यो पत्र प्रविधिको माध्यमबाट ज-जसको हातमा पर्छ, तपाईंहरुको हातमा भएको मोबाइल कम्प्युटरको स्क्रिनमा पर्ने बित्तिकै आ-आफ्नो व्यस्तताको बाबजुद पनि यो पत्र पढ्न पाँच मिनेट समय निकाली दिनुभयो भने म अत्यन्तै आभारी हुनेछु।
तपाईंहरुलाई यसरी समूहगत रूपमा खुल्ला पत्र लेखेकोमा अचम्म लाग्यो होला। पत्र हेरिसकेपछि अवश्य पनि प्रतिक्रिया सुझाव दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु।
भर्खरै हिन्दूहरुको महानपर्व बडादसैँ सकिएको छ। नजिकै अर्को महान चाड शुभदीपावली अर्थात् तिहार नजिकिँदै छ। यो सालको दुसैँमा म अघिल्ला वर्षहरुको तुलनामा तीन महिना अघि नै घर आइपुगेँ। घर आइपुगे पश्चात साथीहरुसँग गाउँ गाउँमा जाने अवसर मिल्यो। गाउँहरुमा पक्की मोटर बाटो नपुगे पनि ग्राबेल गरेको सडक भने पुगेको रहेछ।
बजार क्षेत्र भएको इन्टरनेटभन्दा गाउँहरुमा फाेर-जी इन्टरनेटले राम्रै काम गर्दो रहेछ। नपुगेको गाउँहरुमा टावरहरु बन्दैछन्। डिसहोमले एकक्षत्र राज गरेको छ। गाउँमा, घरघरमा टेलिभिजन पुगेको छ। बिजुली नगरभित्र जडान भएको राष्ट्रिय प्रशारण लाइनभन्दा गाउँहरुमा राम्रै झलमल गरेको छ। खानेपानी शाैचालयको केही समस्या भए पनि समग्रमा पहिले भन्दा राम्रो लाग्यो।
आज हाम्रा गाउँहरूमा गाई/भैँसीको ठाउँमा डेरीको माध्यमबाट खै कुन ठाउँबाट दूध पुग्यो। भारतबाट आएको गोलभेँडा पुग्यो। लोकल कुखुराको उत्पादनको ठाउँमा बोइलर कुखुरा पुग्यो। दिउँसोको खाजामा पनि आफ्नै उत्पादनबाट बनेको रोटी तरकारीको ठाउँमा चाउचाउले उछिन्यो।
सिलौटोमा पिसेको मसला तथा अचारको सट्टा खै कुन ठाउँको अचार चटनी पुग्यो। त्यस्तै हरियो सागपात, अनेकथरी फलफूल तथा तरकारी लगायतका सबै पुगेको छ। समग्रमा खाद्यान्न, तरकारी, फलफूल, तेलहन, दूग्ध, मनोरञ्जनका साधनहरु, लत्ताकपडालगायत मानव जीवनमा चाहिने सबै पुगेको छ।
सायद गणतन्त्र प्राप्ति पछि गाउँ गाउँमा सिंहदरबार आएर यो वातावरण आएको र जनतालाई यी सबै घरमै सजिलै पाउने सौभाग्य मिलेको हुनुपर्छ। यस्तो सौभाग्य मिलाई दिएकोमा वर्तमान व्यवस्थाका प्रमुख अथवा हिमायती हामी हौँ भन्ने सबैलाई यो उल्लेखनीय प्रगतिको लागि जस दिन कन्चुसाइँ गर्नु मुर्खता नै होला। तसर्थ, जनताको अधिकार गाउँसम्म पुर्याउन योगदान दिने सौभाग्यशालीहरुलाई बधाई छ।
