मोरङमा कृषकको आरोप– धान किन्दा व्यापारीले ठगे

व्यापारीबाट ठगिएको गुनासो गरेका कृषक सुरेन्द्रकुमार मण्डल । बीएल

मोरङको रंगेली नगरपालिकाका कृषकहरूले धान खरिद गर्दा तौल कम देखाएर व्यापारीहरूले ठगि गरेको आरोप लगाएका छन्। 

उनीहरूले आफूले धान विक्री गर्दा व्यापारीले तौल कम देखाउने गरेको बताए। रंगेली नगरपालिका– ५ आँपगाछीका कृषक सुरेन्द्रकुमार मण्डलले चैते धान बिक्री गर्दा स्थानीय धानको खरिद बिक्री गर्ने व्यापारी नन्दलाल मण्डलबाट ठगिएको आरोप लगाए।

कृषकहरूले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै काँटाबाट धानको कारोबार गर्ने व्यापारीले ठगि गर्ने गरेको आरोप लगाए।

२ विघा १४ कट्ठा क्षेत्रफलमा धान खेती गर्दै आएका सुरेन्द्रले यस वर्षको धान राम्रो उत्पादन हुने अपेक्षा राखेको र त्यही अनुरुप उत्पादन भए पनि आफू ठगिएको बताए ।

‘अपेक्षा राखे अनुसार धान राम्रै उत्पादन भयो,’ उनले भने, ‘खेती गर्दाको ऋण तिर्न धान बिक्री गर्नैपर्छ।’ मण्डललाई चैते धान लगाउन करिब ५० हजार ऋण लागेको थियो।

उनले ऋण तिर्न र परिवार पाल्न उत्पादन भएको धान स्थानीय व्यापारी नन्दलाललाई प्रतिमन ६ सय ३० रुपैयाँ र चिउरा बनाउने बजरङगी धान ३ सय ४० रुपैयाँमा बिक्री गरेको बताए।

पसलमा राखेको मेसिनबाट तौल नाप्दा व्यापारीले ठगि गरिरहेकोले उनले धर्मकाँटामा तौल गर्ने सर्तमा बिक्री गरेका थिए। उनले घुटराज प्रजातिको ३५ मन धान तौलेर र बजरंगी प्रजातिको करिब ४० केजी तौल भएको ३ सय १४ बोरा धान तौल नगरी बोरामा भरेर व्यापारीलाई दिएको सुनाए।

‘आँगनमा ३ सय १४ वटा बोरामा भरेको धान ना ३ ख ५२५९ नम्म्बरको ट्रकमा व्यापारी नन्दलालले लोड गरेर गएका थिए,’ उनले भने, ‘दुबै पक्षको उपस्थितिमा भोलि बिहान धर्मकाँटामा तौल गर्ने सर्त गरेर नन्दलालले ट्रक लिएर गएका हुन्।’

‘मैले ३ सय ४० मन जति धान हुने अनुमान गरेको तर नन्दलालले ३ सय १४ मन मात्रै तौल आएको बताए,’ उनले भने, ‘धर्मकाँटाको बीलमा आफूले अनुमान गरे अनुसार तौल उल्लेख भए पनि नन्दलालले २१ मन ३० किलो धान बाटोमा पनि ट्रकमा लोड गरेको भनेर ठग्न खोज्दै छन्।’

२१ मन ३० किलो कम देखाएर धानको पैसा हिनामिना गरेकोे सुरेन्द्रकुमारले बताए।

धान व्यापारी नन्दलालले भने आफूले खरिद गरेको धानमा किसानलाई नठगेको दाबी गरे। बिक्री गर्ने कृषकको सामुनै धानको तौल लिइने भएकाले विभिन्न प्रकारको आरोप लगाएर आफूलाई बद्नाम गराउने प्रयास भइरहेको उनले बताए।

 

प्रकाशित मिति: : 2019-07-29 23:25:48

प्रतिकृया दिनुहोस्