ। घटनामा संलग्नहरू कोही लागु औषध कारोवारमा पटकपटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकोले परिवारले अत्यधिक लागु औषध खुवाएर मारेको हुन सक्ने पीडित परिवारको आरोप छ।

एकलाई जेल चलान, अर्का धरौटीमा रिहा

प्रवीण बास्तोलाको मृत्यु प्रकरणबारे जिल्ला अदालत मोरङले पक्राउ परेका दुईमध्ये एकलाई पूर्पक्षका लागि कारागार चलानको गर्ने भएको छ भने अर्कालाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ।

पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई बिहीबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। 

अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले  जानकारी दिए।

उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको हत्या आरोपमा प्रहरीले  ६ जना विरुद्ध मुद्दा दायर गरेको थियो। प्रहरीकै यसअघिको फितलो अनुसन्धानको कारण मुद्दा दायर गरेका मध्ये चारजना अझै सम्म फरार छन्।  मुद्दामा प्रतिवादी उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल र रमेश गिरी फरार छन्। 

प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निस्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै  सरकारी वकिलको  कार्यालयले माघ २ गते आवश्यक परेको हाजिर हुने सर्तमा चारजनालाई छाडिदिएको थियो। आफैले छोडेका ब्यक्तिलाई हाल आएर प्रहरीले फरार सुचीमा राखेर खोजिरहेको बताएको छ। यसले पनि प्रहरी र अपराधमा संलग्नहरू बीच भित्री सम्बन्ध भएको सहज अनुमान गर्न सकिन्छ।

प्रकाशित मिति: : 2021-02-27 15:39:00

प्रतिकृया दिनुहोस्