हाम्रो समाजमा अहिले पनि जघन्य अपराध गर्ने अपराधीलाई पैसाको बलमा उन्मुक्ति दिने प्रचलन कायमै रहेको एउटा घटनाको दृष्टान्तले प्रमाणित गरेको छ। रंगेली नगरपालिका –९ स्थित सखुवाथानमा यस्तै घटना सार्वजनिक भएको छ।
असार २० मा भएको घटनामा एक अशक्त नाबालिक किशोरीलाई स्थानीय ३ युवाले मिलेर सामुहिक करणी गरे । नाबालिग परिवारका सदस्यले घटना थाहा पाएपछि गाउँका ठूला भनाउँदाले ती किशोरीका बिपन्न अविभावकलाई पैसाको प्रलोभन दिएर कागज गरी घटना मिलाउन खोजेका थिए। मुद्धा मिलाउन एक लाख ५० हजार रुपैयाँकाे प्रलाेभन दिइएकाे थियाे।
तर, कानुनको हात लामो हुन्छ भनेजस्तै घटनाको बारेमा जानकारी पाएका समाजका सचेत नागरिकले ढिलै भएपनि प्रहरीलाई सूचना दिएपछि रंगेली प्रहरी कारबाहीका लागि जुर्मुरायो । र, उसले तत्कालै आरोपीलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याएको छ।
रगेली प्रहरी प्रमुख प्रहरी निरीक्षक कबिन्द्रकुमार कार्कीले नाबालिग किशोरीलाई सामुहिक बलात्कार गर्ने रंगेली-९ सखुवाथान बस्ने २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई पक्राउ गरेको छ। मोरङ नेताचोकका २३ वर्षीय सबिन चौधरी भने फरार छन् ।
‘हामीलाई घटनाको बारेमा ढिलो जानकारी भएपनि कानुन कार्यान्वयनमा कुनै कसर राखेका छैनौं,’ निरीक्षक कार्कीले बताए।
पीडित नाबालिग हाल ओरेक नेपालको सेफ हाउसमा छिन् ।