काठमाडाैँमा जन्मिएकी मैयाँ बज्राचार्यको बालमस्तिष्कमा शिक्षिका बनेर शिक्षाकाे ज्याेति फैलाउने साेच माैलाएकाे थियाे। तर, वि.सं. २०५५ मा उनले दिएकाे एसएलसीकाे नतिजा खराब आयाे। उमेरले पनि किशाेरावस्था पार गरिसकेकाेले घरमा विवाहकाे कुरा दातमा ढुङ्गा लागे जसरी चलिरहन्थ्याे।
एसएलसीमा असफल हुँदाकाे चाेटकाबीच २१ वर्षकाे उमेरमै विवाहकाे पक्कापक्की, उनकाे दिमागमा तरङ्गहरू पैदा भइरहे। साेचिन्, केही गरेर देखाउँछु।
‘एसएलसीमा फेल हुँदा धेरै लाज लाग्यो। घरमा बिहेकाे मिति पक्का भएको थियाे। त्यसैले अब मैले केही त गर्नैपर्छ आफ्नो खुट्टामा उभिन सकेँ भने कसैले पनि हेला गर्दैन र आफूलाई चाहिने खर्च श्रीमानसँग माग्न पर्दैन भनेर पार्लर सिक्ने साेचेँ,’ मैयाँले बिएल नेपाली सेवासँग भनिन्।
उनकाे मनमा पार्लर सिक्ने हुटहुटी चलेपनि साथमा पैसा थिएन। आफ्नाे मनकाे कुरा नजिककाे दिदीलाई सुनाइन्। ती दिदीले पनि उनकाे लागि प्राैढ शिक्षा पढाउने काम खाेजिदिइन्।
उनी पढाउनकाे लागि मैतिदेवीबाट कपन जान्थिन्। पढाए बापत महिनाकाे एक हजार मात्र तलब आउँथ्यो। उनलाई कसरी हुन्छ जाेगाएर तालिम सिक्नकाे लागि आवश्यक ६ हजार पैसा जम्मा गर्नु थियाे। त्यसैले पढाउन जाँदा पनि हिँडेर जान्थिन्। यसरी दु:ख कष्ट गरेर उनले ६ हजार रूपैयाँ जम्मा गरिन् र डिल्ली बजारकाे ‘अयुर व्युटी पार्लर’मा भर्ना भइन्।
विवाहको समय नजिकिँदै गएको कारण उनले ६ महिनाभन्दा धेरै समय तालिम लिन सकिनन्। थोरै समय भएकोले मैयाँले घरमा जे गर्दा पनि पार्लरकै काम सिक्न खोज्थिन्। केही समयमा नै उनको विवाह भयो। उनलाई विवाह पश्चात् आफूले पनि केही गर्न पाए हुन्थ्यो भन्ने थियो। उनले पार्लर खोल्ने निर्णय गरिन्।
उनले ०५७ मा आफ्नो घर भक्तपुरकाे इनाचाेकमा पार्लर खाेलिन्,‘सम्हा व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’। मैयाँले आफ्नो विवाहमा आएको दाइजो र दुई हजार पैसाले पार्लर खोलेकी थिइन्।
‘पार्लर खोल्दा मैले देवरलाई तपाईंको कोठा दिनुन भनेर मागेँ, देवरले एकपटकमा नै हुन्छ भनेर दिनुभयो। मेरो बिहेमा टीका लगाएको पैसा दुई हजार रुपैयाँ भएको थियो। त्यहीँ पैसा र दाइजोमा आएको उपहारहरुलाई मिलाएर पार्लर खोलेँ,’ उनले भनिन्,‘नयाँ–नयाँ कुराहरु सिक्न मन लाग्थ्यो, सबै आफैंले घरमा नै सिक्दै बस्थेँ।’ उनले त्यही गरेर घरमै थप नयाँ कुराहरूकाे पनि सिक्न र अनुभव गर्न पाइन्। त्याे क्रम अहिले पनि जारी छ।
मैयाँले २२ वर्षदेखि मानिसहरूकाे अनुहारमा सुन्दरता थप्ने काम गरिहेकी छिन्। यस अवधिमा उनले काेही कसैबाट पनि गुनासाे सुन्नु परेन बरू आफैंले सिकाएर सक्षम बनाएका ४ हजार बढी व्युटिसियनहरूले स्याबास् भनिरहेका छन्। उनका दुई सन्तान छन्। उनीहरूकाे पठनपाठन उनले यसैबाट गरिरहेकी छन्।
मैयाँको दिनचर्या पार्लर र घर गरेर चलिरहेकाे थियाे। उनलाई ढाड दुख्ने समस्याले सताउन थाल्याे। उपचारको लागि अस्पाताल गइन्। उनको ढाडको नसामा ‘टियुमर’ पलाएको रहेछ। उनलाई डाक्टरले तत्कालै अप्रेसन गर्न सुझाए।
अप्रेसनपछि पनि उनलाई पूर्णरूपमा निकाे भएन। दुखाइ पनि पुन: बिस्तारै बढ्न थाल्याे। फेरि अस्पताल गइन्। दुर्भाग्यवश उनमा ब्लड क्यान्सर भएकाे पुष्टि भयाे। त्यसदिन उनी एक्लै हस्पिटल गएकी थिइन्। जब ब्लड क्यान्सर भएकाे थाहा पाइन्, मनबाट बाँच्ने रहर हराएर गयाे। रुँदै–रुँदै घर फर्किइन्। सबैकाे अनुहार चम्काउने मैयाँकाे रूपकाे रूपरङ्ग उड्याे, त्यसदिन।
अनेकाैँ दु:ख कष्ट सहेर पटक–पटक सफलता चुमेकी उनकाे सहासमा कुनै कमी आएन। ललितपुरकाे हरिसिद्धि क्यान्सर अस्पतालमा उपचार गरेर क्यान्सर जित्न सफल भइन्। उपचारपछि पनि उनलाई किमाे चढाउनकाे लागि मासिक अस्पताल जानु पर्थ्याे। अस्पतालबाट फर्किएकाे दिन गाह्राे भए पनि उनले स्फूर्तिका साथ काम गरिन्।
अहिले मैयाँ पहिलेको तुलानामा धेरै निको हुँदै गएकी छन्। ‘बाँच्छु भन्ने त लागेको थिएन। मेरा छोराछोरी टुहुरो हुने भए भनेर कति चिन्ता लाग्थ्यो। तर, आज सबै रोगसँग लडेर जित्न सफल भएँ। मानिसलाई रोगबाट बचाउने सबैभन्दा उत्तम औषधि साहस रहेछ। मलाई त्यही साहसले आजसम्म बचाएको छ,’ मैयाँले बडाे उत्साहका साथ भनिन्।