साथै गाउँमा आज सरकारी विद्यालयहरुमा पनि अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु भएका छन्। गाउँका दाउरा र आधुनिक चुलोहरु फेरिने क्रममा छन्। त्यसको ठाउँमा ग्यास चुलो र सिलिन्डरहरुले पछ्याउँदै छन्। गाउँमा हुने सांस्कृतिक कला साहित्य मनोरञ्जनको लागि गरिने नाचगान, नाटक आदिको ठाउँमा टिकटक लागायतले कब्जा गर्दैछन्। अन्य कुराहरुमा पनि यसरी आधुनिकताले पछाइरहेको छ। जे होस् एक पछि अर्को गर्दै सबै फेरिँदैछ। बाटो, बिजुली, खानेपानी, अङ्ग्रेजी पढाइ, सूचना र संचार, विश्वका उत्पादन घरमै आएका छन्। यति धेरै प्रगतिमा खुसी मनाउनुपर्ने म भने फरक तर्क पेस गर्दैछु।
दिनप्रतिदिनका विजया दशमी अर्थात् बडादसैको समयमा आर्थिक समाचारहरु हेरेँ सुनेँ।
देशका मुख्य-मुख्य सहरहरुमा सुन्दर सपनाको खोजीमा गएकाहरु कोही घर फर्कने त कोही विदेश छिर्नेहरुको संख्या उल्लेख्य देखिथ्ये। फेसबुक, टिकटक, टेलिभिजन आदिका स्क्रिनहरुमा। यस्तै आउँथे दशैको समय नजिकिँदै गर्दा किसानहरूले उत्पादन गरेको राँगा भैंसी, भेडा, च्याङ्ग्राहरुको मूल्य पाएनन्।
व्यापारमा अघिल्लो वर्षको तुलानामा असाध्यै न्यून कारोबार। कारोबार भएका भेडा बाख्रा च्याङ्ग्रा तथा राँगा भैंसीको मूल्य भने अचाक्ली घट्यो। यही समयमा ती गाउँगाउँसम्म जाने बाटो बनाउने ठेकेदारहरुलाई काम गरेबापत सरकारले पैसा दिन सकेन वा के समस्या आयो? ठेकेदारहरुले आफूले गरेको कामको ज्याला नपाउनुले कति कामदार जनताको चुल्यो बल्यो बलेन? त्यतातिर सरकारले ध्यान पुर्याउन सक्यो सकेन?
त्यस्तै दसैँ सकिएर तिहार नजिकै आउँदासम्म नेपाली उखु किसानले बजार भाउ पाउन सकेका छैनन् भने उता चाडपर्वमा समेत चिनिको अभाव कायमै छ। उद्योगी व्यवसायीले आफ्नो व्यापार व्यवसाय ठप्प हुन थाल्यो भनेर दिन प्रतिदिन सटरहरु एक पछि अर्को गर्दै धमाधम बन्द गर्दै सरकारलाई देशको अर्थतन्त्र ओरालो गतिमा दौडिरहेको देखाइरहेका छन्। यो गतिलाई छिटो व्यवस्थापन नगरे देश आर्थिक रुपमा धरासायी हुने संकेत दिइरहेका छन्।
सहर बजारमा सपनाको खोजीमा हिँडेका र उज्वल भविष्य बनाउन अध्ययन गरिरहेका विद्यार्थीहरु चाडपर्वमा जसोतसो घरबेटीसँग कुरा मिलाएर, त कोही खबरै नगरी घर त आए तर अब फेरि त्यही घर फिर्ता जान सक्ने अवस्थामा छैनन्। घरभाडा तिर्न सक्ने हैसियत गुमाइसके, गुमाउँदै छन् र लेख्दैछन्, ‘घरबेटी बा माफ गर्नुहोला! म तपाईंको घर भाडा खाडी मुलुक गएर भए पनि तिर्नेछु। खाडी जानेबेला तपाईंको आशिर्वाद लिन तपाईंको घर आउनेछु’ भनेर हृदयविधारक पत्र लेख्न थालेका छन्। यसरी आफ्ना सपनाहरुले बास छोड्न थालिसकेका छन्।
