टिकाटालो गरिसकेपछि बिहे गर्न नमान्दा युवतीको हत्या

बीएल

१२ वर्ष अगाडि एक युवतीको हत्या गरि फरार युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शुक्रबार  ललितपुरको सानेपाबाट सानु भनिने ३७ वर्षीय राजेश लामालाई पक्राउ गरेको हो।

लामाले १२ वर्षअघि २२ वर्षीय युवती तारा भन्ने सुनिता लामालाई ललितपुरको इमाडोलमा छुरी हानि फरार भएका थिए। ‘लामा पहिलेदेखि नै शंकाको घेरामा थिए। हामीले उनीलाई खोजी गरिरहेका थियौं,’ व्यूरोका डिआइजी निरज शाहीले भने।

२०६४ पुष २७ गते विहान सुनितालाई शरीरमा छुरा प्रहार गरि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। सुनिता र राजेश बिच पहिलेदेखि नै चिनजान थियो। राजेश र सुनिताको विवाह गर्न टिकाटालो पनि भएको थियो। तर, टिकाटालोपछि सुनिताले विबाह गर्न अस्वीकार गरेपछि आफूले हत्या गरेको लामाले प्रहरीमा बयान दिएका छन्।

‘टिकाटालो गरेपछि बिबाह गर्दिनँ भनेकाले आफ्नो बेइज्वत भएकाले रिसमा हत्या गरेको देखियो,’ डिआइजी शाहीले भने।

राजेश टिकाटालो हुनुअघि नै सुनिताको कोठामा आउजाउ गर्थे। दिदीको रेष्टुरेष्टमा काम गर्दै आएकी सुनिता किन विबाह गर्न इन्कार गरिन् भन्ने खुलेको छैन।

घटना भएको दिन राजेश हत्या गर्ने उद्धेश्यले नै चक्कु लिएर कोठामा पुगेको प्रहरीको दाबी छ। कोठामा अरु नै केटा भएपछि राजेश फर्किएका थिए। त्यसपछि पुनः गएर हत्या गरेको अनुसन्धानमा खुलेको छ।

‘उसले हत्या गर्ने योजनाले नै चक्कु किनेर कोठामा पुगेको थियो,’ डिआइजी शाहीले भने।

राजेशले एक हजारमा पसलबाट चक्कु किनेको बताएका छन्। काभ्रेपलाञ्चोक रोशनी गाँउपालिका ३ घर भएका राजेश हत्यापछि भागेर मकवानपुर पुगेका थिए।

करिब ७ महिनापछि उनी ललितपुरमा नै फर्किएका थिए। होटेल तथा घरमा रंग लगाउने काम गर्दै आएका उनलाई प्रहरीले  रंग लगाउन जादै गर्दा पक्राउ गरेको थियो।

हाल ३७ वर्षका लामाले विबाह गरिसकेका छन्। उनको एक छोरी समेत छिन्। घटनाको बारेमा श्रीमतीलाई थाहा नभएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-07-28 15:38:01

प्रतिकृया दिनुहोस्