भक्तपुर । बहुजाति र बहुभाषी नेपालमा सबैलाई आ–आफ्नो भेषभूषा प्यारो लाग्छ। उनीहरू विभिन्न चाड पर्वमा आफ्नै पहिरन लगाएर चिटिक्क भएर हिँड्छन्।
अझै आजभोलि त काठमाडौंका सडकहरूमा निस्कने जुलुस र जात्रामसमेत आ–आफ्नै पहिरनमा सजिएका युवा युवतीको बाक्लो उपस्थिति हुन्छ।
यस्तै पहिरन मध्ये हाकुपटासी काठमाडौंका सडकमा धेरै देख्ने गर्छौ। यो हाकुपटासी हेर्दा जती सुन्दर देखिन्छ बनाउन त्यतिकै गाह्रो हुन्छ।
गुणस्तरीय धागो किन्ने, रङ्ग्याउने, धागो सुकाउने अनि चर्खममा राखेर धागो निकाल्ने र तानमा बुनेर मात्र लगाउन मिल्ने हुन्छ।
भक्तपुरकी पूर्णा देवी खाताखो २० वर्षदेखि हाकुपटासी बुन्न थालेकी हुन्।
५८ वर्षिया पूर्णादेवी उनकी आमाले सानैमा हाकुपटासी बुन्न सिकाइन्। बीस वर्षको उमेरमा विवाह गरेर श्रीमान आशारामको घरमा आएकी उनले त्यही तान राखेर हाकुपटासी बुन्न थालिन्। उनी मात्र होइन, घरका सबैले हाकुपटासी बुन्थे। त्यही बुनेको कपडा उनीहरू लगाउने गर्थे।
कुनै समय भक्तपुरमा अधिकांश घरमा हाकुपटासे बुन्ने तान थियो, आफ्ना लागि आवश्यक कपडा उनीहरू आफैं बनाउँथे। समय परिवर्तनसँगै घर–घरमा भएका तान हराउँदै गए। हाकुपटासी बुन्न पनि छोडियो।
अहिले हातका औलामा गन्न सकिने व्यक्तिले मात्र यसलाई व्यवसायका रूपमा चलाइरहेका छन्। अधिकांश नेवारी समुदायका मानिसहरू बदलिदो फेसनसँगै आधुनिक फेसनमा रमाउन थालेपछि हाकुपटासी बुन्ने क्रम पातलियो।
सुरूमा पूर्णादेवी एक्लैले चलाएको घरेलु व्यवसायमा कामको चाप बढ्दै गएपछि श्रीमानले उनलाई सघाए।
आशाराम र पूर्णादेवी मिलेर चलाएको व्यवसायमा उनीहरूले बाहिरका केही महिलालाई समेत रोजगारी दिएका छन्।
दिनमा एक जनाले दुई वटासम्म सारी बुन्न सक्ने पूर्णाले बताइन्।
उनीहरू भक्तपुरमा नियमित रूपमा अर्डर अनुसार चार वटा पसलमा हाकुपटासी बेच्ने गर्छन्।
जरी भएको हाकुपटासी आठ सय र जरी नभएको हाकुपटासी सात सय पचहत्तर रूपैयाँमा आशारामले होलसेल पसलमा दिने गरेको बताए।
मेहनत अनुसारको दाम नपाए पनि आफ्नो गुजारा चलेको र आफ्नो संस्कृतिलाई जगेर्ना गरेकोमा पूर्णादेवी दङ्ग छन्।
आफू सानो छँदा घर–घरमा हाकुपटासी बुन्ने तान र सीप देखेको भक्तपुरका स्थानीय मिलन हाडाले खाताखो दम्पत्तिले भक्तपुरको संस्कृति बचाइराखेको बताए।
‘पहिलेको तुलनामा भक्तपुरमा एग्रिकल्चर सकियो र कल्चर पनि सकियो। यसको जगेर्ना अब उहाँहरू जस्तैले गर्ने हो,’ उनले भने।
दिन रात नभनी काम गर्ने पूर्णालाई मेहनत अनुसारको मूल्य नपाएकोमा चिन्ता लाग्छ।
‘यही हाकुपटासीको कमाईले छोरालाई ईन्जिनियर बनाएँ, छोरीलाई नर्स। अर्को छोरा होटेलमा काम गर्छन्। यसकै कमाइले घर बनाए,’ उनले भनिन्,‘निरन्तरको मेहनत र गुणस्तरीय कामले हामीलाई आज यहाँसम्म ल्याइपुर्याएको हो।
उनले भक्तपुरमा यस्तो पेसा हराउँदै गएकाले संरक्षण गर्नुपर्ने भन्दै आफ्नो उद्धेश्यनै संस्कृतिको संरक्षण गर्नु रहेको बताइन्।