कोशी अस्पतालका ९०% डक्टर ‘डियुटी’ छोडेर निजी अस्पतालमा : बिरामी अलपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत कृष्णलाल यादव अनुगमन गर्ने क्रममा । बीएल

प्रदेश नम्बर १ को राजधानी विराटनगरको सबैभन्दा बढी भीडभाड हुने कोशी अस्पतालका ९० प्रतिशत चिकित्सक पैसाको लालचमा निजी अस्पतालमा काम गर्ने गरेको प्रमाणित भएको छ। 

डयुटी अवधिमा कोशी अस्पतालका चिकित्सक अन्यत्र काम गर्ने गरेको जनगुनासोको आधारमा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छड्के अनुगमन गरेको थियो। जसमा बहिरंग विभागमा ९० प्रतिशत चिकित्सक ड्युटीको समयमा अनुपस्थित भेटिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत कृष्णलाल यादव आफैंले बिरामी बनेर गरेको छड्केमा सरकारी अस्पतालको अवस्था बेहाल देखिएको थियो।

‘अस्पतालमा आफै बिरामी बनेर अनगुमनका लागि पुगेको थिएँ,’ उनले भने, ‘तर कार्यालय समयमा ९० प्रतिशत चिकित्सक बहिरंग विभागमा भेटिएनन् ।’

यादवले दिउँसो साढे एक बजेतिर गरिएको अनुगमनका क्रममा अस्पतालका विभिन्न विभाग पूरै खाली थियो।

‘कुनै विभागमा एक–दुई चिकित्सक भेटिए,’ उनले भने, ‘प्राय सबै खाली हुँदा बिरामी भने उपचारको पर्खाइमा बसिरहेका भेटिए।’

यादवले अस्पतालमा देखिएको बेथितीको अवस्था तथा चिकित्सकको लापरबाहीलाई लिएर प्रतिवेदन तयार पारेर मन्त्रालयमा बुझाउने बताए। ‘प्रतिबेदनकै आधारमा चिकित्सकलाई कस्तो कारबाही हुने भन्ने निर्णय हुन्छ,’ उनले भने।

कोशी अस्पतालमा सरकार र अस्पताल विकास समितिबाट नियुक्ती पाएका विशेषज्ञसहित ६० चिकित्सक कार्यरत छन् । २५ जनालाई अस्पताल विकास समितिले नियुक्ती दिएको छ।

नेपाल सरकारले १४ जनालाई कारारमा राखेको छ। उनीहरुको नियुक्ती नवीकरण भने असारदेखि भएको छैन। अस्पतालका अनुसार करारमा रहेका चिकित्सकको अवधि सकिएपछि थप गर्नका लागि असार २३ गते नै सम्बन्धित निकायमा पत्राचार गरिएको छ। तर अहिलेसम्म १४ जना चिकित्सकको करार अवधि थपिएको छैन।

अस्पतालमा कार्यरत चिकित्सकले बहिरंग विभागमा दैनिक बिहान ९ देखि दिउँसो २ बजेसम्म काम गर्नु पर्ने हुन्छ। तर ११ बजे आउने चिकित्सक १ नबज्दै निजी क्लिनिक पुगिसक्ने गरेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले बताए।

‘नियमको धज्जी उडाउँदै चिकित्सक निजी क्लिनिकमा जान्छन्। सरकारी तलव खाएर सेवा भने निजीमा दिन्छन्,’ उनले भने, ‘त्यस समयमा सरकारी अस्पतालमा आउने बिरामी उपचार नपाएर हैरान हुन्छन् । यसले टाढाबाट उपचारका लागि सरकारी स्वास्थ्य सेवा लिन आएका आर्थिक अवस्था कमजोर भएका बढीमा मारमा परिरहेका छन् ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले अस्पतालको केही विभागमा दरबन्दी अनुसार चिकित्सकको पदपूर्ति हुन नसक्दा पनि सेवा प्रवाहमा केही समस्या भएको बताए । उनले तोकिएको समयमा नभेटिनु चिकित्सकको कमजोरी रहेको पनि बताए । भने, ‘उपचार गराउने बिरामी धेरै नभएकाले पनि भएका बिरामी हेरेर चिकित्सकहरु बाहिर निस्किएका हुन सक्छन् ।’ डा. पोखरेलले आगामी दिनमा चिकित्सकमाथि निगरानी बढाइने र अस्पतालबाट प्रवाह हुने सेवालाई थप चुस्तदुरुस्त बनाइने जानकारी दिए ।

 

 

 

प्रकाशित मिति: : 2019-07-29 22:37:35

प्रतिकृया दिनुहोस्