दर्जनौँ बस्ती पहिरोको जोखिममा

बिएल

जिल्लामा आएको लगातारको वर्षाले जताततै पहिरो बग्न थालेपछि जिल्लाका हजारौँ परिवार जोखिममा बस्न बाध्य भएका छन्।

स्थानीयवासीका घरआँगनमै पहिरो बग्न थालेपछि जिल्लाका दर्जनौँ बस्तीमा बसोबास गर्ने स्थानीयवासीलाई उठीबासको चिन्ता बढेको छ। अविरल वर्षासँगै यहाँका दर्जनौँ  बस्तीहरु जोखिममा परेका छन्।

नौ वटै स्थानीय तहका जनताले हरेक वर्ष पहिरोको डरले पालमुनि रातभर जागराम बस्नु परेको स्थानीयवासी दुःखेसो गर्न थालेका छन्। जिल्लामा गएको तीन दिनदेखि लगातार भारी वर्षा भइरहेको छ। रातदिन कुनै क्षण पनि पानी पर्न रोकिएको छैन। जसका कारण कमजोर र भिरालो जमिन भासिन थालेको छ भने पाखो जमिनमा पहिरो बग्न थालेको छ।

बर्सेनी जिल्लाका अधिकांश बस्ती पहिराको जोखिम मोल्दै आइरहेका छन्। यहाँका पूर्वी उत्तरी भेग र दक्षिणी भेगका अधिकांश बस्तीहरु पहिरोको जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्याङ्क छ।

जिल्लाका सबैभन्दा बढी जोखिममा रहेका ९५ बस्तीलाई उपयुक्त ठाउँ खोजी गरी सार्ने निर्णयसहित केन्द्रमा पठाएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रजिअ गङ्गाप्रसाद न्यौपानेले बताए।

उनले बाढीपहिरो आउने भएकाले जिल्लामा उद्धार समिति तयारी अवस्थामा रहेको न्यौपानेले बताए। पहाडी क्षेत्र र भिरालो जमिनमा बस्दै आएका स्थानीयवासीले रातभर जागराम बस्ने गरेका छन्। गाउँको तल डोजरले बाटो खनेपछि खप्तड छेडेदह गाउँपालिका–६ नाइना र सुदाडाका ५० भन्दा बढी परिवार पहिरोको उच्च जोखिममा बस्न बाध्य छन्। पानी परेको दिनको रातदेखि घरमा बस्न नपाएको स्थानीयवासीले गुनासो गरेका छन्। नजिकका आफन्त र गोठ छानामा बस्ने गरेको स्थानीयवासी माने साउँदले बताए।

खप्तड छेडेदह गाउँपालिका–६ नाइनामा ३० भन्दा बढी परिवारको बसोबास रहेको छ। तीमध्ये १२ परिवार पहिरोबाट विस्थापित नै बनेका छन्। घरको अगाडि पहिरो बग्न थाल्यो, सडक नखन्दासम्म यति डर हुदैन थियो, यो वर्ष त बस्ती नै नरहने भयो, दीपक नाथको गुनासो छ।

गाउँमा यो वर्ष मात्र खप्तड छेडेदह गाउँपालिकाले डोजर लगाएर बाटो निर्माण गरेको छ। क्षतिको पूर्वअनुमान नै नगरी जथाभावी डोजरले बाटो निर्माण गर्दा पहिरोको जोखिम बढेको स्थानीयवासी खगेन्द्र नाथले बताए।

सडक बाटो निर्माण गरेपछि सोही वडाको सुदाडामा पनि दर्जनभन्दा बढी परिवार विस्थापित हुने खतरा बढेको छ। हिरा सार्कीसहितका १२ बढी परिवार जोखिममा रहेको प्रेम नेपालीले बताएका छन्। गाउँमा विकासका नाममा विनाश गरिएको स्थानीयवासीको आक्रोश छ। डोजरको प्रयोग गरी सडक निर्माण गरिएका सबैजसो क्षेत्रमा बस्ती पहिरोको जोखिममा छ। जिल्लाका खप्तड छेडेदह गाउँपालिका–७ स्थित गुम्लागाउँका २० परिवार र सोही गाउँपालिका–४ गुइवनका ३० परिवार पहिरोको उच्च जोखिममा रहेको पाइएको छ।

यसैगरी बूढीगङ्गा नगरपालिका–२ बजेडीका दुई सय परिवार, निमनीका ३०, साहुवाडाका डेढ सय, गडतोलाका ३५ परिवार, बसालीका डेढ सय परिवार बर्षौ पहिरोको जोखिममा रहेको बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले बताए।

राज्यले बस्ती विकास कार्यक्रममार्फत उनीहरुलाई व्यवस्थापन गर्ने बताए पनि कार्यान्वयन हुन सकेको छैन। बडीमालिका नगरपालिका क्षेत्रभित्रमा रजाली, पाटा, जिल्लीका २०० भन्दा बढी परिवार वर्षाको समयमा घर छोडेर अन्यन्त्र बस्ने गरेका छन्।

विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी सडकमा डोजर लगाउनु र जथाभावी बाटो काट्ने पहिरोको पहिलो कारण भए पनि भिरालो र पाखो जमिन अनि कच्चा पहाडी जमिनको सतहकै कारण पहिरोको जोखिम बढी भएको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराले जनाएको छ।

बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख शाहले पहिरोको जोखिममा रहेका स्थानीयवासीलाई अन्यत्र बस्ती सार्नका लागि पहल गर्ने बताए। उनले बस्ती स्थानान्तरण गर्नका लागि उपयुक्त ठाउँको खोजी गर्नुपर्ने भएकाले तत्काल बस्ती सार्न नसकिने बताए। खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले स्थानीय विपद् ऐन पारित भएकाले पहिरोको जोखिममा रहेका बस्तीलाई अन्यत्र सार्न गाउँपालिकाले उपयुक्त ठाउँ खोज्न थालेको बताए। गाउँपालिकाभित्रका जोखिम बस्तीहरुको पहिचान गरी सरकारसँग बस्ती सार्न पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए। (रासस)

प्रकाशित मिति: : 2019-07-29 13:39:38

प्रतिकृया दिनुहोस्