पोर्चुगल र ग्रीसलगायतको देश पठाइदिने भन्दै लाखौं ठगी गरेका दुई जना पक्राउ

सुनसरी बराहक्षेत्रका प्रजापति र छोरा आशिष काफ्लेबाट ठगिएकाहरु

वैदेशीक रोजगारको नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

विदेशमा आकर्षक जागिर लगाइदिने प्रलोभनमा लाखौं रुपैयाँ ठगी गरेर फरार भएका बर्दिया ठाकुरबाबा नगरपालिका–३ का राम थारू र सुनसरी बराहक्षेत्र नगरपालिका–६ का प्रजापति काफ्लेलाई काठमाडौं र सुनसरीबाट पक्राउ गरिएको हो।

श्रम तथा रोजगार कार्यालय विराटनगरले यी दुबैलाई पक्राउ पूर्जी जारी गरेको थियो। थारूलाई काठमाडौं वानेश्वर र काफ्लेलाई उनकै निवास बरहा क्षेत्रबाट प्रहरीले पक्राउ गरि आइतबार श्रम कार्यालयमा उपस्थिति गराएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए।

उनले भने, ‘थारूले आकर्षक तलब हुने भन्दै विभिन्न देशमा पठाई दिने आश्वासन दिएर धरानका दुई जना युवाबाट १७ लाख रूपैयाँ ठगी गरेको उजुरी परेको थियो।’

धरान–१५ का पिण्डेश्वरी चोकका प्रकाश तामाङ र सुरज श्रेष्ठलाई पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको खुलेको छ। पक्राउ परेका थारू एजेन्डको रूपमा काम गर्ने गरेको बताइएको छ। उनले वेरोजगार युवाहरूलाई विदेश पठाइदिने भन्दै रकम असुली गर्ने धन्दामा लागेको पीडितहरू बताउँछन्।

काफ्लेलाई साउन ९ मा इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले र थारूलाई पनि सोही दिन महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी श्रम कार्यालयमा आवश्यक कारवाहीको लागि पठाएको हो।

प्रजापतिले १३ जनालाई विभिन्न देश पठाउने भन्दै ७० लाख रूपैयाँ ठगी गरेको आरोप छ। प्रजापतिका छोरा आशिषले ग्रीसमा बसेर रोजगारको नाममा ठगी धन्दा चलाएको खुलेको छ। ‘स्वदेशमा रहेका युवालाई आकर्षक तलब र सेवा सुविधा हुने भन्दै प्रलोभन देखाएर पैसा असुल गरेको खुलेको छ,’ सञ्जेलले भने, ‘विभिन्न देश पठाउने भन्दै त्यसका लागि आवश्यक पैसा चाहने भएकोले पैसा बाबु प्रजापतिलाई दिने गरेको प्रमाणहरू फेला परेका छन्।’

ठगी गर्ने आशिषलाई पक्राउ गरी स्वदेश फर्काउन राजदूतवासमार्फत पत्रचार गरिसकिएको श्रम अधिकृत सञ्जेलले जानकारी दिए। काफ्लेले नजिकका छिमेकी युवाहरू र सुनसरी जिल्लाका युवालाई बढी निशाना बनाएको देखिन्छ।

सिंगापुर, ग्रीसलगायतको विभिन्न देश पठाउने भन्दै पीडितहरूले दुई लाखदेखि १३ लाख रूपैयाँसम्म ठगी गरेको भन्दै श्रम कार्यालयमा उजुरी गरेका थिए।

प्रकाशित मिति: : 2019-07-28 22:25:44

प्रतिकृया दिनुहोस्