स्वदेशमै केही गर्छु भन्नेलाई बैंकले कर्जा दिन छोडेको छ। बैंकबाट लिएको कर्जा पनि तिर्न नसकिने अवस्था भयो। व्यवसाय ठप्प भयो। बैँकको ब्याज तिर्न सक्नेसमेत व्यापार हुनै छाड्यो भन्दै व्यवसायीहरुले सटरका सटर बन्द गर्नुका साथै केहिले आत्महत्या गरेका खबरहरु पनि नआएका होइनन्। बैंकलाई ब्याज तिर्न भन्दा आत्महत्या सहज हुने अवस्थामा व्यवसायीहरु पुगिसक्यौँ भन्ने अवस्थामा पुगेका छन्।
शिक्षक, कर्मचारीहरुका समस्याहरु पनि उस्तै छन्। सधैं पेशागत हित र कर्मचारी भेद्भाव भयो भन्दै आन्दोलन गर्दै हिड्नु परेको छ। समयमै तलब भत्ता पाउन सकेका छैनन्। त्यही जागिरे जीवनबाट घर धानेका कर्मचारी शिक्षकको दिनदिनै घरकलहमा परिणत हुनु र उल्टै जागिरी जीवनलाई धिकार्नुपर्ने अवस्था आएको छ। उपभोक्ताहरुको हालत पनि त्यस्तै कालाबजारी, ठगी, महङ्गी लगायतको मार खेप्नु परेको छ। मजदुर किसान तथा श्रम गरी खानेहरुको श्रम लुटिएको छ। श्रम गरी खान पाउने वा श्रम गर्ने रगत पसिना बगाउने कुनै कलकारखाना, उद्योग व्यवसाय केही छैनन्। भएका पनि बन्द छ्न हुँदैछन्। बरु हरेक क्षेत्रमा वडादेखि सिंहदरबारसम्म एकाधिकार छ। हरेक क्षेत्रका उपल्लो निकाय भन्नेहरुको। त्यो एकाधिकार भनेको राज्यको आर्थिक क्षेत्रमा दलाल पुँजीवाद हो। राजनीतिमा भने दास मनोवृत्ति हो।
आज राष्ट्रिय पुँजीपती वर्ग असाध्यै कमजोर अवस्थामा पुगिसकेको छ। वा यहाँ आफ्नो लगानीको वातावरण राम्रो देख्दैन। नेपाली बजारको एकाधिकार अर्कैको हातमा छ भन्ने कुरा राम्रोसँग बुझेकाे छ। यहाँको पुँजीपती वर्ग पनि आफू डुब्ने भएकाले देशमा लगानी नगरी बसेको छ। अन्यत्र लगानीको वातावरण हेरेको अवस्था देखिन्छ।
जसरी आज हाम्रा गाउँहरुले, अझ देशको नीतिले नै वा राज्य सन्चालनका संचालकहरुले आयातमात्रै गर्ने सोच बनाए। निर्यातको लागि केही सोचेनन्। कुनै ठोस योजना बनाउन सकेनन्। गाउँमा घरहरु खाली र खेतबारी बाँझा देखिन थाले। हाम्रा दक्ष जनशक्ति उत्पादन गर्ने उच्च शिक्षा पढाइ हुने कलेजहरु बन्द हुन थाले। अझै हामीले समृद्धिका गफ हाँक्न छोडेका छैनौं।
उत्पादकत्वको कुरै छोडौं। धान, कोदो र मकैको उत्पादन लागत/ज्यालादर ऋणात्मक छ भन्दा फरक पर्दैन। व्यवसायहरुमा दलाल पुँजीपती वर्गको एकाधिर छ। शिक्षा स्वास्थ्य गरिबको लागि आकाशको फल आँखातरी मरको स्थितिमा पुगेको छ। अहिले मान्छेहरु गाउँ छोडेर सहर पसेका छन्। सुन्दर सपना साँचेर सहर पसेका हजारौं विद्यार्थीहरु लाखौँ गाउँका जनताहरुलाई यो थाहा छैन कि सहरमा न गुणस्तरीय शिक्षा छ न स्वास्थ्य न त रोजगारी नै। बरु झन् दु:ख छ। ऋण छ। तनाव छ।
सहरमा भाडाका कुल्ली ज्यामी बेचेसरह जनतालाई बेच्ने म्यानपावर कम्पनी, तिनका मालिक र तिनलाई प्रसय दिएर जनताको रेमिटान्सबाट आफ्नो तलब भत्ता तथा आरामदायी जीवन ब्यतित गर्ने सरकार छ। सोझा जनतालाई पलपलमा तड्पाउने ज्यानमाराहरु छन्।
हामी उल्टो बाटो दैडिरहेका छौं। हाम्रो बाटो भिरतर्फ छ। हामी जति छिटो द्रुत गतिले भिरतिर दौडिन्छौं। त्यति छिटो हाम्रो अस्तित्व के हुन्छ? त्यो हामी सबैलाई थाहा छ कि हाम्रा हड्डी, करङ लगायत शरीरका सबै अङ्गहरु कच्याककुचुक हुनेछन्। कहिले निको नहुने गरि। कि त हाम्रो अस्तित्व नै समाप्त हुनेछ।
अहिले हामी त्यही दौडमा छौं। हाम्रो देशको बागडोर सम्हालेका राजनीतिक दलहरू, सरकार, नेता, कर्मचारी, न्यायाधीश, वकिल प्राध्यापक, शिक्षक, पत्रकार, लेखक, सेना, प्रहरी, उद्योगी, व्यवसायी, विद्यार्थी लगाएत आमसचेत नागरिकहरूसमेत यही दौडमा छौं। देशलाई हामीले अन्यत्रबाट होइन यही बनाउछौं। हामीले बनाउन संकल्प गर्नुपर्नेमा यहाँ केही छैन बिग्रो भनेर फ्रस्टेसनमात्र जगाइरहेका छौं। सपना देख्नेलाई कसरी नकारात्मक टिप्पणी गरेर बद्खाइ गर्नेतर्फ ध्यान लगाइरहेका छौँ।
केही दिनअघि मात्र एउटा रिपोर्टले एसियाको सबैभन्दा गरिब देश नेपाल भनेर घोषणा गर्छ। श्रम विभागले भदौ असोज दुई महिनामा झन्डै एक लाखले श्रम स्वीकृति लिए भन्छ। यही महिनामा समेत श्रम बजारमा नेपाली श्रम बेच्न नेपाल सरकारले थप मुलुकसँग श्रम सम्झौता गर्छ। यसको बधाई वा दुर्भाग्यको वा परिणाम आउनुको पछाडि गणतन्त्र प्राप्ति पछि प्रगती हामीले गरेका हौं भन्ने हिमायतीले अबजस लिने कि नलिने?
अन्त्यमा, राज्य संचालनबाट हुने हरेक खराबीहरुलाई मसिने ढङ्गले केलाएर हावाले कसिङ्गरलाई उडाएझैँ खोलानालाले छेउछाउको फोहोर बगाएझैँ, राज्ययन्त्रबाट हुने ढिलासुस्ती, अपारदर्शी, विधिहीनताको शासन, सत्तालाई मात्रै केन्द्र भागमा राख्ने राजनीतिको कोर्स अब परिवर्तन गर्नुपर्छ। देश बनाउने भनेको व्यवस्थाले होइन, जनताको श्रमले हो। जनताको मेहनत र पौरखले हो। जनताको बलिदानीले हो। अब राजनीतिक व्यवस्थाको लडाइँ सकियो। देशको आर्थिक उन्नतिको लडाइँ हो। विश्व बजारसँग प्रतिस्पर्धी बन्न सक्ने दक्ष जनशक्ति निर्माणको लडाइँ हो। सुखी नेपाली समृद्ध नेपाल बनाउन नाराले होइन, विज्ञान र प्रविधिको उच्चतम विकास र प्रयोग गर्नुपर्छ।
बाँझा खेतबारीमा उत्पादन वृद्धि गर्नुपर्छ। विधिको शासन, गौरव वाेध गर्न लायक सरकार, भरोसायोग्य उद्योगी व्यवसायी, उत्पादनमुखी किसान हुनुका साथै बलियो अर्थतन्त्रले जग हालेको राष्ट्रिय पुँजी हुनुपर्छ। जसका लागि जल, जङ्गल, जमिन, जडीबुटी र दक्ष जनशक्तिलाई प्रयोग, परिचालन र संरक्षण गर्नुपर्छ। यो राज्यको दायित्वभित्र रहनुपर्छ।